९ मंसिर २०८२ मंगलबार | 25 Nov 2025 Tue

भोजपुरमा फल्यो ५१ हजार मेट्रिक टन आलु



  • आफ्नै खबर
  •     (३ हप्ता अघि)
  • पाठक संख्या १४९
  • भोजपुर/  गत आर्थिक वर्षमा भोजपुर जिल्लामा ५१ हजार नौ सय मेट्रिक टन आलु उत्पादन भएको छ । हिउँदे र वर्खे गरी यहाँ ५१ हजार मेट्रिक टनभन्दा बढी आलु उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । 

    यहाँ दुई सिजनमा गरी तीन हजार दुई सय ७२ हेक्टर क्षेत्रमा आलु उत्पादन हुने कृषि ज्ञान केन्द्र भोजपुरका सूचना अधिकारी घनश्याम बरालले जानकारी दिनुभयो । विगतमा निर्वाहमुखी खेतीमा सीमित किसानहरू अहिले व्यावसायिक रूपमा आलु खेतीमा लाग्न थालेका उहाँले बताउनुभयो ।

    ‘जिल्लामा पछिल्लो समय व्यावसायिक आलु खेती गर्ने किसानको सङ्ख्या बढ्दै गएको छ’, उहाँले भन्नुभयो, ‘गत वर्ष भोजपुरमा ५१ हजार मेट्रिक टन भन्दाबढी आलु उत्पादन भएको थियो । आलु किसानको राम्रो आम्दानीको श्रोत बनेको छ ।’

    ज्ञान केन्द्रले उन्नत जातको बीउ वितरणसँगै विभिन्न ठाउँमा आलु पकेट क्षेत्र निर्धारण गरेर प्रोत्साहनको कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ । जिल्लामा वर्खे आलुको उत्पादन बढी हुने गरेको किसानको भनाइ छ ।

    ग्रामीण क्षेत्रसम्म सडक विस्तार भएपछि उत्पादित आलु बेचविखन गर्न सहजता भएको टेम्केमैयुङ-५ मझौलेका किसान धनराज राईले बताउनुभयो । सडकका पहुँचका कारण अहिले आलु किन्न ठेकेदारहरू गाडी लिएर घरमा नै आउने गरेको उहाँको भनाइ छ ।

    ‘पहिले बेचविखन गर्न निकै समस्या थियो’, उहाँले भन्नुभयो, ‘पिठ्यूँमा बोकेर बेँसीसम्म लगेर र धानसँग सटही गर्थ्यौँ । तर, सडक विस्तार भएपछि अहिले ठेकेदारहरू गाडी लिएर घरमै आउँछन् ।’ उहाँका अनुसार, सडक पुगेसँगै किसानले उत्पादनको मूल्य समयमै पाउने र बजारसम्म सहज पहुँच बनेपछि आलु खेतीप्रति अझ आकर्षित भएका छन् ।

    –रासस