१० मंसिर २०८२ बुधबार | 26 Nov 2025 Wed

एकै पालिकाका ५२५ परिवारले पाए जस्तापाताको छानो



  • आफ्नै खबर
  • ३ मंसिर २०८२ बुधबार (७ दिन अघि)
  • पाठक संख्या १३७
  • भोजपुर/  नागरिकको फुसको छानो हटाउने अभियानअन्तर्गत भोजपुरको पौवादुङ्मा गाउँपालिकाले पाँच सय २५ परिवारलाई जस्तापाताको छानो वितरण गरेको छ । गाउँपालिकाले आफ्नै बजेटमा यहाँका गरिब विपन्न तथा आर्थिक रुपमा कमजोर परिवारलाई जस्तापाताको छानो वितरण गरेको हो । 

    गाउँपालिकाले फुसको छानो हटाउने ‘कार्यविधि’ तयार गरेर जस्तापाताको छानो वितरण गरिरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिनुभयो । गाउँपालिकामा आवेदन दिएका ६ सय ९९ घरमध्ये हालसम्म पाँच सय २५ परिवारको छानो फेरिसकेको उहाँले जानकारी दिनुभयो । 

    यस वर्षसम्म सबै परिवारको छानो फेर्ने काम सम्पन्न हुने उहाँको भनाइ छ । यस वर्षका लागि एक करोड २० लाख रुपैयाँबराबरको  बोलपत्र आह्वान भइसकेको छ । हालसम्म छानो फेर्नको लागि गाउँपालिकाले दुई आर्थिक वर्षमा गरी दुई करोड ५० लाख रुपैयाँ खर्च गरिसकेको उहाँले बताउनुभयो ।

    गाउँपालिकाभित्रका मापदण्डमा परेका मध्येबाट ६ वटै वडाका गरिब, विपन्न, ज्येष्ठ, एकल महिला तथा दलित परिवारलाई प्राथमिकतामा राखेर छानो हटाउने काम भइरहेको उहाँको भनाइ छ । 

    नागरिकको सबैभन्दा सुरक्षित थलो आफ्नो घर भएकाले उनीहरूलाई सहज र सुरक्षित रुपमा बास बस्न सक्ने वातावरण निर्माणको लागि फुसको छानो हटाउने अभियान सञ्चालन गरेको गाउँपालिका अध्यक्ष किरण राईले बताउनुभयो । केन्द्र सरकारबाट गाउँपालिकामा आउने फुसको छानो हटाउने कार्यक्रम कटौती भएकाले गाउँपालिकाले नीति तयार गरेर कार्यक्रम सञ्चालन गरेको उहाँको भनाइ छ ।

    ‘नागरिकको सबैभन्दा सुरक्षित स्थान आफ्नो घर हो’, अध्यक्ष राईले भन्नुभयो, ‘आर्थिक अवस्था कमजोर हुँदा कतिपय परिवार वर्षौँबाट चुहिने घरमा बस्दै आएका थिए । ती नागरिकहरूलाई स्थानीय सरकारको अभिभावकत्व प्रदान गर्न निःशुल्क जस्तापाताको छानो दिएका हौँ । नागरिकलाई सुरक्षित आवासको अनुभूति दिलाउने हाम्रो लक्ष्य हो ।’

    आगलागीको जोखिम, मनसुनमा हुने चुहावटको समस्या र आगलागीका कारण बर्सेनि हुने धनजनको क्षति न्यूनीकरण गर्ने उद्देश्यले फुसको छानो हटाउने कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाका उपाध्यक्ष ज्योत्सना राईले बताउनुभयो । यसले नागरिकमा एकरुपतासँगै फुसको छानोको कारण वनमा लागेको आगो बस्तीमा पस्दा हुने क्षति न्यूनीकरणमा सहयोग पुग्ने उहाँको भनाइ छ ।  

    अभियानअन्तर्गत वडा नं. १ श्याशिलाका एक सय ३१, वडा नं. २ तिवारी भञ्याङका ७१, वडा नं. ३ च्याङ्ग्रेका एक सय ६, वडा नं. ४ बास्तिमका एक सय चार, वडा नं. ५ सोनादुम्का एक सय ३२ र वडा नं. ६ ठूलोदुम्माका एक सय ५५ परिवार गरी, ६ सय ९९ परिवारले जस्तापाताको छानो पाउनेछन् ।

    –रासस