बागलुङ/ घर नजिकैको जङ्गलमा फलामे तार बेरेर बनाएको कालिज फार्म । त्यही फार्ममा रातो, हरियो, नीलो र छिर्केमिर्के कालिज दौडने, उफ्रने र उड्ने गर्छन् ।
एकै ठाउँमा सयौँका सङ्ख्यामा देखिने कालिजले यहाँ आउने धेरैलाई आकर्षित गर्छ । बागलुङको ढोरपाटन नगरपालिका-२ सलामकोटका स्थानीय चुडामणि कँडेलले कालिजपालन गरेको सात वर्ष भयो ।
कँडेलले २०७५ सालमा रहरले काभ्रेबाट तीन पोथी र एउटा भाले कालिज ल्याएर पाल्नुभयो । सुरुमा उहाँलाई व्यवासयिक रूपमा पालन गर्छु भन्ने लागेको थिएन । तर पछि धेरै पाल्ने चाहना जागेपछि अहिले उहाँको कालिजपालन व्यवसाय फस्टाउँदै गएको हो ।
२४ हजार रुपैयाँमा चारवटा कालिज ल्याएर थालेको व्यवसायमा कँडेलले हालसम्म ५० लाख रुपैयाँभन्दा बढी लगानी गरिसक्नुभएको छ । १० रोपनी क्षेत्रफलमा कँडेलले तारबार लगाएर कालिज हुर्काइराख्नुभएको छ ।
कालिज व्यवसाय राम्रो हुँदै गएपछि उहाँले चल्लासमेत आफैँ उत्पादन गर्न थाल्नुभएको छ । वनमा पाइने कालिज कँडेलले व्यावसायिक रूपमै पाल्न थालेपछि स्थानीयसमेत दङ्ग छन् । १२ वर्ष अगाडि स्थायी रूपमा सरकारी सेवामा प्रवेश गर्नुभएका कँडेल स्वास्थ्यकर्मी हुनुहुन्छ ।
बिहानबेलुका कालिजको रेखदेख गर्ने उहाँ दिउँसोको समयमा बुर्तिबाङ प्रादेशिक अस्पतालमा काम गर्नुहुन्छ । सानैदेखि चराचुरुङ्गी समाउन र पाल्न रुचि राख्ने कँडेलले कालिजपालन थालेपछि टाढाटाढाबाट हर्ने आउनेको सङ्ख्या ठूलो छ ।
सात वर्ष अगाडि ‘सानो स्वर्ग’ नामको फार्म दर्ता गरेर सुरु गरेको व्यवसाय राम्रो हुँदै गएपछि कँडेल उत्साहित हुनुभएको छ । अहिले उहाँको फार्ममा सानाठूला गरी करिब दुई हजार कालिज छन् । एक हजार पाँच सयभन्दा बढी त बिक्रीका लागि तयार भएको कँडेलले बताउनुभयो ।
दसैँतिहारको अवधिमा करिब दुई सय बढी कालिज बिक्री भएको सुनाउँदै पछिल्लो समय कालिज खोज्दै फार्मसम्म धेरै ग्राहक आउने गरेको उहाँले जानकारी दिनुभयो । सुरुमा कालिज बिक्री गर्न निकै समस्या भएको भन्दै अहिले राम्रो बजार पाएको कँडेल बताउनुहुन्छ । प्रतिकालिज दुई हजारदेखि दुई हजार पाँच सय रुपैयाँसम्ममा बिक्री गर्दै आएको उहाँको भनाइ छ ।
‘यो मेरो रहरको पेसा हो । मैले सुरुमा थोरै लिएर पालेको थिएँ । पछि यसलाई व्यावसायिक रूपमा गर्न सकिने सम्भावना देखेपछि फार्म निर्माण गरेर पाल्न थालेको हुँ । सात वर्षमा कालिजपालन कसरी गर्न सकिँदोरहेछ भन्ने बुझियो । कालिजका भाषा पनि बुझ्न थालियो’, उहाँले भन्नुभयो, ‘पहिले धेरै समस्या थियो । अहिले विस्तारै राम्रो हुँदै गएको छ । लगानी पनि बढाउँदै गएको छु ।’
केही दिनअगाडि फार्ममा चितुवा पसेर एक सय ५० कालिज मारिदिँदा तीन लाख रुपैयाँ नोक्सानी व्यहोरेको उहाँले सुनाउनुभयो । रुचिले पाल्न थालेको कालिज अहिले आम्दानीको स्रोत बन्न थालेपछि कँडेल खुसी हुनुहुन्छ ।
उहाँको कालिजपालनलाई बुबा तुलसीराम कँडेलले साथ दिनुभएको छ । यस वर्ष १५ लाख रुपैयाँको कालिज बिक्री गर्ने लक्ष्य रहेको चुडामणिले बताउनुभयो ।
पछिल्लो समय फार्म व्यवस्थित बन्दै गएपछि मागसमेत बढ्दै गएको कँडेलको भनाइ छ । सुरुमा चल्ला व्यवस्थापनमा समस्या भए पनि हाल ह्याचरीमार्फत आफैँ चल्ला उत्पादन गर्ने उहाँ बताउनुहुन्छ ।
–रासस
प्रतिक्रिया दिनुहोस