१  २०८२ बिहिबार | 15 Jan 2026 Thu

अवकाशपछिको जाँगर : मौरीपालनबाट मनग्य आम्दानी



  • आफ्नै खबर
  • ३  २०८२ बिहिबार (४ हप्ता अघि)
  • पाठक संख्या १७२
  • बाँके/  धेरैले अवकाशपछिको जीवन उत्पादक क्षेत्रमा लाग्ने भन्दापनि धर्मकर्म वा आराम गर्ने नाममा त्यत्तिकै बिताउँछन् । बर्दिया बढैयाताल गाउँपालिका-६ मैनापोखरका ४२ वर्षीय घनश्याम खत्री भने विकल्पको रुपमा देखा पर्नुभएको छ ।

    उहाँले नेपाली सेनाको जागिरबाट अवकाश भएपछि पेन्सनबाट आएको केही रकममै चित्त बुझाउनुभएको छैन । बरु, समयलाई उत्पादक काममा लगाउनुभएको छ । त्यसबापत उहाँले राम्रो आम्दानीसमेत गरिरहनुभएको छ । खत्री विगत चार वर्षदेखि मौरीपालनमा रमाइरहनुभएको छ ।

    २५ घारबाट सुरु गरिएको उहाँको व्यवसायिक यात्राले हाल उहाँलाई अवकाश प्राप्त सेना होइन, एउटा सफल व्यवसायीक पहिचान दिएको छ । पहिचान मात्रै होइन, त्यससँग वार्षिक करिब २० लाख रुपैयाँ आम्दानीसँगै आत्मनिर्भरसमेत बनाएको छ ।

    बागेश्वरी मौरी फार्म दर्ता गरेर व्यावसायिक रूपमा अघि बढेका खत्रीसँग हाल एक सय ११ घार मौरी छन् र व्यवसायमा श्रीमती मेनका डाँगी खत्रीको बलियो साथ छ । यो दम्पतीलाई यतिबेला कात्तिके मह काड्ने र बिक्री गर्ने चटारो छ । वार्षिक करिब ५० क्विन्टल मह उत्पादन हुने गरेको खत्रीले सुनाउनुभयो । 

    उहाँले भन्नुभयो, ‘बजारको चिन्ता छैन । उत्पादन भएको मह घरबाटै बिक्री हुन्छ । तोरीको कात्तिके मह प्रतिकिलो पाँच सय रुपैयाँ र जङ्गली मह सात सय ५० रुपैयाँमा थोक बिक्री गरिरहेका छौँ ।’

    यसरी आम्दानी गर्न उहाँको सङ्घर्ष पनि कम छैन । उहाँले मौसमअनुसार मौरीका घारहरू असारदेखि मङ्सिरसम्म दाङका विभिन्न क्षेत्रमा, मङ्सिरपछि बर्दिया (बढैयाताल र राजापुर क्षेत्र) र अत्यधिक चिसोमा हुस्सुबाट जोगाउन फेरि दाङमा लैजाने गर्नुभएको छ । 

    जङ्गली महका लागि सिसौको रसका लागि बढैयातालको भदै क्षेत्र र जामुनका लागि बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा मौरीलाई चरन गर्ने गरेको खत्रीले जानकारी दिनुभयो ।

    उहाँ भन्नुहुन्छ, ‘मौरीपालन देख्दा सजिलो लागे पनि उत्तिकै चुनौतीपूर्ण छ । मह काड्नु मात्र ठूलो कुरा होइन, वर्षायाममा मौरीलाई आहाराको अभाव हुन नदिनु र शत्रु जीवबाट जोगाउन धेरै चुनौती छन् । एक सय घार मौरी राम्ररी पाल्न सके मासिक एक लाख रुपैयाँसम्म सजिलै कमाउन सकिन्छ ।’ 

    यस व्यवसायले खत्री परिवारलाई मात्र आर्थिक लाभ दिएको छैन, स्थानीयलाई रोजगारीसमेत सिर्जना गरिरहेको छ । मह काड्ने बेला ११ जना र ढुवानीका बेला चार जनाले काम पाउने गरेका छन् । उहाँले यस व्यवसायलाई थप व्यवस्थित गर्दै आम्दानीसँगै रोजगारीसमेत बढाउने योजना रहेको सुनाउनुभयो ।

    खत्रीले आत्मविश्वासका साथ भन्नुभयो, ‘मेरो व्यवसायबाट आफ्नो परिवार मात्रै होइन, स्थानीयले पनि केही न केही लाभ पाइरहेका छन् । त्यसैले यसलाई थप व्यवस्थित र विस्तार गर्ने मेरो योजना छ । हाल दुई सय ५० घार पुर्याउने लक्ष्यका साथ घारहरूको व्यवस्थापन गरिसकेको छु ।’

    –रासस