९ मंसिर २०८२ मंगलबार | 25 Nov 2025 Tue

प्रकृति र संस्कृति बोकेको होमस्टे



  • आफ्नै खबर
  • २९ कात्तिक २०८२ शनिबार (१ हप्ता अघि)
  • पाठक संख्या १५१
  • बाँके/  बैजनाथ गाउँपालिकामा अवस्थित गाभर भ्याली सामुदायिक घरवास (होमस्टे) यतिबेला आन्तरिक पर्यटकको चापले गुल्जार छ । दसैँतिहारजस्ता मुख्य चाडपर्व सकिएसँगै यहाँ पर्यटकको चहलपहल दैनिक रूपमा बढिरहेको छ ।

    गाभर भ्याली सामुदायिक घरवासका अध्यक्ष कृष्णलाल चौधरीका अनुसार, वर्षायाममा सुनसान हुने गरेको होमस्टेमा अहिले पाहुनाको आगमन बढेको छ । पर्यटक विशेषगरी पदमार्ग र जङ्गल सफारीप्रति आकर्षित भएका छन् । बाँके, बर्दिया मात्र नभई कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका अन्य जिल्लाबाट समेत ठूलो सङ्ख्यामा पर्यटक यहाँ घुम्न आइरहेका छन् ।

    छोटो समयमै पर्यटकीय क्षेत्रको पहिचान बनाउन सफल गाभर भ्याली बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र पर्दछ । यहाँ आउने आन्तरिक पर्यटक पछिल्लो समय निकुञ्जभित्र जङ्गल सफारी गर्न रुचाउँछन् । बाघ, हात्ती र चितुवालगायतका वन्यजन्तु हेर्ने र प्रकृतिको आनन्द लिने अवसरका कारण यो क्षेत्रको महत्व बढेको अध्यक्ष चौधरीको भनाइ छ ।

    थारु र मुगाली समुदायद्वारा सञ्चालित गाभर भ्याली घरबासमा अहिले दैनिक करिब पाँच सय आन्तरिक पर्यटक पुग्ने गरेका छन् । यहाँ केवल परम्परागत घरवास मात्र नभई ठूलो लगानीका आरामदायी होटलसमेत थपिएका छन्, जसले पाहुनालाई पूर्वाधारयुक्त सेवा प्रदान गरिरहेका छन् ।

    अध्यक्ष चौधरीका अनुसार, गाभर भ्याली होमस्टेले जीविकोपार्जनभन्दा माथि उठेर नयाँ अवधारणा अघि सारेको छ ।

    उहाँ भन्नुहुन्छ, ‘हामीले केवल जीविकोपार्जन मात्रै नभई नेपालमै पहिलोपटक आयआर्जन, संस्कृतिको प्रवर्द्धन, प्रकृतिको संरक्षण र बाघ पर्यटनको अवधारणा अघि सारेका छौँ । गाभर भ्याली होमस्टे आन्तरिक पर्यटन प्रवर्द्धनको अगुवा र पर्यटन उद्योगमा नयाँ आयामको सुरुवात गर्ने स्थल हो ।’

    अध्यक्ष चौधरीका अनुसार, पुराना घरवासलाई पूर्वाधारयुक्त बनाइएको छ भने ठूलो लगानीका होटल पनि थपिएका छन् । २०७० सालमा सुरु भएको गाभर भ्याली सामुदायिक घरवास अहिले नेपालकै नमूना घरवासका रूपमा चिनिन्छ ।

    बाँकेमा सञ्चालित घरवास जीविकोपार्जन मात्रै नभई आयआर्जनको माध्यम बनेको छ । गाभर भ्याली घरवासमा सुरूका दिनमा २०/३० हजार रुपैयाँबाट व्यवसाय सुरु गरिएपनि अहिले २० लाख देखि ५० लाख रुपैयाँसम्म लगानी गरेको अध्यक्ष चौधरीको भनाई छ । 

    होमस्टेको स्थापनापछि गाउँलेको बोलीचाली, रहनसहनदेखि आर्थिक स्रोतसमेतमा उल्लेख्य सुधार आएको छ । यो होमस्टे अहिले जीविकोपार्जन मात्रै नभई दिगो आयआर्जनको बलियो माध्यम बनेको होटल व्यवसायी महासङ्घ बाँकेका अध्यक्ष भीम कँडेलले बताउनुभयो ।

    –रासस