काठमाडौँ/ काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आफू प्रमुखको भूमिकामा आएपछि २३ अर्ब रुपैयाँ मूल्य बराबरको दुई सय आठ रोपनी सार्वजनिक जग्गा फिर्ता गरिएको बताउनुभएको छ ।
कामपाको ३१औँ स्थापना दिवसको अवसरमा प्रमुख शाहले कामपाको लक्ष्य दुई खर्ब बराबरको एक हजार आठ सय ५९ रोपनी सार्वजनिक अतिक्रमण जग्गा फिर्ता गर्नु रहेको जानकारी दिनुभयो । उहाँले ९१ करोड रुपैयाँ लागतको सम्पदा संरक्षणको काम गरेको बताउनुभयो । दश केन्द्रलाई बिमाको प्रथम सेवा केन्द्रको रुपमा तोकिएको उहाँले जानकारी दिनुभयो ।
पाँच अर्ब चार करोड रुपैयाँको लागतमा दुई सय ५१ योजना बोलपत्र प्रक्रियामार्फत खरिद गरिएका प्रमुख शाहले बताउनुभयो । प्रमुख शाहका अनुसार महानगरबाट धुलोरहित सडक कार्यक्रमअन्तर्गत ५५ किलोमिटर सडक सुधार सम्पन्न भएको छ ।
६२ चोकमा हाईमास्ट लाइट जडान गरिएका छन् । साथै, पाँच हजार तीन सय १८ पोलमा १३ हजार तीन सय ४० बत्ती जडान गरी रात्रिकालीन सहरी सौन्दर्य विस्तार गरिएको छ ।
गत आर्थिक वर्षमा दुई अर्ब ८६ करोड रुपैयाँ बराबरका पूर्वाधार योजना सम्पन्न भएका छन् । करिब ९१ करोड रुपैयाँको लागतमा सम्पदा संरक्षणका काम हुँदा दुई सय ७६ मूर्त सम्पदा आयोजना र एक सय २५ अमूर्त सम्पदा कार्यक्रम सञ्चालन गरिएका प्रमुख शाहले जानकारी दिनुभयो ।
कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालसहितको सहभागिता थियो । कार्यक्रममा विभिन्न वडाले सांस्कृतिक झाँकी प्रस्तुत गरेका थिए । काठमाडौँ महानगरले हरेक वर्ष मङ्सिर २९ गते स्थापना दिवस मनाउँदै आएको छ ।
–रासस
प्रतिक्रिया दिनुहोस