आज: २०८२ माघ २९, बिहिबार | Thu, 12, Feb, 2026

बढ्दो छ कृषिमा यान्त्रिकीकरण


  • आफ्नै खबर
  • २०८२ मंसिर १५, सोमबार मा प्रकाशित २ महिना अघि
  • ४ पाठक संख्या
  • गोरखा/  केही वर्षदेखि यहाँका किसानहरु यान्त्रिकरणतर्फ आकर्षित भएका छन् । गाउँ-बस्तीका किसानहरूले खेती गर्न ट्रयाक्टर तथा थ्रेसर प्रयोग गर्न थालेका छन् ।

    उत्तरी गोरखाको हिमाली भेगमा पनि गहुँ, जौ, करु, फापर काट्न मेसिनकै प्रयोग गर्ने प्रचलन बढिरहेको किसानहरू बताउँछन् । तल्लो भेगको टार तथा फाँटहरूमा थ्रेसरको प्रयोग बढ्न थालेपछि दयँरे र गोरुको प्रयोग गरेर परम्परागत दाइँ गर्ने चलन प्रायः हटिसकेको स्थानीयवासीको भनाइ छ ।

    परम्परागत दाइँ गर्न युवा जनशक्तिको अभाव रहेकाले थ्रेसरको लोकप्रियता बढिरहेको पालुङ्टार-९ का महेन्द्र श्रेष्ठ बताउनुहुन्छ । उहाँका अनुसार युवा जनशक्ति विदेशिएपछि मेसिनले गर्ने दाइँमा दयँरे महिला हुने गरेका छन् ।

    ‘एक महिनायता हाम्रो फाँटमा मात्र सात वटा मेसिनलाई भ्याइनभ्याइ छ । एकै दिनमा एउटा मेसिनले चार, पाँच जनाको दाइँ गर्दा अझै माग धान्न गाह्रो छ’, उहाँले भन्नुभयो, ‘पुरुषहरु त गाउँमा कमै छन् । त्यसैले घान हाल्ने र खन्याउने ठाउँमाचाहिँ पुरुष हुन्छन् । अरु काममा प्रायः महिला हुन्छन् ।’

    हिमालपारिको चुम उपत्यकामा समेत तिब्बतबाट उपकरण ल्याएर फापर, गहुँ, जौ काट्ने गरेको चुमनुब्री गाउँपालिका-७ छेकम्पारका पूर्ववडाध्यक्ष पासाङ फुञ्जो लामा बताउनुहुन्छ । विगत पाँच वर्षदेखि मेसिनको प्रयोग गरेर बारी जोत्ने, बाली काट्ने, कुट्ने गर्न थालेको उहाँको भनाइ छ ।

    कृषि ज्ञान केन्द्रको तथ्याङ्कले कृषिमा यान्त्रिकीकरण वृद्धि भइरहेको देखाउँछ । हाल गोरखामा ७० प्रतिशत दाइँ सकिएको छ । जसमध्ये प्रायः तल्लो भेगको समथर फाँटहरूमा थ्रेसरको प्रयोग भएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी सुमन भट्टराई बताउनुहुन्छ । 

    कृषिमा यान्त्रिकीकरणबाट करिब १५ प्रतिशत लागत (खर्च) कम हुने सूचना अधिकारी भट्टराईको भनाइ छ । उहाँका अनुसार कम खर्च र सजिलोका लागि कृषिमा यान्त्रिकरणको परम्परा बढेको हो ।

    –रासस
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु