९ मंसिर २०८२ मंगलबार | 25 Nov 2025 Tue

पदमार्गले बढायो अन्नपूर्ण आधार शिविरका पर्यटक



  • कमल खत्री
  •     (३ हप्ता अघि)
  • पाठक संख्या १५७
  • म्याग्दी/  अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा दुई महिनाको अवधिमा १२ हजारभन्दा बढी आन्तरिक पर्यटकले भ्रमण गरेका छन् । गत असोजदेखि कात्तिक तेस्रो सातासम्म यस क्षेत्रमा अत्यधिक रुपमा आन्तरिक पर्यटकको चाप थियो ।

    उक्त अवधिमा दैनिक दुई सयदेखि पाँच सयसम्म पर्यटक यहाँ आएको अन्नपूर्ण प्रथम आधार शिविर पुग्ने ‘मौरिस हर्जोग’पदमार्ग अन्तर्गत हुमखोलामा होटल व्यवसाय गर्दै आउनुभएका पर्यटन व्यवसायी तेज गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार, दसैँ-तिहार र छठ पर्व बिदाका अवसरमा अन्नपूर्ण आधार शिविरमा अहिलेसम्मकै धेरै पर्यटक आएका हुन् । 

    एकवर्षदेखि यस पदमार्ग अन्तर्गत हुमखोला, फुतफुते झरना, साँधिखर्क, गुफाफाँट, भुसकेटमेला र पञ्चकुण्ड ताल परिसरमा पर्यटकको सुविधाका लागि होटलहरू सञ्चालनमा आएका छन् ।

    नारच्याङदेखि हुमखोलासम्म सडक सञ्जालको पहुँच पुगेको र त्यहाँबाट आधार शिविरसम्म केही पदमार्ग निर्माण भएकाले दुई दिनमै पदयात्रा पुरा गर्न सकिने भएपछि यस पदमार्ग अहिले आन्तरिक पर्यटकको रोजाइमा छ । 

    पदमार्ग सञ्चालनमा आएको छोटो अवधिमै यस क्षेत्रमा पर्यटकको आगमन बढेपछि पर्यटन व्यवसायीहरू उत्साहित बनेका छन् । अन्नपूर्ण आधार शिविरमा रहेको पञ्चकुण्ड ताल, पदमार्गमा पर्ने फुतफुते लगायतका झरना, मिस्त्रीखोलाको रमणीय दृष्यहरू हेर्न देशका विभिन्न ठाउँबाट युवायुवतीहरूको यस क्षेत्रको भ्रमणमा आउनेक्रम बढेको छ । 

    अन्नपूर्ण प्रथम आधार शिविर क्षेत्रको प्राकृतिक सौन्दर्यको प्रचार प्रसार, पूर्वाधार निर्माण र आधारभूत खाना बस्नको सुविधाले पर्यटकको आगमन बढाएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले जानकारी दिनुभयो ।

    उहाँका अनुसार, अन्नपूर्ण हिमाल आरोहण भएको ७५ वर्ष पूरा भएको अवसरमा गत वर्ष गाउँपालिकाको अगुवाईमा नारच्याङदेखि आधार शिविरमा मनाईएको ‘अन्नपूर्ण हीरक जयन्ती महोत्सव’ ले यस क्षेत्रको प्रचार प्रसारमा व्यापकता गराएकोहो ।

    उहाँले भन्नुभयो, ‘अहिले आधार शिविर क्षेत्रमा रहेका होटलहरूको क्षमताभन्दा बढी पर्यटकको आगमन भयो । हामीले यसलाई थप व्यवस्थित गर्नेतर्फ योजना बनाएका छौँ । भुसकेट मेलादेखि पञ्चकुण्ड तालको बीचमा पनि थप एक होटल सञ्चालनमा ल्याउनका लागि एक्यापसंग समन्वय गर्न लागेका छौँ । पर्यटकको बसाई सहज बनाउनु हाम्रो पहिलो दायित्व हो ।’

    अन्नपूर्ण गाउँपालिकाले यस पदमार्गको आधार शिविर क्षेत्रमा सञ्चार र विद्युतको पहुँच पुर्याउन समेत आवश्यक पहल थालेको छ । 

    पर्यटकको आगमन बढेसँगै पदमार्ग र आधार शिविर क्षेत्रमा फोहोर बढेको कारण गाउँपालिकाले सरसफाइ अभियन्ताहरूको टोलीलाई आधार शिविरमा खटाउने तयारी समेत गरेको गाउँपालिका अध्यक्ष पुनले जानकारी दिनुभयो ।

    अन्नपूर्ण आरोहण दिवसलाई निरन्तर रुपमा मनाउने प्रबन्ध मिलाएको गाउँपालिकाले आधार शिविर पुग्ने पदमार्गलगायतका पूर्वाधार स्तरोन्नतीका लागि चालु आर्थिक बर्षमा विनियोजन गरेको २० लाख रुपैयाँ परिचालन गर्ने जनाएको छ ।

    –रासस