आज: २०८२ चैत्र १७, मंगलबार | Tue, 31, Mar, 2026

व्यवसायीक बन्दैछ बेसारखेती


  • आफ्नै खबर
  • २०८२ पौष ४, शुक्रबार ३ महिना अघि
  • ३६ पाठक संख्या
  • बैतडी/  यहाँका महिला व्यवसायिक रूपमा बेसारखेती गर्न थालेका छन् । विगतमा घरायसी प्रयोजनका लागि मात्रै बेसारखेती गर्दै आएका यहाँका महिलाले व्यवसायिक रूपमै बेसारखेती गर्न थालेका हुन् । 

    खाद्यबाली जङ्गली जनावरले क्षति पुर्याउन थालेपछि बेसारखेती गरिरहेको पाटन नगरपालिका-६ की कलसा लुहारले बताउनुभयो । उहाँले भन्नुभयो, ‘बाँदरले अन्य बालीमा क्षति पुर्याउन थाल्यो । बाँझो जमिनको सदुपयोग गर्दै व्यवसायिक रूपमा अघि बढ्न बेसारखेती गरिरहेका छौँ ।’

    जिल्लाको पाटन नगरपालिका, सिगास र सुर्नया गाउँपालिकाका महिला उद्यमी समूहमा आवद्ध ४४ महिलाले बेसारखेती गरिरहेका छन् । घरका लागि मात्रै बेसार उत्पादन गर्दै आएकामा अहिले व्यावसायिक रूपमा खेती गर्न थालेका सुर्नया गाउँपालिका-६ की पवित्रा शाहले बताउनुभयो ।

    ‘सारथी नेपाल’ले ‘दिगो आम्दानीमार्फत महिला उद्यमीको सशक्तीकरण’ परियोजनाअन्तर्गत बीउ र प्राविधिक सहयोग गरेपछि बेसारसँगै लसुनखेती समेत गरिरहेको उहाँले जानकारी दिनुभयो । 

    सारथी नेपालले पाटन नगरपालिका-६, ८ र ९, सिगास गाउँपालिका-१ र २ तथा सुर्नया गाउँपालिका-६ मा उक्त परियोजना सञ्चालन गरेको छ । परियोजनामार्फत महिला उद्यमी समूहमा आवद्ध महिला किसानलाई बीउ र प्राविधिक सहयोग गर्दै आएको परियोजनाका फिल्ड सुपरभाइजर दिपेश धामीले बताउनुभयो ।

    बाँझो जमिनको सदुपयोग गरी महिलालाई व्यवसायसँग जोडेर आत्मनिर्भर बनाउन सारथी नेपालले बीउबिजन तथा अन्य सहयोग गर्दै आएको छ । परियोजनाअन्तर्गत महिलाले बेसारसँगै अदुवा, लसुन र टनेलभित्र गोलभेँडाखेती समेत गरिरहेका कार्यक्रम संयोजक भुपाल बोहराले बताउनुभयो । 

    ‘महिलाले राम्रै मेहनत गरिरहनुभएको छ । साढे तीन सय क्विन्टल बेसार उत्पादन हुने अपेक्षा गरेका छौँ’, उहाँले भन्नुभयो, ‘बेलाबेला प्राविधिकसहित बारीमा पुगेर समस्याबारे छलफल गर्छौँ र समाधान पनि खोज्छौँ ।’

    –रासस
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु