७  २०८२ बुधबार | 21 Jan 2026 Wed

बढे मुस्ताङ पुग्ने विदेशी पर्यटक



  • आफ्नै खबर
  •     (२ महिना अघि)
  • पाठक संख्या २१६
  • मुस्ताङ/  सन् २०२४ को तुलनामा सन् २०२५ को ११ महिना अर्थात नोभेम्बरसम्ममा मुस्ताङमा १०.६१ प्रतिशतले विदेशी पर्यटकको सङ्ख्या वृद्धि भएको छ ।

    यहाँ सन् २०२४ को तुलनामा सन् २०२५ को जनवरीदेखि नोभेम्बरसम्म चौध हजार चार सय ११ जना विदेशी पर्यटकको सङ्ख्या वृद्धि भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय (एक्याप) जोमसोमले उल्लेख गरेको छ ।

    सन् २०२४ को जनवरीदेखि डिसेम्बरसम्मको १२ महिना अवधिमा सार्क तथा अन्य मुलुकका गरी कूल एक लाख ३५ हजार सात सय १९ जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका थिए । त्यस वर्ष सार्क राष्ट्रबाट एक लाख नौ हजार पाँच सय ४९ जना र अन्य राष्ट्रबाट २६ हजार एक सय ७० जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका थिए ।

    यसवर्ष अर्थात सन् २०२५ को डिसेम्बर महिना बाँकी रहँदा यहाँ एक लाख ५० हजार एक सय ३० जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेको एक्याप जोमसोमका कार्यालय प्रमुख राजेश गुप्ताले जानकारी दिनुभयो । उहाँका अनुसार यसवर्षको एघार महिना अवधिमा एक लाख २३ हजार दुई सय ५३ जना सार्क र २६ हजार आठ सय ७७ जना अन्य मुलुकका विदेशी पर्यटकले भ्रमण गरेका छन् ।

    अगस्ट र सेप्टेम्बरमा युवाको जेनजी आन्दोलनको प्रभाव र प्रतिकूल मौसमका कारण विदेशी पर्यटकको सङ्ख्या घट्न पुगेको एक्याप प्रमुख गुप्ताले उल्लेख गर्नुभयो ।

    –रासस