आज: २०८२ चैत्र १७, मंगलबार | Tue, 31, Mar, 2026

‘मधेशको हिलस्टेशन’ बन्दै भालटार डाँडा 


  • आफ्नै खबर
  • २०८२ मंसिर १५, सोमबार ४ महिना अघि
  • ३१ पाठक संख्या
  • सिरहा/  पूर्व-पश्चिम राजमार्गअन्तर्गत धनगढीमाईको जिरोमाइलबाट करिब १० किलोमिटर उत्तरमा अवस्थित भालटारडाँडा पछिल्लो समय आन्तरिक पर्यटकको नयाँ गन्तव्यका रूपमा विकास भएको छ । प्राकृतिक दृश्य, स्वच्छ र शान्त वातावरण, सहज पहुँच, फोटो खिच्नका लागि मनमोहक स्पट र नयाँ-नयाँ संरचनाले गर्दा भालटारडाँडा दिनानुदिन पर्यटकले भरिन थालेको छ ।

    धनगढीमाई-१३ को सेल्फीडाँडाको रूपमासमेत परिचित यो भूगोलमा करिब ६ महिनाअघि सडक पिच भएर सहज पहुँच बनेपछि यहाँको पर्यटन चहलपहल ह्वात्तै बढेको स्थानीयवासी बताउँछन् । सडक विस्तारले केवल पर्यटकको आगमन मात्र बढाएको छैन, यसले स्थानीय कृषि उत्पादनलाई धनगढीमाई बजारसम्म सजिलै पुर्याउन पनि महत्त्वपूर्ण भूमिका खेलेको छ । 

    हाल उक्त सडक वडा नं. १४ को सर्रे-अम्बाससम्म विस्तार भइसकेको छ, जसले पहाडी बस्तीलाई बजारसँग थप मजबुत रूपमा जोडेको छ । भालटारडाँडामा पुग्ने जो-कसैलाई यहाँको हरियाली, चुरे आसपासका पहाडी बस्ती, चिसो हावा र शान्त वातावरणले मोहित बनाउने गर्दछ ।

    परिवारसहित पिकनिक मनाउन, साथीभाइसँग रमाइलो गर्न, हाइकिङ गर्न तथा मनको थकान मेट्न यहाँ आउनेहरूको सङ्ख्या पछिल्लो समय उल्लेखनीय रूपमा बढेको छ । पर्यटक आगमनसँगै भालटारमा होटल-रेस्टुराँको सङ्ख्या पनि बढ्दै गएको छ ।

    भालटारस्थित भ्यू होटलका सञ्चालक रोशन राई भन्नुहुन्छ, ‘विगत आठ वर्षदेखि होटल सञ्चालन गरे पनि पहिला खासै मानिस आउँदैनथे । तर पछिल्लो समय पूर्वाधारको विकाससँगै मानिसको उल्लेख्य आगमन हुन थालेको छ । छिमेकी देश भारतबाट समेत पर्यटक आउने गरेका छन् ।’

    राईका अनुसार, धेरै पर्यटकले पहिले नै फोन गरेर अर्डर गर्छन् । कोही हिँड्दै–हिँड्दै नै आउने गर्छन् । उहाँ थप्नुहुन्छ, ‘यहाँ लोकल कुखुराको स्वाद चाख्नकै लागि विशेष पर्यटक आउँछन् । रमाइलो वातावरणमा फ्रेश फिल गर्न आउनेको सङ्ख्या दिनानुदिन बढ्दो छ ।’

    होटल व्यवसायीको भनाइमा सडक राम्रो भएपछि दैनिक रूपमा आउने पर्यटकको सङ्ख्या दोब्बर भएको छ । धनगढीमाई नगरपालिका र स्थानीय समुदायले भालटार डाँडालाई व्यवस्थित पर्यटन क्षेत्र बनाउने प्रयासलाई तीव्रता दिइरहेका छन् ।

    वडा नं. १३ का वडाध्यक्ष सूर्यमान तामाङले भन्नुभयो, ‘भालटार डाँडामा पछिल्ला वर्षमा पर्यटकको आकर्षण असाध्यै बढेको छ । त्यसैले हामीले यस क्षेत्रलाई व्यवस्थित पर्यटन गन्तव्य बनाउने लक्ष्यका साथ प्रचारप्रसारदेखि भ्यू-प्वाइन्ट पहिचान, सफाइ अभियान र आवश्यक पूर्वाधार निर्माणका कामलाई प्राथमिकतामा राखेका छौँ ।’

    नजिकै धनगढीमाई चोकमा पनि उक्त क्षेत्रको पर्यटन सम्भावनालाई मुख्य केन्द्र बनाउँदै व्यवसाय र यातायात सेवा विस्तार भइरहेको उहाँले जानकारी दिनुभयो । 

    सुन्दर भू-आकृति, बढ्दो होटल व्यवसाय, सहज यातायात र बढ्दो आन्तरिक तथा बाह्य पर्यटक आगमनका कारण भालटारडाँडामा ‘मिनी-हिलस्टेशन’ बन्ने सम्भावना अत्यन्त प्रबल देखिएको स्थानीय युवा वीरेन्द्र चौधरीको भनाइ छ ।

    मधेशमै यस्तो रमणीय पहाडी दृश्य पाउन सकिने थोरै ठाउँमध्ये भालटार एक भएकाले स्थानीय तहले यसको प्रवर्द्धन गरी स्थानीयको रोजगारीसँग जोड्न सक्नुपर्ने उहाँले बताउनुभयो ।

    –रासस
     

     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु