हुम्ला/ सिमकोट-नेपालगन्जको हवाई टिकट वितरणलाई सहज र पारदर्शी बनाउनुपर्ने भन्दै हुम्लामा रहेका तीन निजी एयरलाइन्सको कार्यालयमा लगाइएको ताला खुलाइएको छ ।
सदरमुकाम सिमकोट गाउँपालिका-५ का युवाले हवाई टिकट वितरण पारदर्शी नगरी मिलोमतोमा वितरण गर्ने तथा पछिल्लो समय चिठ्ठाका आधारमा गर्दा टिकट वितरण गर्दा झन् समस्या आएको भन्दै आपत्ती व्यक्त गर्दैआएका थिए ।
यही विषयलाई लिएर उनीहरूले तीन निजी एयरलाइन्सका कार्यालयमा ताला लगाएका थिए । प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीको अध्यक्षतामा शनिबार बसेको सर्वदलीय, सर्वपक्षीय बैठकको निर्णयपश्चात शनिबार नै ताला खोलिएको छ ।
जिल्लामा उपलब्ध राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिसहित जनप्रतिनिधिको उपस्थितिमा सम्पन्न उक्त बैठकले प्रत्येक उडानमा दुई हवाई टिकट अनिवार्य बिरामीलाई वितरण गर्ने निर्णय भएको छ ।
त्यस्तै, तीन सरकारी कर्मचारीका लागि जिल्ला प्रशासन कार्यालयले सिफारिस गर्ने तथा तीन टिकट एयरलाइन्सले अग्रिम सूचना जारी गरी अनलाइन माध्यमबाट वितरण गर्ने सम्झौता भएको प्रमुख जिल्ला अधिकारी रेग्मीले बताउनुभयो ।
त्यसैगरी, सिमकोट गाउँपालिका-५ र ६ का स्थानीयका लागि वडा कार्यालयको सिफारिसमा एक-एक टिकट वितरण गर्ने तथा बाँकी टिकट एयरलाइन्सले प्राथामिकता र सहजताका आधारमा वितरण गर्ने निर्णय भएको प्रजिअ रेग्मीले बताउनुभयो ।
सिमकोट गाउँपालिका-५ र ६ ले पहिलोपटक आरक्षण सिट पाउने भएको छ । पन्ध्र सिट भएको जहाजमा यसअघि भनसुनका आधारमा टिकट वितरण हुँदै आएको थियो । यो तालिका सिमकोट विमानस्थलमा उडान भर्ने सीता, समिट, तारा र नेपाल एयरलाइन्सका सम्पूर्ण उडानमा लागू हुने बताइएको छ ।
सिमकोटका युवाले हवाई टिकट वितरणमा अनियमितता भएको भन्दै शनिबार बिहान सबै एयरलाइन्सका कार्यालयमा ताला लगाएका थिए । ताला लगाएको जानकारी पाएलगत्तै स्थानीय प्रशासनले तालाबन्दी गर्ने युवा, सुरक्षा निकाय, राजनीतिक दल र एयरलाइन्सका प्रतिनिधि राखेर बैठक राखेको थियो । बैठकको निर्णय भएलगत्तै ताला खोलिएको थियो ।
–रासस
प्रतिक्रिया दिनुहोस