९ मंसिर २०८२ मंगलबार | 25 Nov 2025 Tue

विद्यार्थीलाई दैनिक एक गिलास दूध



  • आफ्नै खबर
  • ४ मंसिर २०८२ बिहिबार (५ दिन अघि)
  • पाठक संख्या ११७
  • म्याग्दी/  मङ्गला गाउँपालिकाले बालविकास केन्द्रमा अध्ययन गर्ने बालबालिकाहरूलाई विद्यालयमा दूध वितरण गर्न थालेको छ ।  

    बालविकास केन्द्रका बालबालिकालाई दूध वितरण गर्ने कार्यक्रमलाई मङ्गला गाउँपालिकाले नमुना घोषणा गरेको छ । ‘बालबालिकासँग अध्यक्ष’ कार्यक्रम अन्तर्गत बालविकास केन्द्रका बालबालिकालाई दैनिक एक/एक गिलास दूध वितरण गरिएको गाउँपालिकाका शिक्षा अधिकृत गणेशबहादुर कटुवालले जानकारी दिनुभयो । 

    मङ्गला गाउँपालिकाका पाँच वटा वडामा ४५ वटा बालविकास केन्द्रमा यस वर्ष तीन सय ७७ जना बालबालिका छन् । दिवा खाजासँगै दूध वितरण गर्न गाउँपालिकाले प्रति विद्यार्थी १५ रुपैयाँका दरले अनुदान उपलब्ध गराउँछ । उक्त कार्यक्रमका लागि चालु आर्थिक वर्ष २०८२/०८३ मा ११ लाख ५० हजार रुपैयाँ बजेट बिनियोजन गरेको छ ।

    ४४ वटा बालविकास केन्द्र संघीय सरकारबाट अनुमति पाएका हुन् । एक वटा बालविकास केन्द्र गाउँपालिकाले सञ्चालन गरेको छ ।

    तल्लो तहबाटै बालबालिकालाई सामुदायिक विद्यालयमा आकर्षित गर्ने, पोषण अवस्थामा सुधार गर्ने र बालबालिकाको विद्यालयमा टिकाउ दर बढाउन गत आर्थिक वर्षदेखि शुरु गरेको दूध वितरण गर्ने कार्यक्रम प्रभावकारी बनेको गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताउनुभयो । 

    बहुक्षेत्रीय पोषणको अवधारणा अनुसार शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रसँग अन्तरसमन्वय हुने कार्यक्रम सञ्चालन गरेको उहाँले बताउनुभयो । गत वर्ष यस कार्यक्रमबाट तीन सय ७३ जना बालबालिका लाभान्वित भएका थिए । विद्यालय र बालविकास केन्द्रले गाउँपालिकामा उपलब्ध गराउने विद्यार्थी भर्नाको विवरणको आधारमा खातामा बजेट पठाउने गरिएको छ । 

    विद्यालय र बालविकास केन्द्रले स्थानीय किसानसँग दूध किनेर बालबालिकालाई खुवाउने गरेका छन् । स्थानीय स्तरमै उत्पादन हुने दूधले बजार पाउनुका साथै गाईभैँसी पाल्ने किसानलाई प्रोत्साहन मिलेको छ ।

    –रासस