बागलुङ/ पछिल्लो समय बेलढुङ्गा सामुदायिक घरबासमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । काठेखोला गाउँपालिका-३ धम्जा ओखलेस्थित बेलढुङ्गा सामुदायिक घरबासमा आतिथ्यतासँगै स्थानीय खानाका परिकारमा पाहुना रमाउने गरेका छन् ।
घरबास पुग्नुभएका डा. सूर्य पाठक घरबासको आतिथ्य संस्कार र परिकार निकै मन परेको बताउनुहुन्छ । यहाँ पाउने अन्य परिकारसँगै धेरैको रोजाइमा कोदोका परिकार बढी रहेका छन् । पाठकलाई पनि आतिथ्यता, सांस्कृतिक कार्यक्रमसँगै बिहानको खाजामा दिइने कोदोका परिकारले झनै मोहित बनाएको थियो ।
उहाँले कोदोको ढिडो र रोटी खाए पनि सेलरोटी पहिलोपटक खान पाएकामा खुसी व्यक्त गर्नुभयो । डा. पाठकले भन्नुभयो, ‘सामाजिक काममा धेरै स्थानमा पुगियो । धेरै घरबासमा खानाका परिकार चाखियो । तर कोदोबाट बनेको सेलरोटी बेलढुङ्गा सामुदायिक घरबासमा देख्न र चाख्न पाइयो । यो निकै मन पर्योे ।’
घरबास चल्नका लागि खानाको परिकार, संस्कार, संस्कृति र प्रकृतिको संयोजन हुन आवश्यक रहेको कुरो बेलढुङ्गा आएपछि देखिएको उहाँको भनाइ थियो । आतिथ्यता र बेलढुङ्गाबाट आँखैअगाडि देखिने हिमालले मोहनी लगाएको उहाँले बताउनुभयो ।
पाठकलाई मात्रै होइन गरिबको खान्की भनेर चिनिँदै आएको कोदोका परिकार सामुदायिक घरबास आउने अधिकांश पाहुनाको रोजाइमा पर्न थालेका छन् । घरबासमा कोदोको रोटी, सेलरोटी, कोदो र फापरको ढिडोसँग लोकल कुखुरा र खसीको मासु तथा भाँगो राखेको आलुको अचार मुख्य परिकारका रूपमा रहेका छन् ।
आगन्तुक पाहुनाले ढिँडो, सेलरोटी, फापरका परिकार, उसिनेको आलु, सिल्टीमुरको चटनी, आलु चिप्स, अचार, आलुको रोटीलगायत परिकारले आन्तरिक तथा बाह्य पाहुनाको मन जित्ने गरेको हो । घरबासमा प्रगतिशील आमा समूहले पाहुनाको स्वागत तथा सांस्कृतिक कार्यक्रमको व्यवस्था मिलाउँदै आएको छ ।
आमा समूहका अध्यक्ष माया घर्ती पाहुनालाई घरबासको सभाहलमा स्वागत तथा सांस्कृतिक कार्यक्रम गर्दै आएको बताउनुहुन्छ ।
उहाँले भन्नुभयो, ‘राति पाहुनालाई सांस्कृतिक कार्यक्रमसहित सत्कार गर्छौं । खानाको कुरा त भइनै हाल्यो । पाहुनाले बिहानै बेलढुङ्गामा पुगेर सूर्योदय र हिमाल हेर्छन् । घरबासमा चितवन, पोखरा, म्याग्दी, पर्वत तथा बागलुङबाट पाहुना आउने गरेका छन् ।’
यो स्थान काठेखोला गाउँपालिका-३ ओखले र म्याग्दीको बेनी नगरपालिका-३ भकिम्लीको शिरमा अवस्थित छ । सडक सञ्जाल र पदमार्गको सहज पहुँच पुगेपछि यहाँ पर्यटक आगमनमा वृद्धि भएको छ । जसको फाइदा धम्जास्थित बेलढुङ्गा सामुदायिक घरबासलाई भएको छ ।
दुई हजार ६ सय १४ मिटरको उचाइमा रहेको बेलढुङ्गा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेको छ ।
२०७५ सालमा स्थापित यो सामुदायिक घरबास हाल १० घरमा सञ्चालित छ । जहाँ एक रातमा ३० जनासम्म राख्न मिल्छ । घरबास सञ्चालक गोपाल श्रीस घरबासमा आयातित खाद्य सामग्रीलाई निषेध गरी स्थानीयस्तरमा उत्पादित खानाका परिकारलाई विशेष रूपमा प्रवर्द्धन गर्ने गरिएको बताउनुहुन्छ ।
‘गाउँमै उत्पादन हुने आलु, कोदो, सिन्की, कुखुरा, खसी, साग तथा फापरको व्यवसायीकरण र अन्य उत्पादनलाई समेत प्रवर्द्धन गर्न अब गाउँलाई ‘अर्ग्यानिक भिलेज’ का रूपमा स्थापित गर्ने योजना छ’, उहाँले भन्नुभयो, ‘गाउँमा रासायनिक मल निषेध गरिएकाले अर्ग्यानिक कृषि उपजले पाहुनालाई स्वागत गर्न सहज भएको छ ।’
–रासस
प्रतिक्रिया दिनुहोस