१  २०८२ बिहिबार | 15 Jan 2026 Thu

तरकारीखेतीबाटै वर्षको १० लाख बचत



  • आफ्नै खबर
  • ११  २०८२ बिहिबार (२ महिना अघि)
  • पाठक संख्या २८१
  • सर्लाही/  लालबन्दीलगायत चुरे क्षेत्र तरकारी उत्पादनको उर्वर भूमिका रूपमा परिचित छ । यहाँ उत्पादन भएका तरकारी हरेक दिन काठमाडौँ, चितवन, हेटौँडा, विराटनगरलगायत देशका प्रमुख सहरहरूसम्म पुग्छन् । उत्पादनले सजिलै बजार पाएपछि व्यावसायिक तरकारीखेती गर्ने किसानहरूसमेत बढिरहेका छन् । 

    जिल्लाको लालबन्दी, हरिवन, बाग्मती, ईश्वरपुर, हरिपुर, चन्द्रनगर, बरहथवालगायत पालिकामा ठूलो क्षेत्रफलमा, आलु, गोलभेँडा, बोडी, भिन्डी, भान्टा, काउली, बन्दा, खोर्सानी, परबरलगायत तरकारी उत्पादन हुँदै आएको छ । यसले किसानहरूको आयआर्जनमा समेत ठूलो टेवा पुगेको छ । 

    लालबन्दी नगरपालिका-१०, हिरापुरका तरकारी किसान सीयाशरण महतो व्यावसायिक तरकारीखेतीबाट मनग्य आम्दानी गर्ने अवस्था रहेको बताउनुहुन्छ । उमेरले ३५ लाग्नुभएका महतोले २० वर्षको उमेरदेखि नै व्यावसायिक तरकारीखेतीमा लागेदेखि कहिल्यै पछाडि फर्केर हेर्नु नपरेको सुनाउनुभयो ।

    बुबा हजुरबुबाबाट तरकारीखेती गर्न सिकेका महतोले आधुनिक खेती प्रणाली भने आफैँले ६ महिने कृषि ‘जेटिए’ कोर्ष गरेपछि सिक्नुभएको हो । उहाँले मौसमीभन्दा बढी बेमौसमी तरकारीखेती गर्दै आएको र यसले मौसमी खेतीभन्दा १० गुणासम्म बढी आम्दानी हुने सुनाउनुभयो । 

    महतोले भन्नुभयो, ‘हाल चार बिगाहा खेतमा तरकारीखेती गरिरहेको छु । त्यसमध्ये २५ कट्ठामा गोलभेँडा, सात कट्ठामा हरियो सिमी र आठ कट्ठामा भिन्डी लगाएको छु । यस सिजनको अन्तिममा निस्कने गरी १४ कट्ठा खेतमा कविता जातको टमाटर रोप्ने योजनासहित बेर्ना उत्पादन गरिरहेको छु ।’ 

    सुरुमा पढाइपछिको फुर्सदको समयमा बुबाआमालाई खेतीमा सघाउने गर्दागर्दै तरकारीखेती गर्न सिकेको उहाँले सुनाउनुभयो ।

    ‘पहिला बाउबाजेले गरेको देखेरै सिकेको हो’, उहाँले भन्नुभयो, ‘पढाइबाट फुर्सद हुने बित्तिकै आमाबुबाले खेतमा काम लगाउनु हुन्थ्यो । पछि बुबाले एउटा छोराले कम्तीमा जेटिए पढे हुन्थ्यो भन्ने धारणा राख्नुभयो । आफूलाई पनि खेतिपातीतिर लगाव बढ्यो यतै लागियो । परिवारसँगै बसेर तरकारी बेचेर विदेशको भन्दा राम्रो आम्दानी भइरहेको छ ।’

    महतोले तरकारीखेतीबाट भएको आम्दानीबाट दुई वर्ष पहिला मात्र पाँच कट्ठा खेत जोडेको सुनाउनुभयो ।

    ‘तरकारीखेती मेरो एक मात्र आय आर्जनको माध्यम हो । यसैबाट मैले पाँच कट्ठा खेत जोडेको छु । तरकारी बेचेर महिनाको दुई लाख रुपैयाँसम्म आम्दानी गरेको अनुभव छ’, उहाँले भन्नुभयो, ‘गत वर्ष ‘अफ सिजन’ मा सिमी निकालेँ । दुईदेखि तीन हप्तामा ६०/७० हजार रुपैयाँसम्म भयो । सबै तरकारी बेच्दा महिनाको दुई लाख रुपैयाँसम्म आम्दानी भयो ।’ 

    तरकारी खेतीबाट आफूले वर्षभरिमा मलखाद, बीउबिजन, औषधि, मजदुरी, ढुवानी खर्च सबै कटाएर १० लाख रुपैयाँसम्म बचत गर्ने गरेको महतोका भनाइ छ । यसमा श्रीमतीले राम्रो सहयोग गरिरहेको उहाँले बताउनुभयो ।

    मौसम र मूल्य सधैँ एकनास नरहने भएकाले आम्दानी तलमाथि भइरहने बताउने महतोले यसै कमाईबाट एक छोरा र एक छोरीलाई राम्रो शिक्षा दिनुका साथै परिवारको लालनपालन भइरहेको उल्लेख गर्नुभयो । 

    राष्ट्रिय कृषि गणना २०७८ अनुसार सर्लाहीमा १७ हजार ६ सय ६२ परिवारले तीन हजार आठ सय ४३ हेक्टर क्षेत्रफलमा विभिन्न तरकारी खेती गर्दै आएका छन् । यहाँ उत्पादन भएका तरकारी जिल्लाको लालबन्दीस्थित थोक तरकारी तथा कृषिउपज सङ्कलन केन्द्रमा जम्मा गरेर देशका अन्य सहरमा निर्यात हुँदै आएको छ ।

    –रासस