आज: २०८२ माघ २९, बिहिबार | Thu, 12, Feb, 2026

तालतलैयाले तान्दैछ पर्यटक


  • आफ्नै खबर
  • २०८२ मंसिर १६, मंगलबार मा प्रकाशित २ महिना अघि
  • ४ पाठक संख्या
  • सुनसरी/  इटहरी उपमहानगरपालिका-२ र ३ मा रहेको तालतलैया अहिले पर्यटकको आकर्षण केन्द्रका रूपमा विस्तार हुँदै गएको छ । करिब २१.५ हेक्टर क्षेत्रफलमा फैलिएको तालतलैया विशेषगरी वनभोज स्थलका रूपमा लोकप्रिय बनेको हो ।

    मुख्य वनभोजको मौसममा दैनिक १२ देखि १५ हजार आन्तरिक तथा बाह्य पर्यटक तालतलैया आउने गरेका तालतलैया व्यवस्थापन समितिका अध्यक्ष गङ्गाबहादुर रायमाझीले जानकारी दिनुभयो । उहाँका अनुसार दिनमा पाँच सय जनाभन्दा बढी पर्यटक घुमघामका लागि आउने गरेका छन् ।

    वनभोजका लागि यहाँ एकैपटकमा ७० भन्दाबढी समूहले वनभोज खानसक्ने क्षमता रहेकाले वनभोजमा आउनेले दुई-चार दिन अगाडि बुकिङ गराउनुपर्ने उहाँले बताउनुभयो ।

    पर्यटकको आकर्षणलाई ध्यानमा राखी तालतलैया परिसरभित्र ६ वटा पोखरी निर्माण गरिएको छ । साथै, पर्यटकको थप सुविधाका लागि दुई वटा मोटरबोट सञ्चालनमा ल्याइएको व्यवस्थापन समितिले जनाएको छ ।

    मङ्सिरदेखि माघसम्म पर्यटकको चाप अत्यधिक हुने गरेको अध्यक्ष रायमाझीले बताउनुभयो । उहाँका अनुसार करिब ४० प्रतिशत पर्यटक भारतका विभिन्न सहर तथा सिरहा, सप्तरी क्षेत्रबाट आउने गरेका छन् ।

    उहाँले भन्नुभयो, ‘यहाँ आउने पर्यटकका लागि अर्को आकर्षण चिडियाखाना हो, जहाँ दुम्सी, मयुर, गिद्ध, चित्तल, हाँस, घोडा, बाँदरलगायत विभिन्न वन्यजन्तु छन् । यिनै अवलोकन गर्न पर्यटकको सङ्ख्या यो समयमा बढ्दो छ ।’

    आर्थिक वर्ष २०८१/८२ मा सहरी विकास मन्त्रालयबाट विनियोजन भएको ८५ लाख रुपैयाँ बजेटले तालतलैयाभित्र पर्यटकीय संरचना थप निर्माण गरिएको अध्यक्ष रायमाझीले जानकारी दिनुभयो । उक्त बजेटबाट शौचालय, चिडियाखानाका थप संरचना, तथा अन्य पर्यटकमैत्री सुविधा निर्माण गरिएको छ ।

    तालतलैयाभित्र नर्सरी, वाटरफाउन्टेन, बालबालिकाका लागि चिल्ड्रेन पार्क निर्माण गरिएको जनाउँदै उहाँले स्कुल बिदाका समयमा अभिभावकले बालबालिकालाई खेलाउन ल्याउनेको सङ्ख्या उल्लेख्य रहेको बताउनुभयो । 

    स्थानीय व्यापारी चन्द्रकला श्रेष्ठले भन्नुभयो, ‘घर नजिकै पर्यटकीयस्थल रहेकाले साना व्यापारीलाई ठूलो फाइदा पुगेको छ ।’ दैनिक रूपमा पाँच सयसम्म आन्तरिक तथा बाह्य पर्यटक आउने गरेकाले चटपटे, मःम, चाउमिनलगायत परिकार बढी बिक्री हुने भन्दै उहाँले व्यापार वृद्धि हुँदा आयस्तर सुधार भएको बताउनुभयो । 

    मोरङको कानेपोखरीबाट साथीसहित घुम्न आउनुभएका निरोज थापाले तालतलैया छुट्टीको उपयुक्त गन्तव्य भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यहाँ फराकिलो खुला क्षेत्र, बोटिङ, आकर्षक फोटो स्पट, संरचना र फूलबारी भएकाले हामी छुट्टीको समयमा प्रायः यहाँ घुम्न आउने गर्छौं ।’

    पूर्वक्षेत्रका प्रमुख मनोरञ्जन र वनभोज गन्तव्यमध्ये एकका रूपमा विकसित हुँदै गएको तालतलैयाले स्थानीय पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याइरहेको छ । यहाँ रहेका विभिन्न संरचनाको जीर्णोद्धार, जनावरको बासस्थान संरक्षण र पर्यटकीय पूर्वाधार निर्माण तथा प्रवर्द्धनका लागि प्रदेश र सङ्घीय सरकारबाट सहयोग प्राप्त भइरहेको अध्यक्ष रायमाझीले बताउनुभयो ।

    तालतलैयाभित्र अहिले घुम्न आउने पर्यटक विश्राम गर्न दर्जनौँ चौतारा, बगैँचा साथै अवलोकनका लागि विभिन्न प्रकारका मूर्तिसमेत सरकारी सहयोगमा निर्माण गरिएको कार्यसमितिले जनाएको छ ।

    –रासस
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु