सुनसरी/ करिब २८ वर्ष भारतीय सेनामा सेवा गरी अवकाश प्राप्त कृपाश्वर घले गुरुङले यहाँको रामधुनी नगरपालिका-७ रानीपोखरीमा व्यावसायिक रूपमा ‘ड्रागन फ्रुट’ खेती गर्दै आउनुभएको छ ।
उहाँले २०७४ सालमा स्थापना गर्नुभएको ‘तर्जुमा ड्रागन फ्रुट कृषि फार्म’ बाट हाल वार्षिक ५५ देखि ६० लाख रुपैयाँसम्म आम्दानी गर्दै आएको बताउनुभयो । घलेले एक बिघा क्षेत्रफलमा खेती गरिरहनुभएको छ ।
गुरुङका अनुसार करिब २२ वर्षअघि मलेसियाबाट ल्याइएको रातो पिङ प्रजातिको एक बिरुवाबाट खेती सुरु गरिएको थियो । सुरुमा फलको बजार मूल्य तथा स्वास्थ्य उपयोगबारे स्पष्ट जानकारी नभए पनि माग र मूल्य वृद्धिसँगै खेती बिस्तार गर्दै लगिएको र हाल यही मुख्य आम्दानीको स्रोत बनेको उहाँले जानकारी दिनुभयो ।
व्यवसायी गुरुङले भन्नुभयो, ‘फार्ममा हाल करिब दुई सय ५० बोट ड्रागन फ्रुट लगाएको छु । अन्य फलफूलले वर्षमा एकपटक मात्र फल दिने भए पनि ड्रागनले वर्षमा नौ पटकसम्म उत्पादन दिन सक्छ । त्यही भएकाले आय स्थिर हुन्छ ।’
उत्पादनसँगै बिरुवा बिक्रीबाट पनि आम्दानी हुँदै आएको छ । वार्षिक रूपमा चार लाख रुपैयाँभन्दा बढीको बिरुवा बिक्री हुने गरेको गुरुङले बताउनुभयो । पहिले प्रतिवटा दुई सयदेखि चार सय रुपैयाँसम्ममा बिक्री हुने बिरुवा हाल मागअनुसार ५० देखि ७० रुपैयाँमा बिक्री हुने गरेको उहाँले बताउनुभयो ।
ड्रागन फ्रुट भने खुद्रा मूल्य प्रतिकिलो चार सय रुपैयाँ र होलसेलमा तीन सय ५० रुपैयाँमा बिक्री हुने गरेको छ ।
फार्ममा मासिक १५ हजार रुपैयाँ तलबमा दुई जना स्थायी कर्मचारी र दैनिक सात सय रुपैयाँ ज्यालादरमा दर्जनभन्दा बढी कामदारले काम पाइरहेका छन् । फल टिप्ने तथा मल हाल्ने याममा कामदार सङ्ख्या अझ बढी हुने गरेको छ ।
गुरुङले भन्नुभयो, ‘फार्म सञ्चालन, मलखाद, औजार तथा श्रमिक लागतबापत वार्षिक करिब आठ लाख रुपैयाँ खर्च हुने गरेको छ । गत वर्ष २२ मेट्रिक टन उत्पादन भएकोमा यस वर्ष २७ मेट्रिक टनभन्दा बढी उत्पादन भएको छ । उत्पादित फल धरान, इटहरी, इनरुवा, विराटनगर र धेरैजसो काठमाडौँ, पोखरा र हेटौँडासम्म बिक्रीका लागि पठाउने गरेको छु ।’
आम्दानी राम्रो भएकाले पछिल्लो समय यस खेतीतर्फ अन्य युवाको पनि आकर्षण बढ्दै गएको छ । अवकाशपछि कृषि उद्यममा लागेका घलेका अनुसार देशमै बसेर कृषि व्यवसायमार्फत राम्रो आम्दानीसँगै स्थानीयस्तरमा रोजगारी पनि सिर्जना गर्न सकिने सम्भावना छ ।
हाल सुनसरीको रामधुनी नगरपालिका-७ मा मात्र १० घरधुरीभन्दा बढीले ड्रागन खेती गर्दै आएका छन् । विदेशबाट फर्केका युवाहरू पनि ड्रागन खेतीमा लागिरहेका छन् ।
–रासस
प्रतिक्रिया दिनुहोस