१० मंसिर २०८२ बुधबार | 26 Nov 2025 Wed

फूलखेतीमै रमाएका कृषकहरू

ठूला-ठूला सभासमारोह, धार्मिक कार्यहरू, विवाहलगायतमा प्रयोग गर्नका लागि जिल्ला बाहिरबाट फूल तथा माला ल्याउनुपर्ने बाध्यता पछिल्ला वर्षहरूमा न्यूनीकरण हुँदै



  • तोलाकान्त बगाले
  •     (३ हप्ता अघि)
  • पाठक संख्या २०७
  • स्याङ्जा/  केही वर्ष अघिसम्म विशेषगरी तिहारमा प्रयोग हुने सयपत्री फूल तथा माला अन्यत्रबाट आउने गर्थ्यो । फूल तथा माला खरिद गर्दा हुने आर्थिक पलायन पछिल्ला वर्षहरूमा जिल्लाभित्रै रहने गरेको छ ।

    ठूला-ठूला सभासमारोह, धार्मिक कार्यहरू, विवाहलगायतमा प्रयोग गर्नका लागि जिल्ला बाहिरबाट फूल तथा माला ल्याउनुपर्ने बाध्यता पछिल्ला वर्षहरूमा न्यूनीकरण हुँदै गइरहेको छ ।

    पछिल्ला वर्षहरूमा जिल्लाभित्रका विभिन्न स्थानमा सयपत्री फूलको व्यवसायिक उत्पादन थालिएसँगै फूल तथा माला बिक्रीबाट जिल्लामा आर्थिक उपार्जन गर्ने कृषकको सङ्ख्या बढ्दै गएको छ । छोटो अवधि एकै यामबाट राम्रो आम्दानी हुने र बजारमा माग अत्याधिक हुँदा बजारीकरणको समस्या नहुने भएकाले पनि पछिल्लो समय यहाँका कृषक यतातिर आकर्षित भएका हुन् ।

    कालीगण्डकी गाउँपालिकाले यहाँका कृषकहरूलाई फूलखेतीको सम्भावनाका बारेमा जानकारी दिने र फूलखेतीतर्फ आकर्षित गर्ने उद्देश्यसहित व्यवसायिकरुपमा फूलखेती गरेको थियो । पालिकाले थालेको फूलखेतीबाट उत्पादन तथा आम्दानी राम्रो भएपछि गाउँपालिकाका कृषकले ठूलो परिमाणमा व्यवसायिक फूलखेती गरेका छन् ।

    कृषकहरूले दसैँ तथा तिहारको अवधिमा मात्रै फूल तथा माला बिक्री गरेर लाखौँ आम्दानी गर्न सफल भएका छन् । गाउँपालिकाका कृषि अधिकृत अनुप पौडेलका अनुसार दसैँ, तिहारको अवधिमा सयपत्री फूलका थुङ्गा तथा माला बिक्री गरेर १६ लाख २० हजार रुपैयाँ आम्दानी गरेका हुन् ।

    दसैँ तथा तिहारमा फूल तथा माला बिक्रीबाट राम्रो आम्दानी गरेका कृषकका बारीमा अझै पनि टन्नै फूलहरू फुलिरहेका छन् । असारमा दुई चरणमा लगाएका फूलहरूको उत्पादन पनि दसैँ, तिहार लक्षित गरेर हुने गरेको छ । दोस्रो चरणमा लगाएका फूलहरूको उत्पादन मङ्सिरको अन्तिमसम्म लिन सकिने कृषि अधिकृत पौडेलले बताउनुभयो । 

    कालीगण्डकीसहित जिल्लाभरका कृषकले गत वर्षभन्दा यस वर्ष फूल बिक्रीबाट आम्दानी पनि वृद्धि गरेका हुन् । कालीगण्डकीका कृषकले सयपत्री फूल बिक्रीबाट गतवर्ष मात्रै १५ लाख रुपैयाँ आम्दानी गरेका थिए । बारीमा अझै पनि फूल फुलिरहेकाले आम्दानी पनि स्वतः वृद्धि हुने कृषि अधिकृत पौडेल बताउनुहुन्छ ।

    कालीगण्डकी गाउँपालिकाअन्तर्गत विभिन्न वडाका २२ जना कृषकले व्यवसायिकरुपमा सयपत्री फूलखेती गर्दै आएका छन् । बाइस जनाले ३० रोपनीभन्दा धेरै क्षेत्रफलमा सयपत्री फूलखेती गरेका हुन् । 

    गाउँपालिकाले कृषकहरूलाई सयपत्री फूलखेतीतर्फ आकर्षित गर्नका लागि प्रोत्साहनस्वरुप फूलको बीउ तथा अनुदान रकम उपलब्ध गराएको थियो । गाउँपालिकाभित्रका सामुदायिक घरबास (होमस्टे) मा पाहुनाको स्वागत सत्कारका लागि प्रयोग गर्ने गरी फूल लगाउने अभियान अगाडि बढाइएको थियो ।

    कालीगण्डकी गाउँपालिका-३ लसर्घा देउरालीका रेमनसिंह सोमैले तीन रोपनी क्षेत्रफलमा व्यवसायिक रुपमा सयपत्री फूलखेती गर्नुभएको छ । गाउँपालिकाको ५० प्रतिशत अनुदानमा उहाँले ‘कर्मा ५५५’ र कलकत्ते जातको सयपत्री फूल खेती गर्नुभएको हो ।

    गतवर्ष परीक्षणको रुपमा लगाएको फूलखेतीबाट राम्रो आम्दानी भएपछि यस वर्ष थप विस्तार गरेर खेती गरेको उहाँले बताउनुभयो । ‘गत वर्ष साढे दुई रोपनी क्षेत्रफलमा सयपत्री फूलखेती गरेको थिएँ’ उहाँले भन्नुभयो, ‘बजारमा फूलको माग अत्याधिक भई खपत भएकाले यस वर्ष पनि थप विस्तार गरी फूलखेती गरेको हुँ ।’

    गत वर्ष साढे दुई रोपनी क्षेत्रफलमा फूलखेती गर्नुभएका उहाँले यस वर्ष तीन रोपनी क्षेत्रफलमा झण्डै दुई हजार फूलका बेर्ना लगाउनुभएको हो । यहाँ उत्पादन भएको फूल गाउँपालिकाले बजारीकरणको व्यवस्थासमेत गरिदिएकाले बजारको कुनै समस्या नभएको हो ।

    कालीगण्डकी गाउँपालिका र हेफर इन्टरनेशनलको साझेदारीमा फूलको न्यूनतम् मूल्य निर्धारण गरिएको हो । ‘यहाँ उत्पादन भएको फूल थोकमा प्रतिकेजी तीन सय र फुटकरमा तीन सय पचास रुपैयाँका दरले बिक्री गर्छौं’, उहाँले भन्नुभयो, ‘दुई चरणमा लगाएको फूलमध्ये पहिलो चरण अर्थात् असारमा लगाएको फूल बिक्री भइसकेको छ ।’

    उत्पादन भएको फूल बुटवल, गुल्मीको रिडी तथा स्थानीय बजारमा बिक्री भएको उहाँले बताउनुभयो । गत वर्ष फूलको मूल्य कम रहेकाले अपेक्षाअनुसार आम्दानी नभएको र यसपालि मूल्य राम्रो निर्धारण भएकाले पनि आम्दानीमा वृद्धि हुने विश्वास उहाँको छ ।

    ‘गत वर्ष एक याममा दुई लाख ५० हजार आम्दानी भएको थियो’, उहाँले भन्नुभयो, ‘यस वर्ष क्षेत्रफल, बेर्ना र मूल्य पनि बढेकाले आम्दानी पनि बढ्छ, करिब चार लाख आम्दानी हुने अपेक्षा गरेको छु ।’ गत वर्ष माला बनाएर बिक्री गर्दा पनि अपेक्षाअनुसार आम्दानी गर्न नसकेकाले यसवर्ष मालाभन्दा पनि फूलका थुङ्गा बिक्रीमा जोड दिनुभएको छ ।

    गाउँपालिका आफैँले व्यवसायिक रुपमा फूलखेती गरेको छ । व्यवसायिक फूलखेती गर्न चाहने कृषकलाई ५० प्रतिशत अनुदान उपलब्ध गराउनुका साथै बजारीकरणको समेत व्यवस्था गरिदिएकाले गाउँपालिका नै फूलमय बन्न पुगेको छ ।

