दाङ/ जिल्लामा व्यवसायिक रूपमा मौरीपालन गर्ने किसानको सङ्ख्या बढ्दै गएको छ । यहाँको हावापानी राम्रो भएकाले यसमा आबद्ध हुने किसानको सङ्ख्या बढ्दै गएको हो ।
घोराही उपमहानगरपालिका-१८ सुपैला खुटीका श्रीधन घर्ती मौरीको स्याहारमा व्यस्त हुनुहुन्छ । उहाँले यो काम गर्न थाल्नुभएको १७ वर्ष पुगिसक्यो ।
उहाँले भन्नुभयो, ‘सात वर्ष वैदेशिक रोजगारमा गएर फर्केपछि मौरीपालन व्यवसाय गर्न थालेको हुँ । यसमा घरपरिवारको पनि साथ र सहयोग छ ।’ उमेरले ५८ वर्ष पुग्नुभएका घर्तीले घोराही उपमहानगरपालिका-१३ स्थित डुम्बरगाउँमा व्यावसायिक रूपमा मौरीपालन व्यवसाय गर्दै आउनुभएको छ ।
अहिले घर्तीको मौरीफार्ममा एक सय ५० मौरीसहितका घार छन् । उहाँले यस व्यवसायबाट राम्रो आम्दानी पनि गर्दै आउनुभएको छ । उहाँले वर्षमा सात टन मह उत्पादन गर्दै आएको बताउनुभयो ।
‘परिवारको पनि सहयोग छ । आफैँले मौरीपालनका लागि केही ज्ञान लिएपछि व्यावसायिक रूपमा मौरीपालनमा लागेको हुँ । अहिले उत्पादन भएको मह बिक्रीका लागि बजार पुग्न पर्दैन । धेरै जसोले घरबाटै लग्ने गरेका छन्’, किसान घर्तीले भन्नुभयो, ‘वैदेशिक रोजगारबाट फर्किएपछि यही व्यवसाय सुरु गरेको हुँ । धेरै लगानी पनि नलाग्ने र आम्दानी पनि राम्रो लिन सकिन्छ । आगामी दिनमा पनि मौरीपालन व्यवसायलाई निरन्तरता दिँदै जाने सोच छ ।’
मौरीपालन व्यवसायबाट वार्षिक १६ लाख रुपैयाँको कारोबार गरिरहनुभएका घर्तीले सात लाख रुपैयाँ बचत गर्ने गरेको बताउनुभयो । एक किलो मह पाँच सय रुपैयाँका दरले बिक्री गर्दै आएको उहाँले बताउनुभयो ।
उहाँजस्तै उमेरले ६० वर्ष पुग्नुभएका दीपकुमार मगरको दैनिकी पनि विगत दुई दशकदेखि मौरीपालन र मौरीको हेरचाहमै बित्ने गरेको छ । जसबाट आम्दानी पनि राम्रो हुँदै गएको उहाँ बताउनुहुन्छ । जिल्लाको घोराही उपमहानगरपालिका-१३ तुरुन्तपुर निवासी मगर विगत २६ वर्षदेखि यही व्यवसायमै हुनुहुन्छ ।
मौरीले राम्रै आम्दानी दिँदै आएकाले मौरीपालन व्यवसायमा उत्साह बढ्दै गएको मगरले बताउनुभयो । मैले व्यावसायिक रूपमा मौरीपालन गर्न थालेको २६ वर्ष भयो । लामो समय भइसक्यो मौरीपालन गर्न थालेको आम्दानी पनि राम्रो भइरहको छ । यसमा घरपरिवारको पनि सहयोग छ ।
उहाँले मौरीपालन पूर्वाधार सामग्री उत्पादनमार्फत पनि व्यवसायका लागि आवश्यक सामग्री उत्पादन गरी छिमेकी जिल्ला रोल्पा, सल्यान, प्युठानलगायतका जिल्लामा समेत आधुनिक प्रकारका सामग्री पठाउने गर्नुहुन्छ ।
मगरको मौरी फार्म दुई सय घार क्षमताको भए पनि हाल भने एक सय मौरीसहितका घार छन् । उहाँले वर्षमा ३५ क्विन्टल मह उत्पादन हुँदै आएको बताउनुभयो ।
वर्षाको समय र अत्यधिक चिसो हुने समयमा ख्याल गर्ने हो भने मौरीपालनबाट राम्रो प्रतिफल लिन सकिने भन्दै उहाँले मह उत्पादन र घार वृद्धि पनि सँगसँगै बढाउँदै लगेको बताउनुभयो । गुणस्तरीय मह भएकाले अधिकांश मह घरबाटै बिक्री हुने गरेको घर्ती बताउनुहुन्छ ।
यस्तै, घोराही उपमहानगरपालिका-१८ गिठेपानी निवासी कृष्णबहादुर डाँगी र जानकी डाँगी दम्पतीले मह बिक्री गरेर मासिक एक लाख रुपैयाँभन्दा बढी आम्दानी गर्दै आउनुभएको छ । विगत डेढ दशकदेखि मौरीपालनमा संलग्न डाँगी दम्पतीले घोराही-१८ गिठेपानीमै एक सय पाँच घार बढी माहुरी पालेर वार्षिक रूपमा करिब १३ लाख रुपैयाँसम्म आम्दानी गर्दै आउनुभएको छ ।
कृषि ज्ञान केन्द्रका सूचना अधिकारी तथा कृषि अर्थविज्ञ पृथ्वीराज लामिछानेका अनुसार जिल्लामा व्यावसायिक मौरीपालन गर्ने किसानको सङ्ख्या पाँच सय बढी छ ।
–रासस
प्रतिक्रिया दिनुहोस