२ पुष २०८२ बुधबार | 17 Dec 2025 Wed

कोरियाली पर्यटक भित्र्याउन टान र काटाबीच समझदारी



  • आफ्नै खबर
  • १ पुष २०८२ मंगलबार (८ घण्टा अघि)
  • पाठक संख्या ११३
  • काठमाडौँ/  नेपालमा कोरियाली पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान) र कोरिया एसोसिएसन अफ ट्राभल एजेन्ट्स (काटा) बीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । 

    नेपालका लागि कोरियाली राजदूत पार्क ते-यङको उपस्थितिमा टानका अध्यक्ष सागर पाण्डे र महासचिव सोनाम ग्याल्जेन शेर्पा तथा काटाका उपाध्यक्ष किम वियोम्जे र महासचिव वे योङ याङले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

    समझदारीपत्रमा टानसँगको सहकार्यमा काटाले नेपालमा धेरै कोरियाली पर्यटकलाई आकर्षित गर्न विभिन्न कार्यक्रम, अभियान र प्रचारात्मक गतिविधि आयोजना गर्ने, नेपालमा कोरियाली पदयात्री र अन्य पर्यटकहरूको सुरक्षा बढाउन टानलाई सूचना, प्रविधिमा सहयोग गर्ने तथ नेपाली पर्यटकलाई कोरिया भ्रमण गर्न प्रोत्साहित गर्ने पहलहरू गर्नेलगायतका विषयहरू उल्लेख छन् ।  

    उक्त अवसरमा राजदूत यङले दुई संस्थाबीचमा भएको समझदारीले पर्यटन प्रवर्द्धनसँगै दुई देशबीचको सम्बन्धलाई जनस्तरमा विस्तार गर्न सहयोग पुगेको बताउनुभयो । उहाँले इपिएस प्रणाली र पर्यटनको माध्यमबाट दुई देशबीचको सम्बन्धलाई आगामी दिनमा पनि अझ फराकिलो बनाउन सकिने धारणा राख्नुभयो ।

    काटाका उपाध्यक्ष वियोम्जेले टानसँग सहकार्य गर्न पाउँदा खुसी व्यक्त गर्दै आगामी दिनमा दुई देशबीच पर्यटक आवागमनमा वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।

    टानका अध्यक्ष पाण्डेले नेपाल-कोरियाबीच सिधा हवाई उडानको सङ्ख्या बढाउनुपर्ने आवश्यकता औँल्याउँदै दुई संस्थाबीचको समझदारीपछि एकअर्का देशमा भ्रमण गर्ने पर्यटकको सङ्ख्यामा बढोत्तरी आउने विश्वास व्यक्त गर्नुभयो ।

    टानका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र सेढाइले नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) मार्फत नेपाल भ्रमणमा आउने कोरियाली पर्यटक र पदयात्रीको सुरक्षाको प्रत्याभूति गरिने बताउनुभयो ।

    त्यस अवसरमा कोरिया एसोसिएसन अफ नेपालका अध्यक्ष चा सिउ वनलगायत कोरियाली व्यवसायीहरूको पनि उपस्थिति थियो । कार्यक्रमको संयोजन टानका सहकोषाध्यक्ष लाक्पा टेम्बा शेर्पाले गर्नुभएको थियो ।

    –रासस