आज: २०८२ चैत्र १७, मंगलबार | Tue, 31, Mar, 2026

पसिनामा फुलिरहेको सफलता


  • आफ्नै खबर
  • २०८२ पौष ६, आईतबार ३ महिना अघि
  • ३७ पाठक संख्या
  • मोरङ/  उर्लाबारी-२ भुसिका युवराज तिवारीले तीन लाख रुपैयाँबाट सुरुआत गरेको कृषि फार्म अहिले एक करोड बराबरको लगानी भएको छ ।

    स्वदेशमै केही गर्ने उद्देश्यका साथ आठ वर्ष अगाडि उहाँले एउटा कुखुराको फार्म खोल्नुभएको थियो । सुरुमा एक सय ५० कुखुराबाट सुरु भएको फार्ममा अहिले १५ होलेस्टिन गाई र एक हजार पाँच सय भन्दा बढी ब्रोइलर कुखुरा छन् ।

    विदेशलाई त्यागेर नेपालमै कृषि पेसा अँगालेका तिवारीले यो अवस्थासम्म आइपुग्न जीवनका धेरै सपना पसिनासँगै साट्नुभएको छ । आफ्नो पसिनाको गन्धमा सफलता खोज्न तिवारीले सुरुसुरुमा धेरै समस्या भोग्नुपरेको थियो ।

    गोठ र घरको सम्पूर्ण खर्च कटाएर मासिक ४०-५० हजार रुपैयाँ आम्दानी गर्ने तिवारी गाउँमा परिवारका साथ हाँसीखुसी जीवन बिताइरहनुभएको छ । कुखुरासँगै गाईपालनमा लागेका किसान युवराज तिवारीले अहिले गाउँमै सफलता हासिल गर्नुभएको छ । गाउँमै केही गर्ने उद्देश्य साथ पशुपालनमा लागेका तिवारीको बिहान-बेलुकाको दैनिकी नै फेरिएको छ ।

    बिहानको झिसमिसेमै पाँच किलोमिटर टाढा पथरी बजारमा देखिने तिवारी गाई र बाछाको पहिलो आवाजमै ओछ्‌यान छोड्नुपर्ने बताउनुहुन्छ । बिहान ३ः०० बजे गाईको गोठमा पसेका उहाँ ५ः०० बजे दूधको क्यानसँगै पथरी बजारमा भेटिनुहुन्छ  ।

    गोठमा नौवटा दुहुना, दुईवटा ब्याउनेसहित १५ वटा गाई छन् । गोठ नजिकैको फार्ममा एक हजार पाँच सय बढी ब्रोइलर कुखुरा छन् । गोठमा भएका गाईले दैनिक ७० लिटरभन्दा बढी दूध दिन्छ । तिवारी दूध बिक्रीका लागि बिहान ५ः०० र बेलुका ४ः०० बजे पथरी बजारमा पुग्ने गर्नुहुन्छ ।

    युवराज तिवारीले आठ वर्षअघि देखेको एउटा सानो सपना पूरा हुँदै गएको छ ।  ब्रोइलरबाट मात्र सोचेजस्तो आम्दानी नभएपछि तिवारीले तीन वर्षअघि तीन लाख रुपैयाँ खर्च गरेर गाईको गोठ बनाउनुभयो ।

    सुरुआती दिनमा न त ठूलो पुँजी थियो न त ठूलो अनुभव । तर, आत्मविश्वासका साथ ‘केही गरेर देखाउने’ सोच बोक्नुभएका युवराजका यात्रा कहिल्यै थाक्नुभएन । श्रीमती र दुई छोरीको साथ पाउनुभएका उहाँले गाउँमै सफलता हासिल गर्दै आउनुभएको छ ।

    श्रीमती चन्द्रकला बिहान श्रीमानसँगै दूध दुहुन, खोले पकाउन, कुटी काट्न गोठमा लाग्नुहुन्छ । बीबीएस अध्ययनरत दुई छोरी कुखुराको स्याहार र दानापानी तिर लाग्छन् । पढाइसँगै छोरीहरू बाबुआमाको आधुनिक पशुपालनमा खुसी छन् । बाबुआमाको मेहेनतका कारण आज हामीले उच्च शिक्षा हासिल गर्न सकेको बताउँछन् ।

    तिवारी बिहानको झिस्मिसेमा गोठमा हुँदा गाउँले निद्रामा हुन्छन् । प्रत्येक दिन हातमा टर्च र काँधमा बाल्टी बोकेर गोठ पुग्ने युवराजलाई क्यानमा भरिएको दूधले नयाँ ऊर्जा दिन्छ ।  तिवारी मुस्कुराउँदै भन्नुहुन्छ, ‘दूध बेच्ने बेला सुत्न पाइन्नँ । बेलुका पनि बजार पुग्नैपर्छ । तर थकित भएका बेला ग्राहकले दिने प्रतिक्रियाले थप काम गर्न ऊर्जा मिल्छ ।’

    कृषिमा सफलता पाउँदै गर्नुभएका तिवारीबाट धेरै किसानलाई ऊर्जा मिलेको छ । पहिलापहिला दुई-तीन सय कुखुरा हुर्काउन गार्हो हुने तिवारीका फार्ममा आज एक हजार पाँच सयभन्दा बढी चल्ला हुर्किरहेका छन् । पहिलापहिला यसले के गरेको भन्ने गाउँलेहरू आजभोलि उहाँको प्रगतिको तारिफ गर्दै केही सिक्न आउने गरेका छन् ।

    सरकारी अनुदानको आशा नराख्नुभएका तिवारीलाई यतिबेला भने समस्या थपिँदै गएको छ । समयको बचत र कामको भार कम गर्न भए पनि दूध दुहुने मेसिन आवश्यक परेको उहाँ बताउनुहुन्छ ।

    नगर र वडाबाट अनुदान पाए केही सहज हुने आश तिवारीले राख्नुभएको छ । वस्तु बस्ने म्याट, कुटी काट्ने मेसिन, दानासम्बन्धी ज्ञान, गोठ सफा गर्ने तरिका, आधुनिक गोठ निर्माण र सामान्य पशु उपचारको तालिम पाए सहज हुने तिवारी बताउनुहुन्छ ।

    –रासस
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु