आज: २०८२ माघ २९, बिहिबार | Thu, 12, Feb, 2026

वाग्मतीको फोहर बटुल्न ‘ट्र्यास ब्यारियर’


  • आफ्नै खबर
  • २०८२ पौष ६, आईतबार मा प्रकाशित १ महिना अघि
  • २ पाठक संख्या
  • काठमाडौँ/  सहरी विकास मन्त्रालयअन्तर्गतको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले काठमाडौँका नदीहरूमा तैरिने फोहर सङ्कलन गर्न ‘ट्र्यास ब्यारियर’ जडान गरेको छ । 

    गुहयेश्वरीमा ट्र्यास ब्यारियर जडान सम्पन्न गरी वाग्मती नदीका पाँच स्थान क्रमशः गोकर्ण ब्यारेज, गुह्येश्वरी, तिलगङ्गा आँखा अस्पताल, वाग्मती मनहरा दोभान, युएन पार्क र मनोहरा नदीको कर्मनासा दोभानमा गरी जम्मा ६ स्थानमा ६५ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेर ट्र्यास ब्यारियर राख्न थालिएको हो । 

    सहरी विकासमन्त्री कुलमान घिसिङको निजी सचिवालयका अनुसार ट्र्यास ब्यारियरले नदीको सतहमा तैरिने प्लाष्टिक, पोलिथिन, बोतल, काठका टुक्रालगायत फोहरलाई रोक्ने र एक निश्चित स्थानमा जम्मा गराउने काम गर्दछ ।

    काठमाडौँ उपत्यकाका वाग्मती, विष्णुमती, मनोहरा र धोबीखोला नदीहरूमा सहरीकरण, अव्यवस्थित फोहर व्यवस्थापनका कारण ठूलोमात्रामा तैरिने फोहर बग्ने गरेको पाइएको हुँदा यस्ता नदीमा ट्र्यास ब्यारियर जडान गर्दा नदीको बहावलाई अवरुद्ध नगरी फोहर मात्र निकाल्न सकिन्छ । जसले गर्दा नदी प्रदूषण न्यूनीकरण गर्न सहयोग पुग्छ । 

    ट्र्यास ब्यारियरबाट सङ्कलित फोहरलाई नियमित रूपमा निकालेर वर्गीकरण, पुनःप्रयोग तथा सुरक्षित रूपमा व्यवस्थापन गर्न सकिन्छ । यसले नदी प्रदूषण न्यूनीकरण गर्नुका साथै नदीको सौन्दर्य, जलजीवको संरक्षण र सार्वजनिक स्वास्थ्यमा सकारात्मक योगदान पुग्ने देखिन्छ ।

    नदीको सतहमा तैरिने प्लास्टिक, पोलिथिन, बोतल, काठका टुक्रालगायत फोहर वस्तुलाई नदीको बहावलाई अवरुद्ध नगरी रोक्ने र पानीको सतह घटबढसँगै ट्र्यास बैरियरको सतह आफैँ तलमाथि हुने ढङ्गले रबरको कन्भेयर बेल्ट र तैरिने भागसहितको संरचना जडान हुनेछन् ।

    –रासस
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु