९ मंसिर २०८२ मंगलबार | 25 Nov 2025 Tue

शहर छोडेर भेडापालनमा भविष्य खोजिरहेका युवा



  • आफ्नै खबर
  •     (३ हप्ता अघि)
  • पाठक संख्या १९८
  • म्याग्दी/  धवलागिरि गाउँपालिका-४, मुदी सिङकोसका २५ वर्षीय युवा आस्मन पुर्जा मगर प्रायः भेडीगोठमै भेटिनुहुन्छ । हिउँदमा बेँसी र बर्खायाममा बुकीका खर्कमा घुम्ती गोठमा भेडाबाख्रा गोठालो गर्नु उहाँको दैनिकी हो । केही वर्षअघिसम्म रोजगारीको खोजीमा शहरमा भौतारिनुभएका पुर्जा अहिले भेडापालनमै भविष्य खोजिरहनुभएको छ ।

    बुबा मनलाल र आमा फिस्टीका सात भाइ छोरा र एक छोरीमध्ये कान्छो आस्मनले कक्षा ९ सम्म मात्रै पढ्नुभयो । उहाँले पोखरा, नयाँपुल र बेनीमा रेष्टुरेन्टमा पनि काम गर्नुभयो । ती सबै काम छाडेर उहाँ गाउँमै भेडापालन गर्न फर्कनुभएको हो । 

    पुर्जाले भन्नुभयो, ‘आफ्नै माटोमा सम्भावना छन् भन्ने लागेर भेडापालन सुरु गरेको हुँ । मेरो स्वदेशमै आत्मनिर्भर बन्ने सपनालाई आर्थिक लगानीको जरुरी थियो । त्यही बेला कोरियामा रहनुभएका साथी अनिल पाइजाले साथ दिनुभयो र यो सम्भव भएको हो ।’

    किसानी मावि बिममा पढ्दाका सहपाठी अनिलले भेडापालनका लागि सुरुआती लगानी गरिदिएपछि आफ्नो भेडापालन गर्ने सपना पूरा भएको उहाँले बताउनुभयो । 

    भेडापालनमा करिब १३ लाख रुपैयाँ लगानी गर्नुभएका पुर्जालाई साथी अनिलले मात्रै करिब ६ लाख रुपैयाँ सापटी दिनुभएको छ भने बाँकी रकम पुर्जा आफैँले जुटाउनुभएको छ । उहाँका गोठमा हाल करिब एक सय भेडा छन् ।

    भेडीगोठमा भेडाको सङ्ख्या थपिने क्रम जारी छ । यही याममा मात्र उहाँका करिब २५ भेडा ब्याउने तयारीमा छन् । निकट भविष्यमा भेडाको सङ्ख्या बढाएर भेडीगोठलाई आम्दानीको स्रोत बनाउने पुर्जाको योजना छ ।

    जेठदेखि असोजसम्म जिरबाङ पिक, बुकी र मूलखर्कका हरियालीमा राखिने भेडीगोठलाई हिउँद लागेपछि भने सिङकोस गाउँ वरपर झारिन्छ । स्थानीय बासिन्दाले देवीदेवताको भाकल पूरा गर्न साँढले पूजा गर्ने चलन भएकाले भेडीगोठमा उत्पादन भएका साँढका लागि बजारको अभाव छैन । खसी भने मासुका लागि गाउँलेहरूले गोठमै पुगेर खरिद गर्छन् । 

    उहाँले भन्नुभयो, ‘बुबाले पनि घुम्तीगोठमा भैँसीपालन गर्नुभएको हो । सानोमा पनि म दाइहरूसँग गोठमा बसेको थिए । आफ्नै पुर्खाको माटोमा पसिना बगाउन पाइरहेको छु ।’ 

    पुर्जाको भेडापालनले युवाहरूले विदेशमा गएर मात्र सम्भावना खोज्नु पर्दैन, आफ्नै गाउँमा पनि अवसरहरू छन् भन्ने सन्देश दिएको स्थानीयवासी बताउँछन् ।

    पुर्जाको बुबा ७१ वर्षीय मनलालले अझै चोयाको डोको, डालो बुन्नुहुन्छ । उहाँका दुई छोराले बाख्रापालन, एक छोराले गोठमा भैँसीपालन गर्दै आउनुभएको छ । एक छोराले जिप चलाउँछन् । दुई छोराले गाउँमा च्याउ, टुसालगायत बिक्री गरेर जीविकोपार्जन गर्दै आएका छन् ।

    –रासस