आज: २०८२ चैत्र १८, बुधबार | Wed, 01, Apr, 2026

नगरपालिकाले दलितलाई निःशुल्क ट्युसन पढाउने


  • आफ्नै खबर
  • २०८२ पौष ८, मंगलबार ३ महिना अघि
  • ४८ पाठक संख्या
  • सिराहा/  लहान नगरपालिकाअन्तर्गत रहेका दलित तथा मुसहर बस्तीमा निःशुल्क ट्युसन कक्षा सञ्चालन गरिने भएको छ । नगरपालिकाको शिक्षा शाखाले दलित बस्तीमा ट्युसन कक्षा सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८२ तयार गरी कार्यक्रम अगाडि बढाएको हो ।

    कार्यविधिअनुसार ट्युसन कक्षा सञ्चालनका लागि शिक्षक पदमा दरखास्त आह्वान गरिएकामा माग गरिएको ३५ पदका लागि करिब १५० जनाको आवेदन परेको शिक्षा शाखा अधिकृत अमिरी यादवले जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो, ‘मागभन्दा धेरै दरखास्त परेपछि निष्पक्ष छनोटका लागि लिखित परीक्षा लिने निर्णय गरेका छौँ । पुस २५ गते लिखित परीक्षा आयोजना गरी शिक्षक छनोट गरिनेछ ।’ उहाँका अनुसार शिक्षक छनोट गर्दा स्थानीय तथा सम्बन्धित समुदायका व्यक्तिलाई प्राथमिकता दिइनेछ । छनोट भएका शिक्षकलाई मासिक १० हजार रुपैयाँ पारिश्रमिक उपलब्ध गराइनेछ ।

    लहान नगरपालिकाका २४ वटै वडामा करिब ८० टोल दलित तथा मुसहर बस्ती रहेको र ती बस्तीमै ट्युसन कक्षा सञ्चालन गरिने यादवले जानकारी दिनुभयो । उहाँले थप्नुभयो, ‘ट्युसन कक्षा बिहान वा बेलुका दैनिक दुई घण्टा सञ्चालन हुनेछ ।’

    नगरपालिकाले गरेको सर्भेअनुसार ८० टोल दलित तथा मुसहर बस्तीमा करिब एक हजार दुई सय जना दलित बालबालिका छन् । आगामी माघको पहिलो हप्ताबाट ट्युसन कक्षा सञ्चालन गर्ने तयारी गरिएको र कक्षा सञ्चालनपछि अनुगमनका लागि एक जना अनुगमनकर्ता पनि खटाइने शिक्षा शाखाले जनाएको छ ।

    नगरप्रमुख महेशप्रसाद चौधरीका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ का लागि निःशुल्क ट्युसन कक्षा सञ्चालन गर्न ३० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

    नगरप्रमुख चौधरीले भन्नुभयो, ‘दलित तथा मुसहर बालबालिका विद्यालयमा नियमितता नहुने समस्या देखिएको छ । ट्युसन कक्षाले उनीहरूलाई पढाइमा निरन्तरता दिन सहयोग गर्ने विश्वास लिएका छौँ ।’ नगरपालिकाले यो कार्यक्रममार्फत शिक्षाबाट पछि परेका समुदायका बालबालिकाको शैक्षिकस्तर उकास्ने लक्ष्य लिएको जनाएको छ ।

    –रासस
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु