२२ मंसिर २०८२ सोमबार | 08 Dec 2025 Mon

‘भेडा मरेर के भो, मन मरेको छैन’



  • आफ्नै खबर
  •     (१० घण्टा अघि)
  • पाठक संख्या १४७
  • जुम्ला/  चेहेरे पाटनमा बाक्लो हिउँ नपरेको वर्षौँ भयो । जुम्ला बजारबाट करिब चार किलोमिटर माथि मनमोहक डाँडामा हिउँद र वर्षात् दुवै समयमा स्थानीयवासीले गाई, गोरु, बाख्रा, बोका, खसी, भैँसी, भेडा, च्याङ्ग्रा लगायतका चौपाया यहाँ चरनका लागि ल्याउँछन् ।  

    चन्दननाथ नगरपालिका-३ स्थित यस पाटन (चौर क्षेत्र) मा चन्दननाथ-२ खोलीकोट, भण्डारीवाडा , चन्दननाथ-३ शान्तिनगर, सिंखडावाडा, बस्थवाडासहित कनकसुन्दरी गाउँपालिकाका चौपायाको चरन क्षेत्र हो । चौरमाथिको उपल्लो जङ्गल जहाँ चितुवा, भालुसहित कालिज र डाँफेको बासस्थान क्षेत्र पनि हो । 

    पाटनमा बाक्लो हिउँ पर्न छाडेपछि चन्दननाथ-३ भेडापालक किसान जङ्गबहादुर खत्री चिन्तित हुनुहुन्छ नै । पछिल्ला दिनमा उहाँ खुसी देखिनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘पाटनमा बाक्लो हिउँ नपर्दा चरन क्षेत्रमा घाँसपातसहित अन्य झारपात र जडीबुटीका बिरुवा कम उम्रिन थाले । चौपायासहित जङ्गली जनावरलाई पाटनमा चरेर अघाउनै मुस्किल भयो । ’

    उहाँका अनुसार बाक्लो हिउँ परेको वर्ष पाटन क्षेत्रमा घाँसपात, झारपात धेरै उम्रिन्थे । जलवायु परिवर्तनका असर यहाँ पनि देखिएको छ । 

    यस स्थानमा साँझ बिहान सिरेटो (हावा) चलेर अत्यधिक चिसो हुन्छ । स्थानीयवासीले सूर्याेदयपछिको पारिलो घाममा मात्र पाटनमा चौपायालाई चरनका लागि ल्याउँछन् । 

    जुम्ला बजारको दृश्यावलोकनका लागि यो पाटन आकर्षक क्षेत्र मानिन्छ । दृश्यावलोकन गर्नेको यहाँ भीड लाग्ने गर्दछ ।

    पाटनको पश्चिमी केही भू भागमा सिमसार छ । पछिल्लो समय यही सिमसार जमिनलाई प्राकृतिक रुपमै संरक्षण गरेर दुई वटा पुनर्भरण (रिचार्ज) पोखरी बनाइएको छ । यसबाट चौपायाका लागि पानी उपयोग गर्न सजिलो भएको छ ।

    सिमसार क्षेत्रलाई उपयोग गरेर पोखरी बनाइएपछि स्थानीयवासीलाई चौपायालाई पानी खुवाउन परेको समस्या केही हदसम्म अन्त्य भएको छ ।

    चिरे-घिमे रिचार्ज पोखरी निर्माण समितिका अध्यक्षसमेत रहनुभएका ५१ वर्षीय किसान खत्रीले खुसी हुँदै भन्नुभयो, ‘रिचार्ज पोखरीमा जम्मा भएका पानी खान पाटन र जङ्गलमा चरनका लागि ल्याइएका चौपायासहित जङ्गली जनावरहरू आउन थालेका छन् ।’

    उहाँका अनुसार एक घण्टा टाढादेखि पोखरीमा पानी पिउन बस्तुभाउसहित जनावर आउँछन् । अहिले अत्यधिक चिसोका कारण पोखरीको केही भाग बरफ भएको छ ।

    स्विस रेडक्रसको आर्थिक एवं प्राविधिक सहयोगमा नेपाल रेडक्रस सोसाइटी जुम्ला शाखाद्वारा चन्दननाथ नगरपालिकामा सञ्चालित ‘सहरी पूर्वतयारी तथा आपत्कालीन प्रतिकार्य प्रवर्द्धन परियोजना’ ले रिचार्ज पोखरी निर्माण गर्न सहयोग गरेको हो । 

    परियोजनाका जिल्ला संयोजक ईश्वरा सुवेदीले भन्नुभयो, ‘पाटन र जङ्गलमा आएका चौपायासहित जङ्गली जनावरलाई पानीको चरम सङ्कट छ भन्ने कुरा समुदायबाट जानकारी आयो । यसलाई केही हदसम्म अन्त्य गर्न समुदायका मागअनुसार नै रिचार्ज पोखरी निर्माणमा सहयोग गरेका हौँ ।’

    उहाँका अनुसार यसबाट समुदायलाई कसरी जलवायु परिवर्तन अनुकूलन हुने भन्ने कुरा पनि सिकाएको छ । 

    चन्दननाथ नगरपालिका उपप्रमुख रामदेवी खड्काले जहाँ विपद् त्यहाँ रेडक्रस भन्ने भावनाअनुसार चेहेरे पाटन क्षेत्रमा रिचार्ज पोखरी निर्माण गरेको र यसबाट समुदाय लाभान्वित भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यसबाट बस्तुभाउले निर्धक्क पानी खान पाएका छन् ।’

    चन्दननाथ-३ का वडाध्यक्ष राजन खत्रीले समुदायलाई जलवायु उत्थानशील बनाउन समुदायलाई सक्रिय बनाइएको र यसै अन्तर्गत चेहेरेको पाटन क्षेत्रमा प्राकृति पोखरी निर्माण गरिएको जानकारी दिनुभयो ।  

    नेपाल रेडक्रस सोसाइटीका निर्देशक मोना अर्यालले जलवायु परिवर्तनका सङ्कट टार्न समुदायलाई जलवायु उत्थानशील बनाउन नेपाल रेडक्रसले ध्यान दिइरहेको बताउनुभयो  ।

    पीर र चिन्ता लिएर केही हुन्न
    पोखरी निर्माण समितिका अध्यक्ष किसान खत्रीले पाल्नुभएका दुई सय भेडामध्ये गत असार २३ गतेको अकल्पनीय चट्याङबाट ५२ वटा अकालमै मर्यो ।

    उहाँले आँसु झार्दै भन्नुभयो, ‘भेडा त मरेर केही छैन । पाल्न सकिन्छ । हेरचाहका लागि राखिएका भाइ चट्याङ लागेर गम्भीर घाइते भयो । जुम्लामा उपचार हुन नसकेपछि काठमाडौँको टिचिङ अस्पतालमा लगियो । त्यहाँ उपचारबाट अझै फर्किएको छैन । सम्पत्ति सकिन लागिसक्यो कसैले सहयोग नगर्दा दिक्क लाग्छ । सहयोग गर्छु भन्ने धेरै छन् गर्ने कोही छैनन् ।’

    उत्कृष्ट भेडापालक किसानका रुपमा उहाँले धेरै मानसम्मान पनि प्राप्त गरिसक्नु भएको छ । भेडा मरे पनि किसान खत्रीका मुहारमा निराशा पटक्कै झल्किँदैन ।

    दसैँमा बिक्री गरेर बाँकी रहेका माउ भेडा चराउन पाटन क्षेत्रतिर लाग्दै गरेका उहाँले भन्नुभयो, ‘चेहेरेमा प्राकृतिक रुपमा रिचार्ज पोखरी बनाइयो । यसबाट चौपायालाई पानी र नुन खुवाउन सजिलो भएको छ । यसका लागि नेपाल रेडक्रसलाई धन्यवाद । शक्ति र श्वास रहेसम्म भेडा पाल्न छाड्दिन । जे गर्छु यही माटोमा गर्छु । भेडापालन व्यवसायमा पैसा पनि छ जोखिम पनि छ । पाँच ६ लाख कमाउन विदेश जानुपर्दैन ।’ 

    -रासस