अर्घाखाँची/ सन्धिखर्क नगरपालिका-७ स्थित खाँचीकोट हिल स्टेशनमा खानेपानीको ट्याङ्की निर्माण सुरु गरिएको छ । उक्त ट्याङ्की निर्माणमा आवश्यक पानी बोक्न खच्चडको प्रयोग गरिएको छ ।
खाँचीकोटमा पानी पुर्याउन लुम्बिनी प्रदेश सरकारले २० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । उक्त आयोजना लिफ्टिङ प्रविधिबाट सञ्चालन गरिने वडाध्यक्ष चुराबहादुर केसीले जानकारी दिनुभयो ।
मोटरबाटो नपुगेको उक्त स्थानमा खानेपानी ट्याङ्की निर्माण गर्न दैनिक सात वटा खच्चडलाई पानी बोकाइएको छ । डोल्पाबाट ल्याइएका ती सातवटा खच्चड जाजरकोट, रुकुम पश्चिम, रोल्पा, प्यूठानहुँदै हिल स्टेसनमा ल्याउनै १५ दिन लागेको थियो ।
एउटा खच्चडले एक पटकमा ७० लिटर पानी बोक्ने गर्दछ । एउटा खच्चडलाई पानी बोकाए बापत् दैनिक पाँच हजार रुपैयाँ ज्याला खच्चड धनीलाई भुक्तानी गर्ने गरी पानी बोकाइरहेको खानेपानी उपभोक्ता समितिका अध्यक्ष डुकबहादुर खत्रीले बताउनुभयो ।
यसरी पानी बोकाउँदा एक लिटर पानीको करिब १० रुपैयाँ पर्ने अनुमान गरिएको छ । खाँचीकोट क्षेत्र ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको स्थानसमेत मानिन्छ । हिल स्टेसनसम्म पुग्न सहज हुँदा यो स्थान नयाँ पर्यटकीय गन्तव्यको रूपमा प्रवर्द्धन हुने अपेक्षा गरिएको छ ।
–रासस
प्रतिक्रिया दिनुहोस