२१ मंसिर २०८२ आईतबार | 07 Dec 2025 Sun

जनकपुर-ढल्केबर सडकखण्डका तीन स्थानमा आकाशे पुल बन्दै



  • आफ्नै खबर
  •     (२ दिन अघि)
  • पाठक संख्या १३५
  • धनुषा/  मधेसप्रदेश राजधानी जनकपुरधाम प्रवेश गर्ने मुख्य सडकमार्ग जनकपुर-ढल्केबर ६ लेन सडकखण्डका तीन स्थानमा आकाशे पुल निर्माण हुँदैछन् । 

    पैदलयात्रुको अत्यधिक चाप, सवारी आवागमन, ट्राफिक व्यवस्थापनमा समस्या र दुर्घटनाका घटना नियन्त्रण गर्न परियोजना अघि बढाइएको सडक डिभिजन कार्यालयले जनाएको छ ।

    कार्यालयका अनुसार तीनवटै पुल सडकखण्डका अत्यन्त व्यस्त र जोखिमयुक्त ठाँउ छनोट गरेर करिब १० करोड ५० लाख रुपैयाँको लागतमा निर्माण भइरहेका छन् । कार्यालयका ई. उज्ज्वल झाले लक्ष्मीनियाँ गाउँपालिकाको मुख्य बजार क्षेत्र लक्ष्मीनियाँ बजार, क्षीरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगर बजारको महिला विकास चोक र सखुवा चोकमा पुल निर्माण भइरहेको बताउनुभयो । 

    उहाँले भन्नुभयो, ‘एक महिनादेखि तीनै स्थानमा पिल्लर निर्माणलगायत आवश्यक आधारभूत संरचना बनाइरहेका छौँ । निर्धारित समयसीमाभित्र निर्माण सम्पन्न गर्नेगरी काम भइरहेको छ ।’

    इञ्जिनियर झाका अनुसार तीन वटा पुलमध्ये लक्ष्मीनियाँ बजारमा तीन करोड ४२ लाख रुपैयाँ, महेन्द्रनगर बजारस्थित महिला विकास चोकमा तीन करोड ३५ लाख रुपैयाँ र सखुवा चोकमा तीन करोड ४५ लाख रुपैयाँमा बनिरहेका छन् । सबै पुल ५.६ मिटर उचाइ, २९.४ मिटर लम्बाइ र तीन मिटर चौडाइका हुनेछन् । 

    जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सूर्यबहादुर शाहीले आकाशेपुल निर्माणपछि जनकपुर-ढल्केबर सडकखण्डमा ट्राफिक व्यवस्थापनमा केही सहज हुने बताउनुभयो । उहाँका अनुसार यहाँ दैनिक हजारौँ पैदलयात्रु र सवारिसाधन आवतजावत गर्ने भएकाले दुर्घटनाको जोखिम उच्च रहेको छ ।

    क्षीरेश्वरनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुरेश यादवले जनकपुरधाम जाने धार्मिक पर्यटक तथा स्थानीयको धेरै चाप रहने भएकाले पुल निर्माणपछि दुर्घटना न्यूनीकरणमा टेवा पुग्ने बताउनुभयो ।

    स्थानीय रोहितराज खनालले आकासे पुल निर्माणपछि अत्यधिक व्यस्त रहने जनकपुर-ढल्केवर सडकखण्डमा  ट्राफिक व्यवस्थापन र सहरी  सौन्दर्यकरणमा मद्दत पुग्ने बताउनुभयो ।
    सडक डिभिजन कार्यालयले चालु आर्थिक वर्षभित्रै पुल निर्माण गरिसक्ने लक्ष्य लिएको छ ।

    –रासस