कञ्चनपुर/ सुदूरपश्चिम प्रदेशमा पछिल्ला वर्षमा धानको उत्पादकत्वमा वृद्धि भएको छ । खेती गर्ने तरिका सुधार गरी किसान व्यवसायिक बन्न थालेपछि धान उत्पादनमा वृद्धि भएको कृषि विकास निर्देशनालय सुदूरपश्चिमले जनाएको छ ।
निर्देशनालयका अनुसार यस वर्ष ६ लाख ८७ हजार आठ सय ७७ ‘मेट्रिकटन’ धान उत्पादन भएको छ । गत वर्ष सुदूरपश्चिममा ६ लाख ३६ हजार दुई सय ९६ मेट्रिकटन धान उत्पादन भएको थियो ।
आर्थिक वर्ष २०८०/८१ मा ६ लाख ७२ हजार नौ सय २८ मेट्रिकटन धान उत्पादन भएकामा आर्थिक वर्ष २०७९/८० मा ६ लाख ४८ हजार नौ सय ४२ मेट्रिकटन धान उत्पादन भएको थियो । सुदूरपश्चिममा एक लाख ७७ हजार दुई सय ३० ‘हेक्टर’ क्षेत्रफलमा धान उत्पादन हुँदै आएको छ ।
निर्देशनालयका सूचना अधिकारी केशवराज पाण्डेयले सुदूरपश्चिममा धान उत्पादनमा वृद्धि हुँदै आएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सुदूरपश्चिममा कैलाली र कञ्चनपुरमा धेरै धान उत्पादन हुन्छ’, उहाँले भन्नुभयो, ‘खेती गर्ने तरिकामा सुधार र उन्नत जातको बीउका कारण धान उत्पादनमा वृद्धि भएको हो ।’
पछिल्लो समयमा सरकारले किसानलाई ५० प्रतिशत अनुदानमा उन्नत जातको बीउ दिँदै आएको छ । यसबाहेक किसानले प्राङ्गारिक मलको प्रयोग, सिचाँइको उपलब्धता र सरकारी अनुदान तथा प्राविधिक सहयोगले उत्पादनमा वृद्धि भएको हो ।
‘उन्नत जातको बीउले १० देखि १५ प्रतिशतसम्म उत्पादन बढाउँछ’, सूचना अधिकारी पाण्डेयले भन्नुभयो, ‘खेती गर्ने तरिकाले पनि उत्पादनमा फरक पार्छ ।’ निर्देशनालयका अनुसार सुदूरपश्चिमका अन्य जिल्लाको तुलनामा कैलाली र कञ्चनपुरमा धानको उत्पादकत्व बढी छ । कञ्चनपुरमा ४.६ र कैलालीमा ४.५ टन प्रतिहेक्टर उत्पादकत्व रहेको छ ।
कृषि ज्ञान केन्द्र कञ्चनपुरका सूचना अधिकारी धर्मबहादुर साउदले उन्नत जातको बीउबिजन र सिँचाइ सुविधाका कारण उत्पादनमा वृद्धि भएको बताउनुभयो । कृषि ज्ञान केन्द्रले किसानलाई अनुदानमा सिँचाइ सुविधा उपलब्ध नभएको ठाउँमा साना सिँचाइ जडान समेत गर्ने गरेको उहाँले बताउनुभयो ।
गत वर्ष ज्ञान केन्द्रले यहाँका नौ स्थानीय तहमा सात सय ७६ साना सिँचाइ (ट्युबवेल) जडान गरेको थियो । उहाँका अनुसार कञ्चनपुरमा ३९ हजार ६ सय ५० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध हुँदै आएको छ ।
‘हामीले किसानलाई ५० प्रतिशत अनुदानमा बीउबिजन र सिँचाइ सुविधा उपलब्ध गराउँदै आएका छौँ’, उहाँले भन्नुभयो, ‘जसका कारण यहाँ धान उत्पादन वृद्धि हुँदै गएको छ ।’
कञ्चनपुरमा हाल साना सिँचाइबाहेक महाकाली सिँचाइ आयोजना पहिलो र दोस्रो चरणबाट ११ हजार ६ सय हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध छ । सुदूरपश्चिमको कैलाली र कञ्चनपुरलाई अन्न भण्डारका रुपमा चिनिन्छ । यहाँको उत्पादनले सुदूरका पहाडी जिल्लामा समेत खाद्य आपूर्ति हुने गरेको छ ।
–रासस
प्रतिक्रिया दिनुहोस