आज: २०८२ माघ २९, बिहिबार | Thu, 12, Feb, 2026

नेपालमै उत्पादन हुन्छ वर्षको ६ हजार टन मह, ३० हजार टन उत्पादन गर्न सकिने


  • आफ्नै खबर
  • २०८२ मंसिर ११, बिहिबार मा प्रकाशित २ महिना अघि
  • ४ पाठक संख्या
  • चितवन/  नेपाल मौरीपालक महासङ्घले देशभर व्यवसायिक रूपमा पालिएका मेलिफेरा मौरीको सङ्ख्या र मह उत्पादनको तथ्याङ्क सार्वजनिक गरेको छ । महासङ्घका अनुसार हाल दुई हजार एक सय ७५ व्यवसायिक कृषकले एक लाख १५ हजार एक सय ८३ गोला मौरी पाल्दै छन् र वार्षिक चार हजार १९२ टन मह उत्पादन भइरहेको छ ।

    आज भरतपुरमा पत्रकार सम्मेलन गरी महासङ्घले उक्त तथ्याङ्क सार्वजनिक गरेको हो । महासङ्घले हालको बहुराष्ट्रिय कम्पनीलाई कोटा स्वरूप मह आयात गर्न दिने निर्णयको विरोध गर्दै आएको छ ।

    महासङ्घका निवर्तमान अध्यक्ष शिवप्रसाद शर्मा पौडेलका अनुसार कृषि तथा पशुपक्षी मन्त्रालयमा २०८२/०६/२७ गते मन्त्रीको अध्यक्षतामा बसेको बैठकले बहुराष्ट्रिय कम्पनीलाई कोटा स्वरूप मह आयात गर्न दिने निर्णय गरेपछि महासङ्घ अन्तर्गतका कृषक आन्दोलनरत भएका छन् ।

    उहाँले भन्नुभयो, ‘फूल बिरुवाको अवस्थाअनुसार नेपालको क्षमताअनुसार ३० हजार मेट्रिकटन मह उत्पादन गर्न सकिन्छ । तर हाल मेलिफेरा र सेरेनाको मह जोड्दा मात्र ६ हजार मेट्रिकटन उत्पादन हुन्छ । बजारीकरणमा समस्या देखिएकाले कम्तिमा आधा नेपाली मह नेपाली किसानबाट किन्नु पर्नेछ ।’

    उहाँले सरकारलाई मह र मौरी उत्पादनमा उचित अनुदान र व्यवस्थापनको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । लागत बढी भएकाले नेपाली मह महँगो हुँदा, विदेशी मह सस्तो हुनु किसानका लागि चुनौतीपूर्ण रहेको बताउनुभयो । आयातित महको स्रोत र गुणस्तर पनि मापन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

    उक्त अवसरमा महासङ्घका महासचिव सालिकराम बानियाँले सरकारलाई मह र मौरीको तथ्याङ्क उपलब्ध गराइएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘किसानको मह उत्पादन सुरु हुन लागेको अवस्थामा गत वर्षको डाटा प्रस्तुत गरिएको हो । यो वर्ष उत्पादन अझ बढ्ने अनुमान गरेका छौँ ।’

    क्षेत्रगत उत्पादनको विवरणअनुसार, चितवनमा तीन सय १८ कृषकले २६ हजार सात सय ५० गोला मौरीबाट एक हजार ७० टन मह उत्पादन गर्ने छन् भने दाङमा तीन सय ५० कृषकले २६ हजार गोला मौरीबाट एक हजार ४० टन मह उत्पादन गर्ने अनुमान छ ।

    मोरङमा तीन सय कृषकले ६ हजार पाँच सय गोला मौरीबाट दुई सय २६ टन, झापामा पाँच सय कृषकले आठ हजार गोला मौरीबाट २८० टन मह उत्पादन गर्ने अनुमान गरिएको छ । अन्य मह उत्पादन हुने जिल्लामा प्युठान, सर्लाही, मकवानपुर, कपिलवस्तुलगायतका क्षेत्र पर्दछन् ।

    देशका ३० भन्दा बढी जिल्लामा व्यवसायिक मौरीपालन हुँदै आएको र १० गोलाभन्दा माथि मौरी पाल्ने कृषक मात्र महासङ्घमा दर्ता भएको छन् । तर १० गोलाभन्दा कम मौरी पाल्ने कृषक धेरै छन् ।

    साथै, रैथाने सेरेना र अन्य मौरीको तथ्याङ्क पनि निकट भविष्यमा सङ्कलन गरी सार्वजनिक गरिने योजना रहेको महासङ्घले जनाएको छ । 
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु