आज: २०८३ अषाढ ३, बुधबार | Wed, 17, Jun, 2026

जनै बाट्न सिकिरहेको नयाँ पुस्ता


  • आफ्नै खबर
  • २०८३ अषाढ ३, बुधबार ८ घण्टा अघि
  • ५५ पाठक संख्या
  • पाल्पा/  पछिल्लो समय गाउँघरमा जनै बनाउने प्रचलन हराउँदै गएको छ । युवापुस्ताले जनै बनाउन चासो नराख्दा जनै बनाउने सीप गाउँघरबाट हराउँदै गएको हो ।

    जेनतेन पुरानो पुस्ताले जनै बनाउँदै आए पनि नयाँ पुस्ताले यसतर्फ भने चासो देखाएका छैनन् । जनै बनाउने सीप युवामा हस्तान्तरण आवश्यक रहेको ठहर गर्दै यहाँका युवालाई जनै बनाउने सीप सिकाउन थालिएको छ ।

    तानसेन नगरपालिका–२ कार्यालयको आर्थिक सहयोगमा तानसेनमा सञ्चालन गरिएको तालिममा नगरभित्रका विद्यार्थी, महिला, पुरुषलगायत ४० जनाले जनै बाट्ने सीप लिन थालेका छन् ।

    नयाँ पुस्ताले जनै बनाउन थालेपछि भने पुराना पुस्तामा उत्साह छाएको छ । तानसेनका ७५ वर्षीय बेद बस्याल जनै बाट्ने संस्कृति हराउँदै जान थालेका बेला नयाँ पुस्ताले जनै बनाउन थालेपछि खुसी लागेको बताउनुहुन्छ ।

    उहाँले भन्नुभयो, ‘जनैको महत्व युवापुस्ताले नबुझ्दा संस्कृति सङ्कटमा पर्दै गएको  अब भने यो संस्कृति बचाउन सकिन्छ की भन्ने लागेको छ ।’

    बराङ्गदीका हरि घिमिरेलाई पनि परम्परागत जनै बाट्ने र लगाउने संस्कृति लोप हुन लागेकामा चिन्ता थियो । तर अहिले नयाँ पुस्ताले जनै बनाउन सुरुगरेभन्दा खुसी हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘पुरानो पुस्ताले जनै बनाएर परम्पराको संरक्षण गर्दै आए पनि नयाँ पुस्ताले यसतर्फ चासो नदेखाउँदा संस्कृति हराउँदै जान थालेको थियो । अब भने केही हुन्छ कि भन्ने लागेको छ ।’

    तागाधारीको पहिचान भनेकै जनै रहेकाले यसको संरक्षणको लागि स्थानीय सरकारले अभियानकै रुपमा जनै बनाउने सीप सिकाउन लागेको वडाध्यक्ष महेश लाल श्रेष्ठले बताउनुभयो । एकातिर संस्कृतिको जगेर्ना हुने र अर्काेतर्फ आयआर्जनमा टेवा पुग्ने भएकाले युवा पुस्ताले जनै बनाउन चासो दिनुपर्ने वडा अध्यक्षको भनाइ छ । 

    पाल्पामा झन्डै १५ वर्षअघिसम्म गाउँगाउँमा ब्राह्मणहरूका घरमा जनै बाट्ने परम्परा रहे पनि हिजोआज भने हराउँदै जान थालेको छ । जनै संस्कृतिलाई बचाइराख्न युवामा जनै बनाउने सीप सिकाउनुपर्ने छ । स्थानीय धर्मचन्द्र नेपालले बताउनुभयो ।

    युवाले जनै नबनाएकै कारण बर्सेनि विदेशबाट करोडौँ रुपैयाँको जनै आयात हुने गरेको छ । आयातित जनै भाती पु¥याएर बाटिएको हुँदैन । जनैमा पारिने गाँठोलाई सामान्यतया ब्रह्मगाँठो पनि भनिन्छ ।

    हिन्दू परम्परामा जनै (यज्ञोपवीत) मा रहने उक्त गाँठोले ब्रह्मा, विष्णु, महेशको प्रतीकात्मक अर्थ बोकेको मानिन्छ । तर, किनुवा जनैलाई विधि पुर्याएर बाटिएको हुँदैन । त्यसैले किनुवा जनै नभई एक प्रकारको धागो मात्र भएको तागाधारीहरू बताउँछन् ।

    –रासस
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु