महोत्तरी/ साहुले ऋण नपत्याउँदा विदेश जान नपाएर तरकारीखेतीमा लागेका महोत्तरीका एक किसानलाई अहिले प्रेरक व्यक्तिको उदाहरणका रूपमा उभ्याइने गरिन्छ । ‘गरे के हुँदैन ?’ भन्ने भनाइ महोत्तरीको भङ्गाहा–४ रामनगरका किसान सत्यदेव महतोको सङ्कल्प र लगनले चरितार्थ गरेको छ ।
झन्डै १६/१७ वर्षअघि तरकारीखेतीमा जोडिनुभएका महतोलाई अहिले न फुर्सद छ, न पछाडि फर्कनुपरेको छ । केही गर्ने हुटहुटी, सङ्कल्प र लगनले नै उहाँलाई यो सफलता प्राप्त भएको हो ।
करिब एक बिघा (२० कट्ठा) जग्गामध्ये १५ कट्ठामा तरकारीखेती गर्नुभएका महतोको बारीमा परबर लहलहाएको छ । खुर्सानीका बोट फूल र चिचिलाले झपक्क छन् । त्यसैगरी काँक्रा, बोडी, घिरौला, झिगुनी, लौका र फर्सीका लहरामा आँख्लैपिच्छे फल लागेका छन् ।
सबैभन्दा रहरलाग्दो त उहाँको करेलाखेती छ । महतोले बर्सेनि पाँच/छ कट्ठामा करेलाखेती गर्दै आउनुभएको छ । मुख्य सडक छेउकै बारीमा रहेको उहाँको बारीको मचानमा परैसम्म लटरम्म देखिने करेला हेर्न बटुवा पुग्छन् ।
तरकारीखेतीमा जम्नुभएका महतोको विशेष पहिचान भने करेलाले नै बनाएको छ । वर्षभरिमा फरकफरक मौसम (सिजन) मा गरेर पाँच/छ कट्ठा करेलाखेती गर्दै आउनुभएका उहाँको करेलाखेती सडकबाटै देखिने हुँदा बटुवाका लागि यो प्रदर्शनीजस्तै बनेको बर्दिबास–२ बारनचौडीका उमेश आचार्य बताउनुहुन्छ ।
महतोको करेला बारी पुग्नुभएका उहाँ भन्नुहुन्छ, ‘करेलाखेती त अन्त पनि भएकै छ । तर, सतो (सत्यदेवको बोलाउने नाउँ) को खेती हेरेपछि मन दङ्ग हुन्छ ।’
भङ्गाहा र वरपर छरछिमेकका बस्तीमा तरकारीखेतीको कुरा चल्यो कि त्यहाँ सत्यदेवको कुरा उप्किहाल्छ । महतोले मौसमअनुसारको बोडी, खुर्सानी, काँक्रा, परबर, झिगुनी, लौका, फर्सी, घिरौला र ओलसहितका तरकारी लगाउनु भए पनि उहाँलाई चिन्नेले करेलाकै नामबाट उभ्याउँछन् ।
दाजुभाइबीच अंशबन्डा भएपछि कमाउन कतार जाने सोचले राहदानी बनाउनुभएका महतो कतै ऋण नपाएपछि विलखबन्द पर्नुभएको थियो । अब बाँच्न तरकारीखेतीमा लाग्छु भनेर काम थाल्नुभएका उहाँले त्यसयता कहिल्यै पछाडि फर्कनुपरेको छैन ।
‘आफूसँग भएको करिब एक बिघाजति जग्गामध्ये १५ कट्ठामा तरकारीखेती गर्छु’, महतो भन्नुहुन्छ, ‘यसले मलाई सधैँ काममा अघि बढ्न हौसला दिएको छ ।’ तरकारीखेती थालेपछि दुईचार पैसाका लागि कसैसँग हात थाप्नु नपरेको र उल्टै छरछिमेकको आपतविपदमा सरसहयोग गर्न पाउँदा सन्तोष मिल्ने गरेको उहाँ बताउनुहुन्छ ।
पाँच कट्ठाको अन्नबाली (धान, गहुँ) ले खाने अन्न र १५ कट्ठा तरकारीखेतीले बर्सेनि १०–१२ लाख नगदको जोहो भएपछि त्यतिखेर विदेश जान ऋण नपाएर ठिकै भएछ भन्ने लाग्ने गरेको उहाँले बताउनुभयो ।
‘मेरो करेलाखेतीले मान्छेको मन तानेको छ, मलाई नाउँ नजान्नेले त ‘करेलावाला’ नै भन्ने गरेका छन्’, उहाँ भन्नुहुन्छ, ‘यसले कमाइ पनि राम्रै दिएको छ । अरुभन्दा करेलामा बढी रेखदेख र स्याहार पुर्याउन पर्ने हुँदा सबैले यो खेती गर्दैनन्, मैलेचाहिँ बर्सेनि गर्दै आएको छु ।’
लागत र रेखदेख बढी गर्न परे पनि अन्य तरकारीको तुलनामा करेलाको भाउ सधैँ उच्च हुँदा कहिल्यै हरेस खान नपरेको उहाँको अनुभव छ ।
बाह्रैमास उत्पादन लिन सकिने करेला राम्रो जातको पर्दा रोपेको ५० दिनमै उत्पादन दिन थाल्ने महतोले बताउनुभयो । माया, राजधानी, विजेता र इण्डो–अमेरिकी जातका करेलाको खेती बढी हुने गरेको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘मचाहिँ बर्सेनि बारी फेरेर माया जातको करेला लगाउँछु ।’ माया चाँडै फुल्ने, फल लाग्ने, रोगको प्रकोप कम हुने र लामो र ठूलो आकारको हुँदा ग्राहकको रोजाइमा पर्ने गरेको उहाँको अनुभव छ ।
उहाँ थप्नुहुन्छ, ‘दुई सय ग्राम त सरदरकै हुन्छ । मेरो बारीमा एउटा करेला तीन सय ग्रामसम्मको बाक्लै फलेको छ ।’ करेलाखेतीले आफूलाई चिनाएको र आर्जन पनि राम्रै लिएको उहाँ बताउनुहुन्छ ।
आफू खेतीमा जमेपछि विदेश जान तरखर गरेका आफ्ना पुस्ताका साथीलाई तरकारीखेतीमै डोहोर्याएको उहाँ सगर्व बताउनुहुन्छ । आफ्नै देखासिकी र प्रेरणाले बस्तीका पाँचसात जना विदेश जान त्यागेर तरकारीखेतीमा जमेका उहाँले नाम कमाउनुभयो ।
पैसो नपाएर विदेश जान नपाएका साथीलाई यही काम गरे कमाइ हुन्छ भनेर हौसला दिँदै बेलामौकाको सहयोग गरेपछि पाँचसात जना अब तरकारीखेतीमै राम्ररी जमेका महतोको भनाइ छ ।
महतो गर्वगर्दै सुनाउनुहुन्छ, ‘मैले अब यतै काममा लाग, खेतीमा म पनि सघाउँछु भनेँ । पाँचसात जना लागे, राम्रै गरेका छन् ।’
३६ वर्षीय महतोकै सङ्गतले तरकारीखेतीमा पसेका सो बस्तीकै उहाँका समवयी उपेन्द्र यादव, हसन कवारी, चन्देश्वर राय दनुवार र सरोज महतो पनि अहिले अब्बल किसानमा दरिएका छन् ।
तरकारीखेतीमा लागेर सफल किसानमा दरिएका सत्यदेव, हसन, उपेन्द्र, सरोज र चन्देश्वरसहितका समवयीका खेतीमा भोगिएका समस्या भने समान छन् ।
‘भरपर्दो सिँचाइ छैन, चाहिएको ठिक्क बेला बीउबिजन, मल, औषधि पाइँदैन’, हसन भन्नुहुन्छ, ‘तीन तहका सरकार छन् भन्छन्, हामीलाई के समस्या छ भनेर सोध्नसम्म पनि कोही आउँदैनन् ।’
सबैभन्दा बढी समस्या भरपर्दो बीउमा पर्ने गरेको किसानको अनुभव छ । ठिक्क बेलामा बीउ, मल, सिँचाइ नपाएरै खेतीको समय नाघ्ने गरेको तीतो अनुभव यी किसानले सँगालेका छन् ।
‘बीउ भारतीय बजारकै भर हो, कहिले त राम्रै पर्छ, कहिले भने ठगिएका छौँ’, महतो भन्नुहुन्छ, ‘हाम्रा सरकारी निकायले पायक पर्ने ठाउँमा राम्रो बीउ किन्न दिए ठूलो राहत हुन्थ्यो ।’
–रासस
प्रतिक्रिया दिनुहोस