    यहाँबाट बर्सेनि लाखौँ मूल्यको फूल देशका विभिन्न सहरमा पुग्ने गरेको छ । कालीगण्डकी-१ का व्यवसायिक कृषक हीरामणि सुवेदीले यसपालिको दसैँ, तिहारको अवधिमा होलसेलमा तीन सय रुपैयाँ र फुटकरमा चार सय रुपैयाँ प्रतिकेजीका दरले फूलका थुङ्गा बिक्री गर्नुभयो ।

    गत वर्षभन्दा यस वर्ष फूलको उत्पादन र मूल्य राम्रो पाइएकाले आम्दानी वृद्धि भएको उहाँले बताउनुभयो । उहाँले दसैँ, तिहारको अवधिमा मात्रै एक लाख ५० हजार रुपैयाँ आम्दानी गर्नुभयो ।

    कालीगण्डकी-२ कि पुष्पा सिञ्जाली राना, वडा नं. ५ का रविलाल गौडेल, वडा नं. ६ का युवराज अधिकारी र वडा नं. ७ का घनबहादुर थापाले दसैँ, तिहारको अवधिमा एक लाख ५० हजार रुपैयाँभन्दा बढी आम्दानी गर्नुभएको कृषि अधिकृत पौडेलले जानकारी दिनुभयो ।

    गत असारमा शिक्षण पेशाबाट अवकाश लिनुभएका स्याङ्जाको चापाकोट नगरपालिका-१ बेलडाँडाका तुल्सीराम भण्डारीले फुर्सदको समयलाई फूलखेतीमा लगाएर वर्षेनी मनग्य आम्दानी गर्दै आउनुभएको छ ।

    भण्डारीले दसैँ, तिहार, छठ पर्वलगायतका धार्मिक कार्यहरूलाई लक्षित गरी दुई चरणमा फूलका बिरुवा रोप्नुभएको थियो । दसैँ, तिहारलाई लक्षित गरी तीन रोपनी क्षेत्रफलमा र मङ्सिरपछि उत्पादन हुने गरी थप दुई रोपनी क्षेत्रफलमा फूलखेती गरेको उहाँले बताउनुभयो ।

    ‘शिक्षण पेसामा रहँदै गर्दा पनि बिहान-बेलुकाको समयमा थोरै मात्रामा फूल खेती गरेको थिएँ’, उहाँले भन्नुभयो, ‘फूलखेतीबाट राम्रै आम्दानी हुने देखेपछि अहिले त झन पूरै समय फुर्सद भएकाले व्यवसायिकरुपमा फूल खेती थालेको हुँ ।’

    बाँदरले अन्नबाली नष्ट गरिदिएपछि अन्नबालीको विकल्पका रुपमा सयपत्री फूलखेती थालेको उहाँले बताउनुभयो । अन्नबालीको विकल्पमा फूलखेतीको व्यवसायिक उत्पादन गर्नुभएका भण्डारीले माग अनुसार फूल पुर्याउन नसकेको बताउनुभयो । 

    ‘सयपत्री फूल तथा मालाको माग अत्याधिक भएको छ’, उहाँले भन्नुभयो, ‘माग भएबमोजिम उपलब्ध गराउन सकिएको छैन ।’

    यहाँ उत्पादन भएको फूल बुटवल, नारायणगढ, बर्दघाट, पोखरालगायत स्थानीय बजारमा सजिलै बिक्री हुने गरेको छ । उहाँले ‘कर्मा ५५५ मेरीगोल्ड’ जातको फूल लगाउनुभएको हो । उहाँले गर्नुभएको व्यवसायिक फूलखेतीमा पत्नी सरस्वती भण्डारी, छोराहरू बासु र रामचन्द्रले पनि साथ दिनुभएको छ ।

    यहाँ उत्पादन भएको फूलको बजारीकरणका लागि माग भई आएका ठाउँमा आफैँ पुर्याउने वा गाडीमार्फत पठाइदिने काम छोराहरूले गर्दै आएका उहाँले बताउनुभयो ।

    उहाँले फूलका थुङ्गा होलसेलमा प्रतिकेजी तीन सय रुपैयाँ, फुटकरमा प्रतिकेजी चार सय रुपैयाँदेखि चार सय ५० रुपैयाँ र माला प्रतिगोटा ९० रुपैयाँ सम्म बिक्री गर्दै आउनुभएको छ । ग्राहकको मागका आधारमा माला वा फूलका थुङ्गा दुवै बिक्री गर्ने गरेको उहाँले बताउनुभयो ।

