सुनसरी/ सङ्खुवासभामा जन्मेर हिमाली भेगको चिसो हावापानी र भिरालो डाँडाकाँडामा हुर्किनुभएकी आचुङ्मा भोटे विगत १६ वर्षदेखि तराई झरेर जडीबुटी व्यवसाय गर्दै आउनुभएको छ ।
इटहरी उपमहानगरपालिका-६ टेङ्ग्रा खोला नजिकै हटियालाइनमा खुला आकाश मुनि विभिन्न प्रकारका जडीबुटी बिक्री गर्दै उहाँले राम्रो आम्दानी गर्दै आउनुभएको छ ।
भोटेका अनुसार जडीबुटी व्यवसाय उहाँहरूको पुर्खौली पेसा नै हो । जिजुबाजेदेखि बुबाआमासम्मकै पुस्ताले जडीबुटी सङ्कलन तथा बिक्री गर्दै आएको परम्परालाई निरन्तरता दिइरहेको उहाँले बताउनुभयो ।
भोटेले भन्नुभयो, ‘पहाडमा पहिला अस्पताल र सडक सुविधा नहुँदा बिरामी पर्दा हामीले यही जडीबुटी प्रयोग गर्ने गरेका थियौँ । यही ज्ञानलाई निरन्तरता दिँदै तराई झरेर यही व्यवसाय सुरु गरेकी हुँ ।’
पहिला हिउँद सुरु भएपछि लेकाली क्षेत्रमा पाइने जडीबुटी बुबाआमाले कुम्लोमै बोकेर महिनौ दिन हाटबजारमा बिक्री गर्दै तराई झर्नुहुन्थ्यो । अहिले भने सडक यातायातको पहुँच पुगेसँगै गाउँमै पनि व्यापार गर्न सहज भएको छ ।
सुरुमा शहरको बसाइ र गर्मीको मौसम निकै गाह्रो भए पनि विस्तारै बानी पर्दै गएपछि व्यवसाय वृद्धि हुदै गएको उहाँको भनाइ छ । अहिले दैनिक ६ हजारदेखि १० हजार रुपैयाँसम्म आम्दानी हुने गरेको छ । आइतबार हटियाको दिन भने १५ हजारदेखि २० हजार रुपैयाँसम्म आम्दानी हुने गरेको भोटेले जानकारी दिनुभयो ।
भोटेको पसलमा हाल एक सय भन्दाबढी जडीबुटी बिक्रीका लागि राखिएका छन् । ५ रुपैयाँदेखि २० हजार रुपैयाँसम्मका जडीबुटी बिक्रीका लागि उपलब्ध छन् । रक्सी बनाउन प्रयोग हुने मर्चादेखि धार्मिक तथा सांस्कृतिक प्रयोजनका सामग्रीसम्म बिक्रीमा छन् । किरात समुदायले साकेला पर्वमा प्रयोग गर्ने चौरीको पुच्छरसमेत उहाँले बिक्रीका लागि राख्नुभएको छ ।
भोटेले शिलाजित, पदमचाल, सुगन्धवाल, टिमुर, हिँग, केसर, बतिसा, जेठीमधु, यार्सागुम्बासहित विभिन्न प्रकारका जडीबुटी बिक्री गर्दै आउनुभएको छ ।
उहाँले भन्नुभयो, ‘अहिलेसम्म कुनै पनि ग्राहकबाट नकारात्मक प्रतिक्रिया आएको छैन । ग्राहक एकपटक सामान किनेर गएपछि अर्को पटक पक्कै फर्केर आउँछन् । यही मेरो सफलताको आधार हो । अहिले काठमाडौँ, विराटनगर, वीरगञ्ज, मोरङ, झापालगायत स्थानबाट फोनमार्फत धेरै अर्डर आउने गरेको छ ।’
सोही ठाउँमा जडीबुटी व्यवसाय सञ्चालन गर्दै आउनु भएकी पासाङ् ल्हामु भोटियाले पनि १५ वर्षदेखि यही पेशालाई आत्मनिर्भरताको आधार बनाउँदै आएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘घरखर्चदेखि बालबच्चाको पढाइलेखाइसम्म सबै खर्च यही व्यवसायबाट धानिँदै आएको छ । जडिबुटी व्यवसायबाट राम्रो भएको छ । मेरो आम्दानीको श्रोत नै यही हो ।’
भोटियाले भन्नुभयो, ‘लेकमा जन्मेर तराई झरेको पहाडी भेगको चिसो हावापानीसँग खेलेर हुर्केको । सुरुमा गर्मी ठाउँमा झरेर व्यापार गर्दा निक्कै गाह्रो भएको थियो । अहिले भने घाम सहन बानी परिसक्यो व्यापारमा पनि सहज भएको छ । जडिबुटी भनेको हाम्रो पुर्खौली पेसा नै हो ।’
अन्य पेसामा ज्ञान नभएका कारणले पुर्खौली पेसा जडीबुटी व्यवसाय नै रोजेको उहाँले बताउनुभयो । बिक्रीका लागि जडिबुटी, सङ्खुवासभा, भोटखोला, साथै नेपालका विभिन्न ठाउँ र भारतबाट जडीबुटी आउने गरेको भोटियाले बताउनुभयो ।
सङ्खुवासभाको चेपुवा, हटिया, भोटखोला, होङ्गोङ, गोलालगायत हिमाली क्षेत्रका शेर्पा तथा भोटे समुदायमा आज पनि जडीबुटी सङ्कलन तथा बिक्री परम्परागत पेसाका रूपमा चलिआएको छ ।
–रासस
प्रतिक्रिया दिनुहोस