९ मंसिर २०८२ मंगलबार | 25 Nov 2025 Tue

शारीरिक अशक्तले पच्छ्याइरहेको स्वावलम्बनको बाटो



  • आफ्नै खबर
  • २९ कात्तिक २०८२ शनिबार (१ हप्ता अघि)
  • पाठक संख्या १८८
  • कञ्चनपुर/  दोधारा-चाँदनी नगरपालिका-८ का दानबहादुर सुनार शारीरिक रूपमा अशक्त हुनुहुन्छ । दानबहादुर जन्मिने बेला अरु जस्तै सामान्य हुनुहुन्थ्यो । चार वर्षको उमेरमा उहाँ बिरामी हुनुभयो ।

    त्यसपछि विस्तारै शरीर सुक्दै गएपछि अहिले पूर्ण रूपमा अशक्त हुनुहुन्छ । उहाँलाई शरीरले साथ नदिए पनि मन र सीप असाध्यै सबल छ । हिँडडुलसमेत गर्न नसक्ने अवस्थामा रहनुभएका दानबहादुरले हार मान्नु भएन ।

    उपचारका लागि परिवारले सकेको प्रयास गरेका बताउँदै दानबहादुरले अस्पताल धाउँदाधाउँदै पनि कमजोर आर्थिक अवस्थाका कारण समयमा रोग निदान हुन नसकेको उल्लेख गर्नुभयो ।

    अहिले उहाँले सरकारबाट सामाजिक सुरक्षा भत्ता पनि पाउनुहुन्छ । उहाँले हिम्मतका साथ आफूमा भएको क्षमतालाई सदुपयोग गर्दै निरन्तर कर्ममा लागेपछि अहिले परिवारका लागि आर्थिक सहारा बन्नुभएको छ । 

    ‘घरमा ल्याएको रेडियो बिग्रियो त्यो रेडियोबाट उसले मर्मत गर्न सिकेको हो’, दानबहादुरकी आमा उषा सुनारले भन्नुभयो, ‘त्यसै रेडियोबाट सिकेर अहिले मोबाइलको डिस्प्ले फेर्ने, रेडियो, टर्च र उफरहरू मर्मतको काम गर्छ ।’ दानबहादुरले पछिल्लो समय अरुलाई हाउस वायरिङ गर्ने काम सिकाउन थालेको उहाँको भनाइ छ ।

    सरकारबाट पाउने सामाजिक सुरक्षा भत्ता दानबहादुरका लागि जीविकोपार्जनको प्रमुख स्रोत हो । आमाले भन्नुभयो, ‘भत्ता मात्रै जीवन चलाउन पर्याप्त नभएपछि उहाँलाई आफ्नो क्षमता देखाउने आत्मबल बढ्दै गयो । शरीरले गर्न नसक्ने काम धेरै थिए । तर, हात र आँखाका बलमा गर्न सकिने साना सीपले उसलाई आर्थिक सहारा दिन सहयोग पुगेको हो ।’

    ‘अरुको सहयोगमा रेडियो, मोबाइल टर्चलगायत सामग्री मर्मत म आफैँ गर्छु, हाउस वायरिङका लागि अरु साथीभाइलाई सिकाउने गरेको छु’, दानबहादुरले भन्नुभयो, ‘गाउँको व्यवसाय हो । कोही पैसा दिएर जान्छन् कोही त्यतिकै मर्मत गराउँछन् । तर, थोरै भए पनि आम्दानीको स्रोत बनेको छ ।’

    उहाँले परिवारको आर्थिक अभावका कारण आफ्नो सीपलाई व्यवसायिक बनाउन नसकेको बताउनुभयो । 

    ‘थोरै आम्दानी भए पनि परिवारलाई सहयोग पुगेको छ’, सुनारले भन्नुभयो, ‘अरुलाई पनि आत्मनिर्भर बन्नका लागि हाउस वायरिङ र मर्मत गर्न सिकाउने गरेको छु ।’ पौरख गर्न पाखुरामा दम मात्रै होइन, हातखुट्टा सद्दे चाहिने उहाँको अनुभव छ । पूर्ण रूपमा अशक्त दानबहादुर अहिले दोधाराका थुप्रै युवाको गुरूमात्रै होइन, प्रेरणाको स्रोत बन्नुभएको छ ।

    –रासस