    अहिलेसम्म झण्डै ६ लाख रुपैयाँको फूल तथा माला बिक्री भइसकेको छ । तिहारपछि पनि बुटवल तथा स्थानीय बजारबाट फूल तथा मालाको माग आइसकेको उहाँले बताउनुभयो । ‘असारमा लगाएको बेर्नाले दसैँदेखि उत्पादन दिन थालेको हो’, उहाँले भन्नुभयो, ‘दोस्रो चरणमा लगाएको फूलको उत्पादन मङ्सिरसम्म लिन सकिन्छ ।’

    गत वर्ष एकै याममा फूल तथा माला बिक्रीबाट पाँच लाख रुपैयाँभन्दा बढी आम्दानी गर्नुभएका उहाँले यस वर्ष १० लाख रुपैयाँभन्दा बढी आम्दानी हुने बताउनुभयो ।

    ६० वर्षीय भण्डारीले दसैँ, तिहारको अवधिमा मात्रै माला बिक्रीबाट दुई लाख ५६ हजार रुपैयाँ आम्दानी गर्नुभयो । फूलका थुङ्गा बिक्रीबाट चार लाख सात हजार रुपैयाँ आम्दानी गर्नुभएको हो । उहाँले सयपत्री फूलका बिरुवा/बेर्ना बिक्रीबाट पनि ५३ हजार रुपैयाँ आम्दानी भएको जानकारी दिनुभयो ।

    बजारको माग र उत्पादन पनि सोही अनुसार हुँदा यसपालि राम्रो आम्दानी भएको उहाँ बताउनुहुन्छ । भण्डारीले विगत चार वर्षदेखि फूलखेती गर्दै आउनुभएको छ ।

    शिक्षकका रुपमा गाउँकै विद्यालयमा कार्यरत रहँदा नै फुर्सदको समयमा व्यवसायिक बन्दै आत्मनिर्भर बन्ने प्रयास गर्नुभएका भण्डारीले गाउँमै तीन रोपनी जग्गामा फूलखेती गर्नुभएको हो । बाँझो जमिनको सदुपयोग गर्दै आगामी दिनमा फूलखेतीका लागि थप क्षेत्रफल बढाउने योजनामा उहाँ हुनुहुन्छ ।

    वालिङ-१४ भङ्गेनीका युवा कृषक प्रकाश डुम्रेले पनि विगत आठ वर्षदेखि व्यवसायिक रुपमा फूलखेती गर्दै आउनुभएको छ । उहाँले वालिङ बजार नजिकै तीन रोपनी जग्गा भाडामा लिएर व्यवसायिक रुपमा सयपत्री फूलखेती गर्दै आउनुभएको छ ।

    दसैँ, तिहारजस्ता चाडपर्व लक्षित विवाह, ब्रतबन्धजस्ता धार्मिक, सांस्कृतिक तथा विशेष मेला महोत्सवहरूमा उहाँले फूल तथा माला बिक्री गर्दै आउनुभएको छ । फूलका थुङ्गा प्रतिकेजी तीन सय ५० देखि चार सय रुपैयाँ र प्रतिमाला एक सय २० रुपैयाँका दरले बिक्री गर्नुभएका डुम्रेले बर्सेनि राम्रो कमाइ गर्दै आउनुभएको छ ।

    स्थानीय व्यापारी तथा व्यक्तिहरूले पनि फोन सम्पर्क गरी माला तथा फूलको माग गर्ने भएकाले बिक्रीका लागि बजारको समस्या नभएको उहाँ बताउनुहुन्छ ।

    जिल्लामा फूल उत्पादनको परिणामका बारेमा कृषि ज्ञान केन्द्रमा यकिन तथ्याङ्क छैन । फूल उत्पादन गर्ने व्यवसायीको समूह बनाउने तयारीमा कृषि ज्ञान केन्द्र रहेकाले अबका दिनमा मात्रै जिल्लामा फूलको उत्पादन, आयात, निर्यात तथा कारोबारका बारेमा विवरण आउने कार्यालयका सूचना अधिकारी विकास विकले जानकारी दिनुभयो ।

    –रासस