गोरखा/ उँधौली लागेसँगै लेकका गोठ उँधो अर्थात् बेँसीतर्फ झार्न सुरु गरेका छन् । जिल्लामा सबैभन्दा बढी भेडा पालन हुने चुमनुब्री गाउँपालिका-३ का २५ हजार भेडाबाख्रा बेँसी झारिएको वडासदस्य विकास गुरुङले जानकारी दिनुभयो ।
चुमनुब्री-३ साविक सिर्दीबास गाविसको पाङसिङ जिल्लाको सबैभन्दा बढी भेडा पालन हुने गाउँ हो । यहाँबाट दैनिक जगत हुँदै लावालस्कर लागेर भेडा गोरखा, धादिङ, लमजुङका बेँसीतिर लैजान थालिएको स्थानीय स्वास्थ्यकर्मी लक्ष्मण कार्कीले बताउनुभयो ।
‘बुधवार मात्रै तीन सयजति भेडा तल झारेका थिए । आज तीन जना गोठालाका तीन सय ४० वटा भेडा एकैपटक लावालस्कर लाएर झारिरहेका छन्’, उहाँले भन्नुभयो, ‘गोठालाहरू कुकुरसहित टोली बनाएर हिँड्छन् । बाटोबाटो भेडा बेच्दै गुजारा चलाउँदै वैशाख लागेपछि नबिकेका भेडाको बथान लिएर गाउँ फर्कन्छन् ।’
पाङसिङका एक सय ५० घरधुरीमध्ये करिब ७० घरका किसानले भेडाबाख्रा पालन गरेका वडासदस्य गुरुङले जानकारी दिनुभयो ।
‘भेडाबाख्रा लेकको गोठबाट पाङसिङ गाउँमा झार्न थालेको एक महिना भयो । अहिले पाङसिङबाट तल झार्न थालिएको छ’, उहाँले भन्नुभयो, ‘यहाँबाट खोर्ला, सिङ्ला, लाप्राक, बारपाक, दूधपोखरी हुँदै लमजुङतिर झारिन्छ । कोही गोठालाले आर्खेत, आरुघाट, मान्बु हुँदै धादिङसम्म झार्ने चलन छ ।’
भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्रका अनुसार चुमनुब्रीमा १६ हजार पाँच सय भेडा र आठ हजार पाँच सय बाख्रापालन गरिन्छ । त्यस्तै ६ हजार पाँच सय याक तथा चौरी पालन हुँदै आएको केन्द्रका प्रमुख अनन्त कोइरालाले जानकारी दिनुभयो । लेकबाट बेँसी झार्ने पनि मौलिक परम्परा छ ।
‘लेकको गोठबाट बेँसी झार्ने बेला राम्रो बार हेरेर सुरु गरिन्छ । लेकको गोठबाट पनि एकै दिनमा बेँसी झार्दैनन् । हावापानीसँग घुलमिल गराउँदै एक महिना लगाएर गाउँसम्म ल्याइपुर्याउँछन्’, पाङसिङका विकास गुरुङले भन्नुभयो, ‘गाउँमा झारिसकेपछि यहाँबाट अन्यत्र लैजान चाँहि विधिपूर्वक पूजाआजा गरी साइत गर्ने चलन छ ।’
अहिले धमाधम गाउँबाट जगत, तातोपानी, खोर्ला, माछाखोला, आरुघाटतिर भेँडा लैजान थालिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले बेँसी झारिएका भेडाबाख्रा आगामी जेठ दोस्रो साता उभौली लागेपछि लेकको गोठतिर पुर्याउन थालिन्छ ।’
‘शरीरमा बाक्लो रौँ हुने भएकाले याक चाँहि लेकमा छोड्छन् । पातलो रौँ हुने भएकाले चौँरी मात्र बेँसी झार्ने चलन छ’, चुमनुब्री-७ का वडाध्यक्ष टाँसी दोर्जे लामाले भन्नुभयो, ‘बेँसी झार्दा पनि र पछि जेठको दोस्रो सातातिर लेक लैजाँदा पनि लामाले साइत हेरेर विधि पुर्याएपछि लैजाने चलन छ ।’
गोठालालाई प्रोत्साहन
भेडाबाख्रा पालन गर्ने किसान बढी भएकाले चुमनुब्री-३ मा गोठालालाई प्रोत्साहन कार्यक्रम लागू गरिएको छ ।
‘गोठालालाई प्रोत्साहन गर्न गोठमा जाने बाटो मर्मत, खानेपानीको व्यवस्था, बस्न त्रिपाल, सोलार बत्ती, गमबुट, स्लिपिङ ब्याग वितरण गरेका छौँ’, चुमनुब्री-३ का वडाध्यक्ष रामकुमार गुरुङले भन्नुभयो, ‘गाउँपालिकाको ८० प्रतिशत र गोठालाको २० प्रतिशत लागत साझेदारीमा यो कार्यक्रम बर्सेनि गर्ने गर्छौँ ।’
पालिकाले किसानलाई प्रोत्साहन दिन कार्यक्रम सञ्चालन गरे पनि बर्सेनि भेडाबाख्रा पालन गर्ने किसानको सङ्ख्या घटिरहेको उहाँको भनाइ छ ।
–रासस
प्रतिक्रिया दिनुहोस