२२ मंसिर २०८२ सोमबार | 08 Dec 2025 Mon

व्यवस्थित कृषि सडकको मागसहित ‘जुनार महोत्सव’

एक जना कृषक परिवारले वार्षिक रूपमा पाँच लाख देखि ३० लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् । त्यस्ता किसानले जुनार बेचेरै काठमाडौँमा घर बनाएका मात्र होइन, ठूलो रकम लगानी गरी सन्ततिलाई डाक्टर र इञ्जिनियरिङ पढाउने सफलता मिलेको छ ।



  • नारायण न्यौपाने
  •     (४ दिन अघि)
  • पाठक संख्या १४७
  • सिन्धुली/   गोलन्जोर गाउँपालिकाको महाभारत क्षेत्र अहिले जुनार/सुन्तलाले पहेँलपुर भएको छ । किसानले जुनार र सुन्तलालाई मुख्य बालीका रूपमा बढाएपछि त्यस क्षेत्रका बगैँचामा अहिले लटरम्म जुनार/सुन्तला फलेका छन् ।

    परम्परागत बाली धान, मकै, कोदो, गहुँ र आलुको तुलनामा १० गुणा बढिसम्म आम्दानी भएपछि जुनार खेती सबै किसानको रोजाइमा परेको छ । किसानको उत्पादनको प्रचारप्रसार र विश्व बजारसम्म पहुँच विस्तार गर्न स्थानीय सरकारले पछिल्ला वर्ष ‘जुनार महोत्सव’ गर्दै आएका छन् ।

    यसवर्ष पनि जिल्लाको पहिचान र गोलन्जोर को गौरवका रूपमा रहेको जुनारको प्रचारप्रसार तथा व्यवस्थित कृषि सडकको आवश्यकताबारे प्रदेश र केन्द्र सरकारलाई ध्यानाकर्षण गराउन यही मङ्सिर २३ देखि २५ सम्म गोलन्जोर गाउँपालिका-४ तीनकन्या माझकुभिण्डेमा महोत्सव गर्न लागिएको छ ।

    गोलन्जोर गाउँपालिकाका अध्यक्ष शङ्करराज बरालले सिन्धुलीको पहिचानका रूपमा रहेको जुनारखेती अहिले गोलन्जोरको गौरव बनिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘जुनारको प्रवर्द्धन, क्षेत्रविस्तार, बजारीकरण, गुणस्तर तथा देश विदेशमा प्रचारप्रसार पुर्याउने यस वर्षको महोत्सवको उद्देश्य हो ।’

    जुनार उत्पादन क्षेत्रमा व्यवस्थित सडक नहुँदा बजारसम्म लैजाने क्रममा छिट्टै कुहिएर नष्ट हुने किसानको भनाइ छ । गोलन्जोर क्षेत्रलाई सरकारले जुनार खेतीको ‘सुपर जोन’ घोषणा गरिसकेको छ । सरकारी आँकडा अनुसार यहाँबाट गत आर्थिक वर्ष २०८१/८२ मा करिब ३४ करोड रुपैयाँको जुनार बिक्री भएको छ ।

    किसानले आफ्नै घर आँगनको बगैँचामा प्रतिकिलो ५० देखि ६० रुपैयाँसम्ममा बिक्री गर्दै आएको जुनार बजारमा प्रतिकिलो ८० देखि एक सय रुपैयाँमा उपभोक्ताले खरिद गर्दै आएका छन् ।

    गोलन्जोर गाउँपालिकाको कृषि विकास शाखा कार्यालयका प्रमुख चन्द्रकान्त चौधरीले भन्नुभयो, ‘पालिकको तथ्याङ्कअनुसार अघिल्लो आर्थिक वर्षमा यस पालिकाबाट ३४ करोड २० लाख रुपैयाँ बराबरको जुनार बिक्री भएको छ । जिल्लाबाट समग्रमा ३६ करोड ६४ लाख रुपैयाँको कारोबार देखिन्छ । जिल्लामा जुनार उत्पादनको सम्भावना बढी छ, त्यसैअनुसार क्षेत्र विस्तारको काम पनि भइरहेको छ ।’

    जिल्ला जुनार सहकारी सङ्घले भने सरकारी तथ्याङ्कभन्दा दोब्बर अर्थात् करिब ७५ करोड रुपैयाँबराबरको वार्षिक कारोबार हुने जनाएको छ । सिन्धुलीमा जुनारखेती पहिलेदेखि हुँदै आएको छ । जिल्लाभरमा एक हजार एक सय हेक्टरमा जुनारखेती गरिन्छ ।

    व्यावसायिक जुनारखेती सात सय ५० हेक्टर क्षेत्रफलमा छ । हावापानीका हिसाबले गोलन्जोरका सात वटै वडामा जुनार उत्पादन हुन्छ । गोलन्जोरमा मात्र एक हजार हेक्टरमा जुनारखेती भइरहेको छ ।

    बजारीकरणको समस्या छ । किसानले कम मूल्य पाउने तथा उपभोक्ताले बढी पैसा तिरेर खानुपर्ने समस्या पनि उत्तिकै छ । ठूला व्यावसायिक बगैँचा भएका किसानले सिधै बगैँचाबाट सजिलै बेच्न सकिने हुँदा एकमुष्ट पैसा प्राप्त भएपछि किसान खुसी छन् ।

    निरन्तर देखिँदै आएका रोगकिराको सङ्क्रमण, विभिन्न रोग नियन्त्रण र बजार लैजाने पहुँच मार्ग कालोपत्र किसानको पहिलो सर्त छ । त्यस क्षेत्रमा व्यवस्थित सडक भएको खण्डमा कृषि पर्यटन विकास र विस्तारको ठूलो सम्भावना छ ।

    सिन्धुलीमा उत्पादित जुनार काठमाडौँ, पोखरा, हेटौँडा, जनकपुर, सिरहा, पाँचथर, नारायणगढ, विराटनगर, झापा मात्र नभई सीमा क्षेत्रका भारतीय बजारसम्म पुग्ने गरेको छ । ‘सुपरजोन’ कार्यालयमार्फत जुनार/सुन्तला किसानले तालिम, नर्सरी सुधार, सिँचाइ, बगैँचा विस्तार, यान्त्रिकीकरणका लागि सहयोग पाइरहेका छन् ।

    गाउँपालिका उपाध्यक्ष ज्वालाप्रसाद न्यौपानेले जुनार किसानका लागि सडक र बजारीकरण मुख्य समस्याका रूपमा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘कृषि सडक कालोपत्र गर्न प्रदेश र सङ्घीय सरकारले सहयोग गर्दैन । पालिकाको बजेटबाट सम्भव भएन । सडकलाई केन्द्रित गरी प्रचारप्रसार गर्ने महोत्सवको लक्ष्य हो ।’

    उपाध्यक्ष न्यौपानेले स्थानीय धापचौकीबाट बाहुनतिल्पुङसम्मको महाभारत क्षेत्रको कृषि सडक करिडोरलाई कालोपत्रका लागि सहयोगको अपेक्षा गरिएको बताउनुभयो । सिन्धुलीको महाभारत क्षेत्रका युवालाई जुनार/सुन्तलाखेतीले केही हदसम्म रोजगारी प्रदान गरेको छ ।

    एक जना किसानको बगैँचामा एक हजार सात सयसम्म जुनारका बोट छन् ।  एउटा बोटबाट अधिकतम २१ हजार रुपैयाँसम्मको फल बिक्री भएको तथ्याङ्क छ ।

    पछिल्लो समय टाढा-टाढाबाट जुनार/सुन्तला खेती हेर्न र यससम्बन्धी अध्ययन गर्ने आउनेको सङ्ख्या बढेसँगै ग्रामीण पर्यटन प्रवर्द्धनको सम्भावनासमेत बढेको छ । गोलन्जोरमा उत्पादन भएका जुनारका कारण फलफूल व्यापारी र अन्य व्यवसायीको पनि आर्थिक उन्नति देखिएको छ ।

    जुनार गुणस्तरका हिसाबले टिप्ने मौसम मङ्सिर-पुस भए पनि कात्तिकदेखि फागुनसम्म बोटमा रहने फल हो । पछिल्लो समय जलवायु परिवर्तनको असरका कारण  विगतमा कम उचाइमा फल्ने यो फल अग्लो ठाउँतिर सर्दै गएको छ ।

    जिल्ला जुनार सहकारी सङ्घका अध्यक्ष निर्मल रम्तेलले यही मङ्सिर २३-२५ गते हुने यसवर्षको महोत्सव सिन्धुलीको जुनारलाई चिनाउने र प्रवर्द्धन गर्ने उद्देश्यले राखिएको जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो, ‘यो वर्षको उत्पादन नौ हजार पाँच सय मेट्रिकटन हुने अनुमान छ । त्यो भनेको करिब ८५ करोड रुपैयाँ बराबरको जुनार/सुन्तला हो । उत्पादितमध्ये करिब १५ प्रतिशत कोसेलीमा जान्छ । पछिल्लो समय जुनारको क्षेत्र विस्तार र मूल्य बढदै गएको छ ।’

    जुनारखेती प्रवर्द्धनका लागि प्रविधि हस्तान्तरण र चिसान केन्द्र निर्माण भइरहेको छ । जुनारबाट जुसलगायत २१ प्रकारका परिकार बन्छन् । जुनार बगैँचाबाट उठाउँदा थोक मूल्य ६५ रुपैयाँ प्रतिकिलो पाइने जानकारी दिँदै अध्यक्ष रम्तेलले भन्नुभयो, ‘उपभोक्ताले उपभोक्ताले त्यही जुनार बजार पुगेपछि एक सय रुपैयाँ तिरेर लिनुपर्ने अवस्था छ । यो बीचको मार्जिन   लाई घटाउनुपर्ने छ ।’

    पछिल्लो समय जलवायु परिवर्तन असरका कारण हुन सक्छ फल लाग्ने र गुणस्तर कायम गर्ने सवालमा उचाइले गडबड गरेको उहाँको भनाइ छ ।

    अहिले आठ सयदेखि एक हजार मिटरसम्मको उचाइमा लागेका दाना दसैँतिहारमा खानयोग्य हुन्छन् भने त्यो भन्दामाथिको मङ्सिर, पुस र माघसम्म रहन्छन् । रुखबाट टिपेर चिस्यान केन्द्रमा राखेको जुनार सुन्तला बैशाखसम्म रहन्छन् ।

    सिन्धुलीमा नयाँ प्रविधियुक्त करिब १५ वटा चिस्यान केन्द्र छन् । ती सबैमा गरी करिब एक हजार दुई सय मेट्रिकटन जुनार भण्डारण गरेर राख्न सकिन्छ । 

    जुनार खेतीप्रति युवाको आकर्षण बढेकाले एक जना कृषक परिवारले वार्षिक रूपमा पाँच लाख देखि ३० लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् । त्यस्ता किसानले जुनार बेचेरै काठमाडौँमा घर बनाएका मात्र होइन, ठूलो रकम लगानी गरी सन्ततिलाई डाक्टर र इञ्जिनियरिङ पढाउने सफलता मिलेको छ ।

    सजिलो छैन जुनार फलाउन 
    कार्यालय प्रमुख चौधरीले भन्नुभयो, ‘उत्पादकत्व प्रतिहेक्टर १३.०३ मेट्रिकटन छ । गाउँपालिकामा मात्रै गत आर्थिक वर्षमा नौ हजार एक सय २१ मेट्रिकटन जुनार उत्पादन भएको थियो । उत्पादनको करिब २१ प्रतिशत रोग तथा किराबाट नष्ट हुने तथा कोसेलीका रूपमा बाँडिने गरिएको छ ।’

    गतवर्ष ५५ हजार रुपैयाँ प्रतिमेट्रिकटनका दरले जुनार बिक्री भएको थियो । बेलाबखत जुनारमा विभिन्न रोग तथा किराको सङ्क्रमणका कारण समस्या देखिने गरेको छ । विगतमा जुनारमा लाग्ने औँसाले किसानलाई ठूलो नोक्सानी पुर्याएको जनाउँदै सरकारको ठूलो लगानी र प्रयासमा त्यसको नियन्त्रण गरेको चौधरीले बताउनुभयो ।

    पछिल्ला वर्ष फेरी सुँडेपुतलीको समस्या किसानले झेल्नु परेको छ । उक्त पुतलीले फलमा गुलियोपन आउनासाथ सुँडले रस चुस्ने र त्यसपछि कुहिने समस्या हुने गर्दछ । पुतलीको समस्या नियन्त्रणका लागि विभिन्न प्रयास भइरहेका छन् ।

    ढुसीजन्य रोगले पनि जुनार किसानलाई हैरान पारेको छ । अर्कातर्फ जलवायु परिवर्तनको असरले एक हजारदेखि एक हजार दुई सय मिटर उचाइसम्मका जुनार तथा सुन्तलाका बोट सुक्दै गएका छन् ।

    –रासस