भोजपुर/ अरुण गाउँपालिकाले परम्परागत कोगटी (कपास) खेती संरक्षण र प्रवर्द्धन थालेको छ । गाउँपालिकाले हराउँदै गएको यो परम्परागत खेतीलाई जोगाउँदै व्यावसायिक रूप दिन प्रयास थालेको हो ।
कपासबाट धागो कातेर हातले कपडा बुन्न सकिने भएकाले यसबाट बन्ने कपडाको मूल्य उच्च हुने गर्दछ । कोगटीखेती गर्दै आएका स्थानीय कृषक देवकुमार राईका अनुसार एक थान कोगटीबाट बनेको कपडा २५ देखि ३५ हजार रुपैयाँसम्ममा बिक्री हुन्छ ।
अहिले उहाँले २० रोपनीमा कोगटीखेती गरिरहनुभएको छ । कोगटीबाट बनेको खैरो कपडा महङ्गो पर्ने उहाँको भनाइ छ । उहाँले यसको खेतीबाट गत वर्ष मात्र तीन लाख ५० हजार रुपैयाँ आम्दानी गरेको बताउनुभयो ।
कोगटीबाट खैरो र सेतो गरी दुई प्रकारका धागो उत्पादन हुन्छ । त्यसलाई तानमा लगाएर दौरा-सुरुवाल, कोट, टोपी, झोला, रुमाललगायतका कपडा बनाइन्छ । बजारमा यसको माग उच्च रहेको सिमटार कृषक समूहका अध्यक्ष दर्जकुमार राईले बताउनुभयो । १९ जना किसान मिलेर २५ रोपनी क्षेत्रमा सामूहिक कोगटीखेती गर्दै आएको उहाँले बताउनुभयो ।
गाउँपालिकाले कोगटीखेती संरक्षण र विस्तारका लागि उन्नत जातका बीउ, खेतीका लागि औजार-उपकरण, र कोगटीको धागोबाट हातको सहायताले कपडा बनाउने तालिम उपलब्ध गराउँदै आएको अध्यक्ष शालिकराम खत्रीले जानकारी दिनुभयो ।
सङ्घीय सरकारको लघु घरेलु तथा साना उद्योग कार्यालयबाट प्राप्त ३० लाख रुपैयाँ बजेटमा कोगटी प्रशोधन मेसिन, परम्परागत तान-चर्खा, तालिम तथा उद्योग भवन मर्मतसमेत गरिएको छ ।
यस वर्ष गाउँपालिका र प्रदेश सरकारको साझेदारीमा २५ लाख रुपैयाँ बराबरको कोगटीखेती प्रवर्द्धन कार्यक्रम सञ्चालन हुने भएको छ । वडा नं. ६ का अध्यक्ष गणेश टक्का राईका अनुसार जरायोटारको सिमटार, जोगीटार, वैरेनी, बास्ताङ, बसेरी, चोम्ताङ क्षेत्रमा कोगटीखेती बढी हुने गरेको छ । यहाँका २५-३० घरधुरीले व्यावसायिक रूपमा खेती गर्दै आएका छन् ।
–रासस
प्रतिक्रिया दिनुहोस