म्याग्दी/ बेनी नगरपालिका-३ भकिम्ली राखुका किसानलाई सुन्तला ढुवानी गर्न समस्या भएको छ । नयाँपुलबाट राखु हुँदै भकिम्ली जोड्ने सडकमा सुन्तला ढुवानी गर्ने गाडी उक्लन नसक्ने भएकाले किसानलाई सुन्तला बजार पठाउन झञ्जट एवं समस्या हुनुका साथै कम मूल्यमा बिक्री गर्नुपर्ने अवस्था आएको हो ।
बगैँचामा टिपेको सुन्तला ट्याक्टरमा राखेर नयाँपुलमा झार्ने र नयाँपुलबाट गाडीमा राखेर बेनी, पोखरा, काठमाडौँ, चितवनलगायत बजारमा पठाउने गरिएको राखुका कृषक भविकला थापा रानामगरले बताउनुभयो ।
‘तल्लो राखुबाट नयाँपुलसम्म एकपटक सुन्तला ढुवानी गरेको एउटा ट्याक्टरले तीन हजार रुपैयाँ लिन्छ भने उपल्लो राखुबाट तीन हजार पाँच सय रुपैयाँ खर्च हुन्छ’, उहाँले भन्नुभयो, ‘बगैँचा र नयाँपुलमा दुई पटक लोड अनलोड गर्दा थप खर्च हुने गरेको छ ।’
अन्यत्रका किसानले प्रतिकिलो ८० देखि ८५ रुपैयाँमा सुन्तला बेचे पनि राखुका किसानले सडक र ढुवानीको समस्याले गर्दा प्रतिकिलो ७५ रुपैयाँमा बेच्न बाध्य भएको उहाँले बताउनुभयो । ग्रेड नमिलेको, साँघुरो सडकमा घुम्ती धेरै छन् । मोटरसाइकल, जिप र ट्याक्टर मात्र चल्ने सडक जोखिमयुक्त छ ।
सडक पुग्नुअघि यहाँका किसानले बेनीका डोके व्यापारीलाई सस्तोमा सुन्तला बेच्ने गरेका थिए । सडक आएपछि डोकोमा बोकेर सुन्तला बजार पठाउनुपर्ने समस्या हटे पनि स्तरोन्नतिमा ढिलाई भएको किसानहरू नरबहादुर रानाले गुनासो गर्नुभयो ।
२०७३ सालमा तत्कालीन भकिम्ली गाविस र किसानहरूको ५० लाख रुपैयाँ लागतमा जयन्ती माविबाट राखु हुँदै नयाँपुल जोड्ने करिब पाँच किलोमिटर सडक खुलेको थियो । सडक निर्माणका लागि स्थानीयवासी महिलाले १३ जना महिलाले बैङ्कमा सुन धितो राखेर १२ लाख रुपैयाँ ऋण जुटाएका थिए ।
बेनी नगरपालिकाले घुम्तीमा ढलान र बर्खामा खसेको पहिरो पन्छाएर यातायात सञ्चालनको ब्यवस्था मिलाएको छ । सामान्य मर्मतको भरमा सडक सञ्चालन भएको छ । बेनी नगरपालिका-३ का वडा अध्यक्ष पदम पुनले राखुको सडकलाई स्तरोन्नतिका लागि प्रदेश र सङ्घीय सरकारमा पहल गरिएको बताउनुभयो ।
राखुका ६५ घरपरिवार किसानले व्यावसायिक सुन्तला खेती गरेका छन् । वार्षिक दुई करोड रुपैयाँ मूल्य बराबरको सुन्तला बिक्री हुने गरेको कृषक खिम पुनले बताउनुभयो । नयाँ बिरुवा थपिँदै गएकाले वर्षेनी सुन्तलाको उत्पादन बढेको उहाँले बताउनुभयो ।
सुन्तला खेतीले रोजगारी र आयआर्जनको अवसर सिर्जना भएको छ । काम र अवसरको खोजीमा बजार तथा विदेशिनुपर्ने समस्या कम भएको छ । कृषक गङ्गाबहादुर घर्तीले सुन्तलाले फल दिन थालेपछि विदेश जानु नपरेको बताउनुभयो । एक सय ८० बोटबाट वार्षिक चार लाख रुपैयाँको सुन्तला बिक्री हुने बताउनुभयो ।
पूर्व फर्किएको भिरालो पाखोमा रहेको राखुको भूगोल र जमिन सुन्तला खेतीका लागि अनुकुल छ । सिँचाइको पर्याप्त सुविधा छ । कोदो र मकै बालीको विकल्पमा व्यावसायिक सुन्तला खेती गरेका छन् । राखुवासीले सुन्तलाखेतीलाई मुख्य आयस्रोत बनाएका छन् ।
–रासस
प्रतिक्रिया दिनुहोस