९ मंसिर २०८२ मंगलबार | 25 Nov 2025 Tue

कृषि सहकारीले बेच्नथाल्यो मकैको पीठो



  • आफ्नै खबर
  •     (३ हप्ता अघि)
  • पाठक संख्या १६३
  • गुल्मी/  मुसिकोट नगरपालिकामा सहकारीमार्फत मकैको पीठो ब्रान्डिङ गरेर बजारीकरण गरिएको छ । मुसिकोट नगरपालिका-३ स्थित साना किसान कृषि सहकारी संस्थाले बडागाउँ फेदीमा स्थापना गरेको खाद्य प्रशोधन उद्योगबाट मकैको पीठो उत्पादन गरिएको हो । 

    बजारमा मकैको पीठोको माग बढ्न थालेको साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष हरि छन्तेलले बताउनुभयो । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई गुल्मीले उद्योगका लागि केही उपकरण अनुदानमा सहयोग गरेको छ ।

    उद्योगका लागि नगरपालिका र कृषि ज्ञान केन्द्रबाट ७३ लाख रुपैयाँ र साना किसान सहकारी संस्थाबाट १६ लाख ५० हजार रुपैयाँ सहयोग उपलब्ध गराएको थियो । उक्त रकमबाट उद्योगको भवन निर्माणदेखि पीठो बजारीकरणसम्म करिब ९० लाख रुपैयाँ लागेको सहकारी संस्थाका अध्यक्ष छन्त्यालले जानकारी दिनुभयो ।

    साना किसान सहकारीले किसानहरूको मकै प्रतिपाथी दुई सय रुपैयाँमा खरिद गरी प्रशोधन, लेबलिङ र प्याकेजिङ गरेर बजारमा पुर्याउने गरेको छ । हाल पीठो प्रतिकिलो एक सय ३० रुपैयाँमा बिक्री भइरहेको छ । सहकारीले २५ किलोको बोरामा पनि पीठो प्याकेजिङ गरेको छ ।

    सहकारीले यस वर्ष ३५ टन मकैको पीठो बिक्री गर्ने लक्ष्य लिएको सहकारी संस्थाका व्यवस्थापक विवेक पेमीले जानकारी दिनुभयो । सहकारीमा करिब तीन सय किसान आबद्ध छन् ।

    –रासस