काभ्रेपलाञ्चोक/ पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्ग स्थायी रुपमा निर्माण सुरु गरिएको छ । नेपालको पूर्वी तथा मध्यपहाडी क्षेत्रलाई सङ्घीय राजधानी काठमाडौँसँग जोड्ने छोटो दूरीका रुपमा रहेको उक्त राजमार्गको क्षतिग्रस्त सडकखण्डको तीन स्थानबाट स्थायी पुनःनिर्माण थालिएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ ।
गतसाल असोज दोस्रो साता तथा यस वर्षको गत असोज तेस्रो साताको बाढीपहिरोले उक्त राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक र सिन्धुली खण्डको करिब ३० किलोमिटर सडकमा क्षति पुर्याएको थियो ।
बाढीपहिरोले सडकका विभिन्न खण्ड बगाएपछि गतसालदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको क्षतिग्रस्त राजमार्ग स्थायी रुपमा निर्माण सुरु गरिएको कार्यालयले जनाएको हो ।
क्षतिग्रस्त सडकखण्डमध्ये तीन खण्डको स्थायी पुनःनिर्माणका लागि ठेक्का सम्झौता भई काम अघि बढाइएको कार्यालयका प्रमुख डिभिजनल इञ्जिनियर सुमन योगेशले जानकारी दिनुभयो । उहाँका अनुसार काभ्रेपलाञ्चोकतर्फको क्षतिग्रस्त तीन खण्डको चौकीडाँडा, मङ्गलटार, नार्के गिम्दीलगायत क्षेत्रबाट स्थायी निर्माण कार्य सुरु गरिएको हो ।
ठेक्का लागेका तीन मुख्य खण्डको निर्माण कार्य आगामी दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको कार्यालयले जनाएको छ । अबको पुनःनिर्माणमा राजमार्गको स्तरोन्नति गर्दै दुई लेनको सडक निर्माण गरिने योगेशको भनाइ छ ।
योगेशले भन्नुभयो, ‘पुनःनिर्माण हुने सडकखण्डमा दुई लेनको सडक बन्नेछ । यसभित्र रहेका पुलसँगै अर्को पुल निर्माण गरेर पुललाई समेत दुई लेनको निर्माण गरिनेछ ।’
उहाँका अनुसार पाँच पुललाई दुई लेनमा परिणत गर्न अध्ययन भइरहेको छ । डालाबेंसीदेखि चारसयबेँसीसम्म ८.५ किमी सडक पुनःनिर्माणका लागि खानी-एवन-कमलजीत जेभीले एक अर्ब ४२ करोड ३७ लाख रुपैयाँ (भ्याटसहित)मा निर्माण गर्नेगरी ठेक्का पाएको कार्यालयले जनाएको छ ।
यस्तै, चारसयबेँसीदेखि भकुन्डेबेँसीसम्मको ११.०८ किमी सडक पुनःनिर्माणका लागि लामा-नवकान्तिपुर जेभीलाई एक अर्ब ३३ करोड ५३ लाख रुपैयाँमा ठेक्का दिइएको हो । नेपालथोकदेखि बर्खेखोलासम्म ४.९ किमी सडक पुनर्निर्माणका लागि ६१ करोड रुपैयाँ (भ्याटसहित)मा निर्माण गर्ने गरी खरिढुङ्गा-घिसिङ-क्षितिज जेभीसँग ठेक्का सम्झौता गरिएको जनाइएको छ ।
क्षतिग्रस्त कूल २९.५ किमी सडकमध्ये बर्खेखोलादेखि पिप्लेसम्मको ३.२ किमी सडक भने जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले निर्माण गरिदिने भएको छ । यस लम्बाइको क्षतिग्रस्त सडकको ठेक्का प्रक्रियाको काम भइरहेको योगेशले जानकारी दिनुभयो ।
उहाँका अनुसार यस खण्डको पुनःनिर्माणका लागि जापानले दुई अर्ब ६३ करोड रुपैयाँबराबरको अनुदान उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर भइसकेको छ । कार्यालयले जाइकाले निर्माण गर्ने सडकखण्डबाहेकका अन्य खण्डमा सरकारले गत असोजअघि नै ठेक्का लगाइसकेको जनाएको छ ।
क्षतिग्रस्त सडकखण्डको स्थायी पुनःनिर्माणका लागि दुई वर्षभित्र सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरिएको योगेशले बताउनुभयो । उहाँले भन्नुभयो, ‘निर्धारित समयमै काम सम्पन्न गर्नेगरी मङ्सिरको सुरुआतदेखि नै स्थायी पुनःनिर्माण थालिएको हो ।’
क्षतिग्रस्त खण्ड पुनःनिर्माणका लागि सरकारले आठ अर्ब ५० करोड रुपैयाँ स्रोत सहमति दिइसकेको छ । त्यसमध्ये काभ्रेपलाञ्चोकतर्फका तीन सडकखण्डलाई सात अर्ब ५० करोड रुपैयाँ र सिन्धुलीको एक सडकखण्डलाई एक अर्ब रुपैयाँको स्रोत सहमति दिइएको हो ।
जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३/०५४ बाट बिपी राजमार्ग (धुलिखेल-सिन्धुली-बर्दिवास एक सय ६० किमी सडक) निर्माण कार्य सुरु गरिएको थियो । खण्डखण्ड विभाजन गरी निर्माण सम्पन्न राजमार्गको २०७२ असार १८ गते औपचारिक रुपमा जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो ।
उक्त राजमार्ग केन्द्रीय राजधानी काठमाडौँलाई मध्यपहाडी तथा पूर्वी नेपालसँग जोड्ने छोटो मार्गका रुपमा लिइएको छ ।
–रासस
प्रतिक्रिया दिनुहोस