१ पुष २०८२ मंगलबार | 16 Dec 2025 Tue

सुन्तलाखेतीले फेरिँदै जीवनस्तर



  • आफ्नै खबर
  • २९ मंसिर २०८२ सोमबार (२४ घण्टा अघि)
  • पाठक संख्या ३३८
  • भोजपुर/  यहाँका किसानका लागि सुन्तलाखेती आम्दानीको भरपर्दो आधार बन्दै गएको छ । व्यवसायिक रूपमा सुन्तला उत्पादन गर्दै आएका यहाँका किसानले बजार विस्तारसँगै राम्रो मूल्य पाउन थालेपछि आर्थिक रूपमा सबल बन्दै गएका छन् । सडक पहुँच विस्तार भएपछि स्थानीय बजारमा मात्र सीमित रहेको सुन्तला अहिले बाहिरी जिल्लासम्म पुग्न थालेको हो ।

    विगतमा यातायात सुविधा नहुँदा स्थानीय बजारमै भर पर्नु परेकोमा अहिले बगानमै ठेकेदार आएर सुन्तला खरिद गर्ने अवस्था बनेको टेम्केमैयुङ गाउँपालिका-५ खावा केराबारीका किसान देवराज राईले बताउनुभयो । हाल २२ रोपनी क्षेत्रमा करिब दुई सय सुन्तलाका बोट लगाएर व्यवसायिक खेती गर्दै आउनुभएका राईले वार्षिक रूपमा करिब पाँच लाख रुपैयाँ आम्दानी गर्दै आउनुभएको छ ।

    ‘अहिले सुन्तलाको मुख्य सिजन हो’, उहाँले भन्नुभयो, ‘गाउँभरी सुन्तला बिक्री भइरहेको छ । मैले प्रत्येक वर्ष करिब पाँच लाख रुपैयाँ बराबरको सुन्तला बिक्री गर्दै आएको छु ।’

    यस क्षेत्रका करिब एक सय २० घरपरिवारले व्यवसायिक रूपमा सुन्तला खेती गर्दै आएका छन् । बगान नै एकमुष्टमा ठेकेदारलाई बिक्री गर्न पाइने भएकाले खुद्रा बिक्रीको झन्झट कम भएको राईको भनाइ छ ।

    सडकका कारण गाउँघरमा फलेको सुन्तला धरान, इटहरी, बिर्तामोड, विराटनगर, काठमाडौँलगायतका मुख्य शहर, बजारमा जाने गरेको छ । एक पटक रोपिसकेपछि लामो समयसम्म उत्पादन लिन सकिने भएकाले सुन्तला खेती किसानको रोजाइमा परेको हो ।

    सुन्तला खेती वडावासीको प्रमुख आम्दानीको स्रोत बनेपछि खेती प्रवर्द्धनका लागि प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन भइरहेको टेम्केमैयुङ-५ का वडाध्यक्ष सुनिल राईले जानकारी दिनुभयो । उहाँका अनुसार सुन्तला खेतीलाई प्राथमिकतामा राख्दै पकेट क्षेत्र निर्धारण गरेर वडाले सहयोग गर्दै आएको छ ।

    वडाध्यक्ष राईले भन्नुभयो, ‘यहाँका किसानले सुन्तलाको बिक्रीबाट मनग्य आम्दानी गर्दै आएका छन् । खेती प्रवर्द्धनका लागि वडाले आवश्यक सहयोग गरिरहेको छ ।’

    कृषि पकेट कार्यक्रम अन्तरगत गत वर्ष वडाले दुई लाख रुपैयाँ बजेट विनियोजन गरी किसानलाई उन्नत जातका सुन्तलाका बिरुवा वितरण गरेको थियो ।

    भोजपुर जिल्लाका सबै स्थानीय तहमा सुन्तला उत्पादन हुने भए पनि विशेष गरी टेम्केमैयुङ गाउँपालिकाको खावा, केराबारी, अन्नपूर्ण, छिनामखु, कोट, गोगने, भोजपुर नगरपालिकाको दावा, बोखिम, पोखरे, षडानन्द नगरपालिका, हतुवागढी गाउँपालिका र रामप्रसादराई गाउँपालिकामा सुन्तला उत्पादन बढी हुने गर्छ ।

    –रासस