आज: २०८२ चैत्र १७, मंगलबार | Tue, 31, Mar, 2026

मुस्ताङको दुई ठाउँमा सबस्टेसन बन्दै


  • आफ्नै खबर
  • २०८२ पौष ४, शुक्रबार ३ महिना अघि
  • ३९ पाठक संख्या
  • मुस्ताङ/  वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका-१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण विद्युतीकरण तथा चैले/चराङ (मुस्ताङ) ३३ केभीए प्रसारण लाइन तथा सवस्टेसन निर्माण आयोजनाले यहाँ दुई वटा विद्युत् सबस्टेसन निर्माण सुरु गरेको हो ।

    लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल विष्टको पहलमा मुस्ताङमा ३३ केभिए विद्युत् प्रसारण लाइन तथा सवस्टेसन निर्माण प्रक्रिया अघि बढेको हो । उहाँसहित आयोजना र निर्माण कम्पनीका प्रतिनिधिले बिहीबार मुस्ताङको चैले र चराङमा पुगेर सबस्टेसन निर्माण क्षेत्रको स्थलगत अवलोकन तथा सर्भे गरेका छन् । 

    भारतीय निर्माण कम्पनी देवयान्स र नेपाली निर्माण कम्पनी भिसानको सहकार्यमा देवयान्स/भिसान जेभीले ३८ करोड रुपैयाँ लागतमा ठेक्का सम्झौता गरेको आयोजना प्रमुख विमलराज राउतले जानकारी दिनुभयो । उहाँका अनुसार मुस्ताङ जिल्लालाई पूर्ण रूपमा विद्युतीकरण गर्ने उद्देश्यले प्राधिकरणले गत वर्ष ठेक्का सम्झौता गरेको हो ।

    प्राधिकरणले एक वर्षअघि सबस्टेसन निर्माण प्रक्रिया अघि बढाए पनि सबै ठेक्का प्रक्रिया पूरा गर्न करिब ११ महिना समय खर्चिनुपरेको आयोजना प्रमुख राउतको भनाइ छ ।

    आयोजना र निर्माण कम्पनीबीच चैले र चराङमा उक्त सबस्टेसन १५ महिनाभित्र निर्माण सम्पन्न गर्नेगरी सम्झौता भएको जनाउँदै उहाँले चैले र चराङमा दुई वटा ‘थ्रिएमबिए’ को ३३ केभी सबस्टेसन निर्माण हुने उल्लेख गर्नुभयो ।

    प्राधिकरणको केन्द्रीय प्रसारण लाइनको सवस्टेसन रहेको थासाङ–२ कोवाङ सबस्टेसनबाट एक सय तीन किलोमिटर दूरीमा पर्ने चैले र चराङमा दुई वटा सबस्टेसन निर्माणको ठेक्का लगाएको हो ।

    उक्त सबस्टेसन तीन हजार आठ सय मिटर उचाइमा हाइअल्टिच्युडलाई थेग्नसक्ने गरी निर्माण गर्नुपर्ने भएकाले यसको लागत सामान्य डिजाइनभन्दा बढी भएको आयोजना प्रमुख राउतको भनाइ छ । 

    उहाँका अनुसार यहाँ निर्माण हुने सबस्टेसन हिउँ परे पनि समस्या नहुने र यसमा हाइअल्टिच्युडमा पनि काम गर्नेगरी विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ ।

    निर्माणस्थलको अवलोकन गर्दै आयोजना प्रमुख राउतले सबस्टेसन सम्पन्न भएपछि विद्युत् आपूर्ति सहज हुनुका साथै विद्युत् भोल्टेजमा पनि सुधार हुने विश्वास व्यक्त गर्नुभयो । 

    यसैगरी माथिल्लो मुस्ताङस्थित लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष विष्टले मुस्ताङको थासाङमा ३३ केभीको एउटा मात्रै सबस्टेसन हुँदा जिल्लामा विद्युत् आपूर्तिमा समस्या हुँदै आएको बताउनुभयो । विद्युत् आपूर्तिलाई दीर्घकालीन रूपमा समाधान गर्न पालिका र सरोकार भएका निकायको पहलमा नयाँ सबस्टेसन निर्माण प्रक्रिया अघि बढेको उहाँको भनाइ छ ।

    सबस्टेसन निर्माणलाई तीव्रता दिन प्राधिकरण र निर्माण कम्पनीका कर्मचारीलाई ताकेता दिँदै आएको अध्यक्ष विष्टले बताउनुभयो । उक्त सबस्टेसन सम्पन्न भएमा विद्युत्को समस्या समाधान हुनुका साथै पर्यटन, कृषि र औद्योगिक विकासमा सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

    यसअघि आयोजनाअन्तर्गत मुस्ताङको कोवाङबाट लोघेकर दामोदरकुण्ड-१ चराङसम्म विद्युत् प्रसारण लाइन विस्तार सुरु गरिएको थियो ।

    दुई वर्ष सम्झौता अवधि रहेको उक्त प्रसारण लाइनको हालसम्म ९५ प्रतिशत भौतिक प्रगति हासिल भएको निर्माण कम्पनीका प्रतिनिधि नवराज कडरियाले जानकारी दिनुभयो । केही ठाउँमा प्रसारण लाइन विस्तार गर्ने स्थानमा समस्या देखिँदा काममा ढिलाइ भएको उहाँको भनाइ छ ।

    –रासस
      

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु