१० मंसिर २०८२ बुधबार | 26 Nov 2025 Wed

दरमखोला हाइड्रोपावरको व्यवसायिक उत्पादन सुरु



  • आफ्नै खबर
  • २ मंसिर २०८२ मंगलबार (१ हप्ता अघि)
  • पाठक संख्या १४२
  • बागलुङ/  दरमखोला हाइड्रोपावरले व्यवसायिक उत्पादन थालेको छ । २०७७ सालदेखि निर्माण सुरु भएको हाइड्रोपावरबाट आइतबारदेखि व्यवसायिक उत्पादन सुरु गरिएको हो । 

    दरमखोला हाइड्रो इनर्जी लिमिटेडमार्फत सञ्चालनमा आएको हाइड्रोपावर गत असोज ३० गते केन्द्रीय प्रसारण लाइनमा जडान गरिएको थियो । २०६५ सालमा हाइड्रोपावर निर्माण गर्ने भनिए पनि २०७७ सालदेखि मात्रै काम सुरु भएको हाइड्रोपावरको उत्पादन क्षमता ९.६ मेगावाट छ । 

    सुरुमा गोर्खा हाइड्रोपावर कम्पनीले निर्माण गर्ने भने पनि अहिले दरमखोला हाइड्रो इनर्जी प्रालीले जिम्मा लिएको छ । गलकोट नगरपालिका-८ काँडेबासमा ड्याम निर्माण गरी साढे चार किलोमिटर पश्चिम मनेवापाटामा विद्युतगृह निर्माण गरी विद्युत् उत्पादन सुरु गरिएको हाइड्रोपावरका इञ्जिनियर मिथिलेस चौधरीले जानकारी दिनुभयो ।

    बर्खामा ९.६ मेगावाट विद्युत् उत्पादन गर्न सकिने भए पनि हिउँद याममा ६.६ मेगावाट मात्रै उत्पादन भइरहेको इञ्जिनियर चौधरीले बताउनुभयो । 

    इञ्जिनियर चौधरीले भन्नुभयो, ‘दरमखोला हाइड्रोपावरलाई नेपाल विद्युत् प्राधिकरणको प्रसारण लाइनमा जोडिएको छ । विद्युतगृहभन्दा १४ किलोमिटर पूर्वमा रहेको हरिचौर सवस्टेशनमा जोडिएको छ । प्रसारण लाइनमा एक महिना अगाडि नै जोडे पनि व्यावसायिक उत्पादन भने अहिले बल्ल नियमित हुन थालेको छ । बर्खामा ९.६ मेगावाट उत्पादन गर्न सकिने भए पनि अहिले सकिँदैन ।’

    हाइड्रोपावर निर्माणको जिम्मा रामेछाप शेर्पा कन्स्ट्रक्सन र क्रिमहाइडल लिमिटेडले पाएका थिए । हाइड्रोपावर निर्माण गर्दा विभिन्न अवरोध हुँदा निर्माण सम्पन्न गर्न समय लागेको दरमखोला हाइड्रो इनर्जीका अध्यक्ष नरबहादुर पुनले बताउनुभयो ।

    सुरुमा गोर्खा हाइड्रोपावर कम्पनीले बनाउने गरी इजाजत पाए पनि उक्त कम्पनीले काम नगरेपछि आफूले सुरु गरेको उहाँको भनाइ छ । 

    निर्माण सम्पन्न गर्न दुई अर्ब रुपैयाँभन्दा बढी लगानी भएको अध्यक्ष पुन बताउनुहुन्छ । हाइड्रोपावरबाट विद्युत् उत्पादन हुन थालेपछि बागलुङका विकट गाउँ बस्तीमा विद्युत् पुग्ने अपेक्षा लिएको उहाँको भनाइ छ । 

    ‘दरमखोला हाइड्रोपावर बागलुङमा अहिलेसम्म बनेकामध्ये सबैभन्दा ठूलो हाइड्रोपावर हो । यसको सर्भे धेरै वर्ष अगाडि भए पनि विभिन्न समस्याका कारण अलि ढिला काम थाल्यौँ । यद्यपि अहिले उत्पादन गर्ने स्थितिमा आएको छ’, अध्यक्ष पुनले भन्नुभयो, ‘१७ वर्ष अगाडि गोर्खा हाइड्रोपार कम्पनीले इजाजत पाएको थियो । त्यसलाई रद्द गरेर हामीहरुले नयाँ कम्पनी बनाएर काम गर्यौँ । अहिले सम्पन्न भयो ।’

    –रासस