दोधारा चाँदनी (कञ्चनपुर)/ सुदूरपश्चिमको समृद्धि र आर्थिक विकासको मेरुदण्ड मानिएको महाकाली करिडोर डेढ दशकअघि उत्साहका साथ सुरु गरिएको थियो । योजना सम्पन्न गरिसक्ने समयमा समेत बजेट अभाव,पक्रियागत अल्झन र सरकारी उदासिनताका कारण अधुरो र अलपत्र अवस्थामा पुगेको छ । सुदूरपश्चिम प्रदेशका कञ्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुला जोड्दै नेपाल र चीनको ताक्लाकोटको सिमानामा रहेको पिल्लर नम्बर १ सम्म चार सय १३ किलोमिटर सडक निर्माण गर्ने लक्ष्य छ । सडक निमार्णपछि सुदूरपश्चिमका करिब आठ लाख जनता प्रत्यक्ष लाभान्वित हुने र त्रिदेशीय नाका भएका कारण व्यापारिक महत्व पनि धेरै नै रहेको छ । साथै, धार्मिक हिसावले कैलाश मानसरोवर भ्रमणको सुविधा उपलव्ध हुने देखिन्छ । तर प्रक्रियागत अल्झन र बजेट अभावले योजनाले अपेक्षित गति लिन सकेको छैन । सुदूरपश्चिमको आर्थिक विकासको मेरुदण्डका रुपमा रहेको महाकाली करिडोर निर्माणका लागि न्यून बजेट विनियोजन हुँदा निर्माणको काम ठप्प जस्तै भएको छ ।
चालु आर्थिक वर्षमा करिडोर निमार्णका लागि २२ करोड ९७ लाख रुपैयाँ मात्रै बजेट विनियोजन भएको महाकाली करीडोर सडक (ब्रह्मदेव–झुलाघाट–दार्चुला–टिङ्कर सडक) योजना कार्यालयका योजनाका सूचना अधिकारी रामचन्द्र जैशीले जानकारी दिनुभयो । उक्त बजेटले निर्माण व्यवसायीको समेत भुक्तानी गर्न नसकिने उहाँले बताउनुभयो ।
कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको तुसारपानीसम्म तीन सय ३४ किलोमिटरमध्ये अझै ५४ किलोमिटरमा ट्रयाक खोल्न बाँकी छ। करिडोरअन्तर्गत डडेल्धुरामा करिब २७, बैतडीमा नौ र दार्चुलामा १८ किलोमिटर ट्रयाक खोल्न बाँकी छ। विभिन्न स्थानमा कालोपत्रका लागि ठेक्का भएर काम चलिरहेको भए पनि बजेट अभावका कारण निर्माण व्यवसायीलाई भुक्तानी दिन सकिने अवस्था नरहेको योजना कार्यालयले जनाएको छ ।
योजना कार्यालयका अनुसार करिडोरअन्तर्गत कञ्चनपुरमा ११ किलोमिटर, डडेल्धुरामा ५८ किलोमिटर, बैतडीमा एक सय ४४ किलोमिटर र दार्चुलामा एक सय २१ किलोमिटर सडक निर्माण हुनेछ । यसमध्ये कञ्चनपुरमा ११ किलोमिटर ट्रयाक खुलिसकेको छ भने डडेल्धुरामा २८ किलोमिटर ट्रयाक खुलेको छ । त्यसैगरी बैतडीमा एक सय १४ किलोमिटर र दार्चुलामा ७७ किलोमिटर ट्रयाक खुलेको छ । तुसारापानीदेखि टिङ्करसम्मको ७९ किलोमिटर सडक खण्डमा ट्रयाक खोल्ने काम नेपाली सेनाले गरिरहेको छ।
महाकाली करिडोरअन्तर्गत महेन्द्रनगरमा सिद्धवैजनाथ, डडेल्धुरामा परशुरामधाम, बैतडीमा त्रिपुरासुन्दरी, मेलौली भगवती र निङ्लाशैनी जस्ता प्रसिद्ध धार्मिकस्थलहरु छन् । त्यसैगरी दार्चुलामा राष्ट्रकै चौथो धामका रुपमा परिचित मालिकार्जुन धामजस्ता प्रसिद्ध धार्मिकस्थल रहेकाले करिडोरले धार्मिक पर्यटनमा समेत टेवा पुग्ने स्थानीयको भनाइ छ ।
महाकाली करिडोर निर्माण भएपछि चीन र भारतसँग व्यापारको ढोका खुल्ने र रोजगारीका थुप्रै अवसर सिर्जना हुनेमा यहाँका व्यवसायी आशावादी छन् । हालसम्म छिमेकी मुलकसँग व्यापारिक नाका नभएका कारण महाकाली करिडोर त्रिदेशीय व्यापारिक नाका बन्ने र सुदूरपश्चिम व्यापारिक ‘हब’ बन्ने अपेक्षा व्यवसायीको छ ।
रासस
प्रतिक्रिया दिनुहोस