आज: २०८२ चैत्र १७, मंगलबार | Tue, 31, Mar, 2026

नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द गरेर सडक चौडा बनाइने


  • आफ्नै खबर
  • २०८२ मंसिर २२, सोमबार ३ महिना अघि
  • २७ पाठक संख्या
  • काठमाडौँ/  सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको छ । 

    भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सरोकारवाला सबैलाई केही दिन पहिले आमन्त्रण गरी समस्या समाधान गर्ने प्रतिबद्धता जनाएको थियो । निर्माण व्यवसायी र सम्बन्धित आयोजनाले सवारीसाधन निरन्तर आवतजावत हुँदा सडक निर्माणले गति लिन नसकेको बताएका थिए । 

    ट्राफिक व्यवस्थापन गरी सडक निर्माणलाई गति दिने लक्ष्यका साथ यही मङ्सिर २४ गतेदेखि आगामी पुस १ गतेसम्म दैनिक पाँच घण्टा सडक बन्द गर्ने निर्णय गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ र धादिङले संयुक्त रुपमा सडक बन्द हुने सूचना प्रकाशित गरेको छ । 

    त्रिभुवन राजपथको नागढुङ्गा नौबिसे सडकखण्ड कालोपत्र गरी स्तरोन्नति सम्पन्न हुने चरणमा छ । सोही क्रममा उक्त सडकको काठमाडौँ जिल्ला भित्र पर्ने नागढुङ्गा पिप्लामोड खण्ड कालोपत्र उच्च प्राथमिकताका राखिएको छ ।

    उक्त सडकखण्ड अन्यत्र भन्दा साँघुरो भएको र कालोपत्रका लागि एकै पटकमा धेरै गह्रौँ उपकरण तथा ढुवानीका साधन परिचालन गर्नुपर्ने हुन्छ । यसैगरी धादिङको गल्छी–गजुरी खण्ड पनि साँघुरो र जोखिमपूर्ण रहेकाले पोखरेभिर क्षेत्रमा सडक चौडा गर्नुपर्ने आयोजनाले जनाएको छ । 

    सूचना अनुसार नागढुङ्गा देखि पिप्लामोडसम्म र पोखरेभिर क्षेत्रमा यही मङ्सिर २४ गतेदेखि आगामी पुस १ गतेसम्म बिहान १०ः३० बजेदेखि अपराह्न ३ः३० बजेसम्म सडक आवागमन बन्द हुनेछ । उक्त समयमा वैकल्पिक सडक प्रयोग गरिदिन तथा आफ्नो यात्रा समयलाई सो समय भन्दा अगाडि वा पछाडि व्यवस्थापन गर्न आग्रह गरिएको छ । 

    उक्त समयमा काठमाडौँबाट नौबिसेतर्फ जाने सवारी साधन नागढुङ्गा चेकपोस्टमा रोकिनेछ । सूचनामा अत्यावश्यकीय प्रकृतिका एम्बुलेन्स, सुरक्षा निकायका सवारी साधन, दमकल, शव वाहन जस्ता सवारीसाधनको आवागमन ट्राफिक प्रहरीबाट सहजीकरण हुने जनाइएको छ । 

    मुग्लिङबाट काठमाडौँ तर्फ जाने सवारी साधन खानीखोला (नौबिसे), जुंगेखोला (थाक्रे), गल्छी-गजुरी खण्डको लागि गल्छी, बैरेनी र मासटारमा रोकिनेछ । साना तथा मझौला सवारीसाधनले अत्यावश्यक अवस्थामा वैकल्पिक मार्ग प्रयोग गर्न सक्नेछन् । सूचना अनुसार सीतापाईला भिमढुङ्गा, रामकोट  धार्के सडक, सामाखुसी टोखा-छहरे सडक वैकल्पिक रुपमा प्रयोग गर्न सकिने छ । 

    रोकिएका सबै सवारीसाधनलाई अपराह्न ३ः३० बजेपछि मात्र छाडिने जनाइएको छ ।

    तीन ठाउँको भीर काटिने
    नागढुङ्गा-मुग्लिन सडक आयोजनाअन्तर्गत पश्चिम खण्ड मुग्लिन-मलेखु सडकका आयोजना प्रमुख सजना अधिकारीका अनुसार राजमार्ग रोकिएको समयमा सवारी चाप कम हुने भएकाले चितवनको घोप्टेभिर र धादिङको खतौडी तथा डाहाकीमा भित्तो काट्ने काम गर्न लागिएको छ । 

    तीनवटै ठाउँमा ४० मिटर हाराहारी लम्बाइ र ८० मिटर हाराहारी अग्लो पहाडको भित्तो काट्नुपर्ने हुन्छ । ती क्षेत्रमा सात मिटर चौडाइ सडक छ । यसलाई दुई मिटर विस्तार गर्ने योजना रहेको छ ।

    आयोजनाका इन्जिनियर विजय दरैका अनुसार सडक बन्द नगरी भित्तो काट्न सक्ने अवस्था छैन । यही समयलाई उपयोग गर्न लागिएको उहाँले जानकारी दिनुभयो । उक्त सडकखण्डको धादिङको विशालटार क्षेत्रमा आइतबारदेखि कालोपत्र सुरु गरिएको छ । क्रमशः कामलाई तीव्रता दिन थालिएको छ ।
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु