तनहुँ/ बन्दीपुरमा सात महिनामा २१ हजारभन्दा बढी विदेशी पर्यटकले भ्रमण गरेका छन् । गत वर्षको वैशाखदेखि चालु आर्थिक वर्षको कात्तिकसम्ममा २१ हजार सात सय २५ जना विदेशी पर्यटकले भ्रमण गरेका हुन् ।
पछिल्लो समय ‘पहाडकी रानी’ नामले चिनिएको उक्त स्थानमा घुम्न आउने विदेशी पर्यटकको आकर्षण बढ्दै गएको अस्थायी पर्यटक प्रहरी पोष्टका प्रमुख प्रहरी सहायक निरीक्षक गोविन्द रानाले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘यसरी आउने विदेशी पर्यटकमा चिनियाँ नागरिक अत्याधिक हुने गरेका छन् । सात महिनामा पाँच हजार ५१ जना चिनियाँ पर्यटकले भ्रमण गरेका छन् । त्यसपछि भियतनाम, भारत र स्पेनका पर्यटक रहेका छन् । चिनियाँ पर्यटक बास बस्नेगरी भन्दा घुमफिरका लागि आउने गरेका छन्, बास बस्नका लागि अधिकांश पोखरा र चितवन जाने गर्दछन् ।’
उहाँका अनुसार वैशाखमा तीन हजार दुई सय ९७, जेठमा तीन हजार तीन सय ४२, असारमा दुई हजार सात सय ६६, साउनमा दुई हजार ७५, भदौमा एक हजार आठ सय ३२, असोजमा तीन हजार सात सय ८६ र कात्तिकमा चार हजार ६ सय २७ जनाले भ्रमण गरेका छन् ।
त्यसैगरी, आन्तरिक पर्यटकतर्फ ३२ हजार सात सय ६० जनाले बन्दीपुर भ्रमण गरेका छन् । कात्तिक र मङ्सिरमा भ्रमणका लागि कलेज र विद्यालयबाट विद्यार्थी आउने भएकाले पर्यटकको सङ्ख्या ह्वात्तै बढेको छ ।
२०८१ चैतदेखि २०८२ चैतसम्म १२ हजार नौ सय ३९ जना विदेशी पर्यटकले भ्रमण गरेको तथ्याङ्क छ । बन्दीपुर पर्यटन वर्ष २०२५ मा धेरै पर्यटक भित्र्याउने लक्ष्य रहेको बन्दीपुर गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘यतिबेला बन्दीपुरमा रहेका चारवटा घरबास र ७० होटल भरिभराउ छन्, पर्यटको आवागमन वृद्धिसँगै यहाँका व्यवसायीहरू उत्साहित भएका छन् ।’
–रासस
प्रतिक्रिया दिनुहोस