आज: २०८२ चैत्र १७, मंगलबार | Tue, 31, Mar, 2026

कागतीखेतीमा रमाइरहेका सिभिल इन्जिनियर


  • आफ्नै खबर
  • २०८२ पौष २, बुधबार ३ महिना अघि
  • ४२ पाठक संख्या
  • दाङ/  घोराही उपमहानगरपालिका-१६ तेरौटेका प्रतीकराज लोहनीले प्राङ्गारिक विधिमा आधारित भएर व्यावसायिक रूपमा कागतीखेती गरेरै नमूना किसानको परिचय बनाउनुभएको छ । 

    रासायनिक विषादी प्रयोग नगरी खेतीमा लाग्नुभएका सिभिल इन्जिनियर लोहनीले एक करोड रुपैयाँ लगानी गरिसक्नुभएको छ । चार बिघा १० कट्ठाबाट खेती सुरु गर्नुभएका ४१ वर्षीय लोहनीले यसलाई ६ बिघामा विस्तार गर्नुभएको छ । 

    लोहनीले सञ्चालन गरेको बगैँचामा ‘सुन कागती-१’ जातका करिब दुई हजारभन्दा बढी बिरुवा रोपिएका छन् । उहाँ भन्नुहुन्छ, ‘सुन कागतीको बिरुवाले सामान्यतया रोपेको तीन वर्षदेखि उत्पादन दिने गर्दछ । हाल कागती जिल्लाको घोराही बजारसँगै काठमाडौँ पनि पठाउने गरेको छ ।’

    बगैँचामा १० जनाले रोजगारी पाएका छन् । खेती बढाउने सोचमा रहनुभएका उहाँले प्रतिकट्ठा वार्षिक तीन हजार रुपैयाँ तिर्ने गरेको बताउनुभयो । उहाँले थोपा सिँचाइ प्रविधि प्रयोग गर्नुभएको छ । तेरौटे गाउँलाई ‘ग्रिन भिलेज’का रूपमा विकास गर्ने उहाँको लक्ष्य छ ।  

    काठमाडौँमा अध्यापनसँगै हाइड्रोपावर कम्पनीमा सेवा गर्नुभएका उद्यमी लोहनीले भन्नुभयो, ‘सागसब्जीका तुलनामा कागतीमा रोग सङ्क्रमणको डर कम हुने र उत्पादन पनि अधिक हुने भएकाले यसमा लागेको हुँ ।’

    गत वर्ष प्रतिकिलो एक सय ५० रुपैयाँसम्म मूल्य पाएको कागती यस वर्ष ८० रुपैयाँमा झरे पनि खेतीप्रति निराश हुनुपर्ने अवस्था नरहेको उहाँ बताउनुहुन्छ ।

    –रासस
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु