नुवाकोट/ बेलकोटगढी नगरपालिकाले हालैको अविरल वर्षाका कारण धानबालीमा क्षति पुगेका किसानलाई राहतस्वरूप नगद उपलब्ध गराउने भएको छ । त्यसका लागि नगरपालिकाले ‘विपद् व्यवस्थापन राहत कोष’ स्थापना गरेको छ ।
नगर कार्यपालिकाको बैठकले किसानलाई राहत वितरणका लागि करिब ८० लाख रुपैयाँ लाग्ने अनुमानसहित स्रोत सुनिश्चित गर्दै एक साताभित्र वडा कार्यालयमार्फत राहत रकम वितरण गर्ने निर्णय गरेको हो ।
धानबालीमा क्षति पुगेका किसानलाई राहत उपलब्ध गराउन जनप्रतिनिधिहरूको एक महिनाको सेवासुविधा, नगरपालिका र वडा कार्यालयका सम्पूर्ण कर्मचारी, स्वास्थ्य संस्था, विद्यालयका शिक्षक-कर्मचारीको एक दिनको तलब उक्त कोषमा जम्मा गर्ने निर्णय भएको नगरप्रमुख जगतबहादुर गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार अपुग हुने रकम नगरपालिकाबाट थप गरिनेछ ।
कात्तिक ११ गतेदेखि परेको अविरल वर्षाले प्रभावित भएका किसानको कात्तिक १६ गतेदेखि तीन दिन लगाई तथ्याङ्क सङ्कलन गरिएको थियो ।
जनप्रतिनिधि, प्रहरी र कृषि प्राविधिकको रोहबरमा गरिएको क्षतिको विवरण र किसानले दिएको निवेदनका आधारमा नगरका एक हजार पाँच सय ५७ किसान प्रभावित भएको नगर उपप्रमुख शिवप्रसाद दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार ती किसानले सात हजार सात सय ४५ रोपनी खेतमा लगाएको धानबालीमा वर्षाले क्षति पुगेको पाइएको छ ।
धानबालीमा पुगेको क्षतिको राहत वितरणका लागि कृषि प्राविधिकसँगको रायका आधारमा पारदर्शी र वैज्ञानिक मापदण्ड अपनाउने कार्यपालिका बैठकले निर्णय गरेको छ । त्यसका लागि पीडित किसानलाई जग्गाको भूगोलका आधारमा राहत वितरण मापदण्ड बनाइएको प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद घिमिरेले जानकारी दिनुभयो ।
उहाँका अनुसार धानबाली क्षति भएको एकदेखि तीन रोपनीसम्मलाई प्रतिरोपनी एक हजार तीन सय रुपैयाँ, चारदेखि पाँच रोपनीसम्म प्रतिरोपनी एक हजार रुपैयाँ, ६ देखि सात रोपनीसम्मलाई प्रतिरोपनी आठ सय ५० रुपैयाँ, आठदेखि नौ रोपनीसम्मलाई सात सय ५० रुपैयाँ र १० रोपनीभन्दा धेरै खेतमा क्षति पुगेका किसानलाई प्रतिरोपनी ६ सय ७५ रुपैयाँका दरले नगद उपलब्ध गराउने निर्णय भएको छ ।
नगरपालिकाले पीडित किसानलाई समयमै राहत पुर्याउने प्रतिवद्धतासहित कोषमा रकमको व्यवस्थापन गर्दै वडा कार्यालयमार्फत नगद वितरण गरेर किसानलाई सहज रूपमा सेवा दिने जनाएको छ । राहत रकम लिन पीडित किसानलाई एक साताभित्र वडा कार्यालयमा सम्पर्कमा आउन भनिएको छ ।
-रासस
प्रतिक्रिया दिनुहोस