भक्तपुर/ पहेँलिँदै र रातो हुँदै पारि आकाशमा विस्तारै सूर्यको आकार देखिने सूर्योदयको मनमोहक दृश्य, सूर्यको उदाउँदो किरणले राताम्मे बनेर टल्किएका हिमाल । अनि निकै बेरपछि हरिया डाँडामा देखिने बादल र शिरमा देखिने लामा टल्किएका हिमाली दृश्य । यी अहिले भक्तपुरको चाँगुनारायण नगरपालिका-६ नगरकोटको डाँडाबाट देखिने दृश्य हुन् ।
सूर्योदयदेखि सूर्यास्तसम्म, विश्वको अग्लो हिमाल सगरमाथादेखि विभिन्न आकर्षक १० हिमाली दृश्य अवलोकनको केन्द्रबिन्दु बनेको नगरकोट अचेल आन्तरिक र बाह्य पर्यटकको आगमनको प्रमुख गन्तव्य बन्दै गएको छ ।
नगरकोटसँगै विश्व सम्पदा सूचीमा सूचिकृत चाँगुनारायण मन्दिरसहितका सम्पदालाई पर्यटन प्रवर्द्धनका माध्यमबाट विश्वभर चिनाउने उद्देश्यले चाँगुनारायण नगरपालिकाले गत वैशाख १ गतेदेखि आगामी चैत मसान्तसम्मका लागि आयोजना गरेको ‘नगरकोट भ्रमण वर्ष-२०८२’ ले पर्यटकलाई थप आकर्षित बनाएको छ ।
११ वर्षसम्म निर्माण कम्पनीले अलपत्र पारेको पर्यटकीय क्षेत्र नगरकोट जाने मुख्य सडक करिब १७ करोड रुपैयाँको लागतमा उक्त मार्ग नगरपालिकाले कालोपत्र गरेसँगै नगरकोट जान सहज भएको छ । त्यसैले पर्यटकहरूको आगमन पनि बढेको पर्यटन व्यवसायी बताउँछन् ।
‘नगरकोटलाई पर्यटकीय क्षेत्र घोषणा गराउन सरकारसँग संवादमार्फत पहल गरिरहेका छौँ । पर्यटन प्रवर्द्धनका लागि प्रदेश र केन्द्रीय सरकारसँग पनि पहल गर्दै जाने छौँ ।’
नगरकोट बसपार्कसँगै रहेको होटल मेरिगोल्डका सञ्चालक एवं पर्यटन व्यवसायी गोकुल लामिछानेले ११ वर्षदेखि सुस्ताएको पर्यटन व्यवसाय सडक कालोपत्र गरेपछि फस्टाएको बताउनुभयो । यसअघि यहाँको पर्यटन व्यवसाय सडककै कारणले सुस्ताएको थियो । एघार वर्षसम्म एउटा ठेकेदारले सडक मात्रै अलपत्र पारेन, सिङ्गो पर्यटन व्यवसाय नोक्सानमा पारेको उहाँको भनाइ छ ।
लामिछानेले भन्नुभयो, ‘सडककै कारणले नगरकोट आउने पर्यटक घटेका थिए । सोही कारण व्यवसायीले मार खेप्नु पर्यो । तर, चाँगुनारायण नगरपालिकाले भ्रमण वर्ष सुरु गरेसँगै नगरप्रमुख जीवन खत्रीको नेतृत्वमा सडक कालोपत्र गराएपछि पर्यटकको आगमन बढेको छ । यहाँका व्यवसायीमा अहिले उत्साह थपिएको छ ।’
नगरकोटस्थित होटल चौतारीका सञ्चालक एवं पर्यटन व्यवसायी बद्रि माकले पर्यटकको आगमनले व्यवसायमा लगानी थप गर्न आँट आएको बताउनुभयो । २०७२ सालको भूकम्पले भत्किएको होटललाई नयाँ स्वरूपमा निर्माण गरेर व्यवसायमा लगानी बढाएको बताउँदै उहाँले बिदा र शुक्रबारको दिन अग्रिम बुकिङ नगरे ठाउँ पाउन मुस्किल पर्ने उल्लेख गर्नुभयो ।
नगरकोटका होटलदेखि डाँडाहरूबाट देखिने सूर्योदय, सूर्यास्त, सगरमाथा र हिमाली दृश्यहरूले पर्यटकको मन आनन्दित बनाउने बताउँदै उहाँले आन्तरिक पर्यटक एक रात बसेर जाने र बाह्य पर्यटकहरू तीन-चार दिनसम्म नगरकोटमा रमाउने जानकारी दिनुभयो ।
नगरप्रमुख खत्रीले भूकम्प, कोरोना र अलपत्र सडकका कारण थिलथिलो बनेको यहाँको पर्यटन व्यवसाय अहिले चलायमान बन्दै गएको बताउनुभयो । सरकारले नगरकोट सडकको ठेक्का रद्द गरेलगत्तै नगरपालिकाले तीव्र गतिमा भक्तपुर-नगरकोट १४ किलोमिटर सडक कालोपत्र सम्पन्न गराएपछि पर्यटकको आगमन बढेको उहाँको भनाइ छ ।
नगरप्रमुख खत्रीले भन्नुभयो, ‘चाँगुनारायणबाट नगरकोटसम्म यहाँका प्रमुख पर्यटकीय गन्तव्यहरू छन् । त्यसैले नगरकोट सडकको स्तरोन्नतिका लागि बोलपत्र आह्वान गरेर तीव्र गतिमा निर्माण सम्पन्न गरायौँ । यहाँको पर्यटन व्यवसायको विकास र प्रचारप्रसारका लागि नगरकोट भ्रमण वर्षको सुरुआत गरेका छौँ । पर्यटकको आगमनले व्यवसायी उत्साहित छन् ।’
चाँगुनारायण, मण्डनदेउपुर र बनेपा नगरपालिकाको समन्वयमा पर्यटन प्रवर्द्धनका लागि संयुक्त रूपमा गुरुयोजना निर्माण गरी अगाडि बढ्ने सहमति बनेको बताउँदै भ्रमण वर्ष सफल पार्न सबै नगरपालिकाको क्रियाशीलता रहेको उहाँले उल्लेख गर्नुभयो ।
नगरकोटमा सामान्य, मध्यमवर्गदेखि उच्च तहका व्यक्तिहरू बस्न सक्नेगरी सामान्यदेखि पाँचतारे र साततारेसम्मका होटलहरू सञ्चालनमा आएका जनाउँदै नगरप्रमुख खत्रीले नयाँ होटलहरू पनि धमाधम थपिँदै गएका बताउनुभयो ।
नगरप्रमुख खत्रीले भन्नुभयो, ‘नगरकोटलाई पर्यटकीय क्षेत्र घोषणा गराउन सरकारसँग संवादमार्फत पहल गरिरहेका छौँ । पर्यटन प्रवर्द्धनका लागि प्रदेश र केन्द्रीय सरकारसँग पनि पहल गर्दै जाने छौँ ।’
नगरकोटको प्रकृति, संस्कृति र समुदायलाई बचाउँदै यस क्षेत्रका बस्ने, महसुस गर्ने, सिक्ने, प्रचारप्रसार गर्ने र अनुसन्धान गर्ने विषयमा योजनाबद्ध काम गर्दै जाने उहाँको भनाइ छ ।
होटल पिसफुल नगरकोटका सञ्चालक रामशङ्कर ध्वजूले पर्यटकको आगमन बढेपछि व्यवसायीले होटलमा लगानी बढाउन थालेका बताउनुभयो । नगरकोटको विकासमा भक्तपुर, काभ्रेपलाञ्चोक र काठमाडौँ जिल्लाले लगानी बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
काठमाडौँबाट ३२ किलोमिटर उत्तर-पूर्वमा र भक्तपुर नगरबाट २० किलोमिटर पूर्वमा अवस्थित नगरकोट समुद्री सतहबाट दुई हजार एक सय ७३ मिटर उचाइमा छ ।
व्यवसायी ध्वजूका अनुसार विश्वको सर्वोच्च शिखर सगरमाथासहित लाङटाङ, दोर्जे लाक्पा, धौलागिरि, कञ्चनजङ्घा, मनास्लु, गणेश, गौरीशङ्कर, चोयु, ल्होत्से, मकालुलगायत विश्वका उत्कृष्ट हिमशृङ्खलाहरू यहाँबाट देख्न सकिन्छ । नगरकोट क्षेत्र हिमालको काखबाट निस्कने सूर्योदयको दृश्यावलोकनका लागि पनि प्रसिद्ध मानिन्छ ।
यो स्थान प्राकृतिक सुन्दरता, हिमशृङ्खलाको मनोरम दृश्य, शान्त वातावरण, सूर्योदय-सूर्यास्तको अनुपम सौन्दर्य, र सांस्कृतिक विविधताको सङ्गमका रूपमा परिचित छ । यहाँबाट लाङटाङ, गणेश, हिमालको दृश्यावलोकन गर्न सकिन्छ । यहाँसम्म कि मौसम अनुकूल भएमा सगरमाथासमेत देख्न सकिन्छ ।
नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष नवीन गुरुङले एक दिनमा फरकफरक मौसमको अनुभूति गर्न पाइने नगरकोट हिमाली दृश्य, सूर्योदय र सूर्यास्तमात्रै नभई यहाँका हरियालीले भरिएको घना वनजङ्गल, पाखा-पखेरा, घाँसेमैदान र खुल्ला प्राकृतिक वातावरणले पर्यापर्यटनमा समेत आकर्षण बढाएको बताउनुभयो ।
यहाँका गुरुङ, तामाङ, शेर्पालगायत जातिको स्थानीय संस्कृतिले पनि पर्यटकलाई सांस्कृतिक अनुभव दिनुका साथै आकर्षित गर्ने उहाँले बताउनुभयो । यहाँका ट्रेकिङ मार्ग, साइक्लिङ ट्रेल, घरबास, साहसिक खेलहरूलगायत विविध किसिमका पर्यटकलाई आकर्षित गर्ने गतिविधिका कारण बहुपक्षीय पर्यटकीय क्षेत्रका रूपमा विकसित हुँदै गएको उहाँले उल्लेख गर्नुभयो ।
‘नगरकोट भ्रमण वर्ष-२०८२’ ले नगरकोटलाई एक महत्त्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउन ठूलो भूमिका खेलेको अध्यक्ष गुरुङले विश्वास व्यक्त गर्नुभयो । यस्ता विशेषताका कारण पर्यटकलाई नगरकोटतर्फ आकर्षित गर्नुका साथै स्थानीय व्यवसायीहरूलाई पनि उत्पादन र सेवा सुधार गर्ने अवसर प्रदान गरेको उहाँको भनाइ छ ।
–रासस
प्रतिक्रिया दिनुहोस