आज: २०८२ चैत्र १७, मंगलबार | Tue, 31, Mar, 2026

सुन्तलाको कमाइले बन्यो पक्की घर


  • आफ्नै खबर
  • २०८२ पौष ९, बुधबार ३ महिना अघि
  • ३१ पाठक संख्या
  • म्याग्दी/  बेनी नगरपालिका-३, मरेककी एकल महिला कर्णकुमारी पुर्जा पुनले गत वर्षको सुन्तला बेचेर थाल्नुभएको पक्की घर निर्माण यस वर्षको सुन्तला बिक्रीसँगै सम्पन्न हुँदैछ ।  

    उमेरले ७२ वर्ष पुग्नुभएकी कर्णकुमारीले गत वर्ष सुन्तला बेचेर कमाएको १५ लाख रुपैयाँसहित आफूसँग बचत रहेको केही रकम खर्चिएर बनाउँदै गरेको ढलान घरमा रङरोगन भइरहेको छ ।

    यस वर्ष उहाँको बारीमा १० लाख रुपैयाँभन्दा बढीको सुन्तला फलेको छ । कर्णकुमारीले फलाएको सुन्तलाको दुई वर्षको कमाइबाट घर ठडिन्छ । सुन्तलाबाट पर्याप्त आम्दानी हुन थालेपछि उहाँको पहिलो रोजाइमा घर निर्माण परेको हो । यसअघि उहाँको कच्ची घर जीर्ण अवस्थामा रहेको थियो । 

    श्रीमानको निधनपछि जोत्ने हलगोरु काम गर्ने खेताला खोज्न झन्झट लागेर सुन्तलाखेती गर्नुभएकी कर्णकुमारीको बगैँचा अहिले पहेँलपुर छ ।

    मकै, कोदो, गहुँजस्ता परम्परागत खेतीबाली लगाउन छाडेर करिब २० वर्ष अगाडि सुन्तलाका केही थान बिरुवा ल्याएर खेती थाल्नुभएकी कर्णकुमारीले पहिलो उत्पादन बेचेर एक हजार ६ सय रुपैयाँ कमाउनुभएको थियो । सुन्तलाबाट एक सय, एक हजार हुँदै १५ लाख रुपैयाँसम्म बुझ्नुभएको छ । अहिले कर्णकुमारीको १० रोपनी क्षेत्रफलमा सुन्तला बगैँचा फैलिएको छ ।

    कुनै वर्ष रोगले सुन्तला सखाप हुँदा निराश भए पनि हरेस नखाएकी कर्णकुमारीको दैनिकी सुन्तला बगैँचामै बित्ने गरेको छ ।

    उहाँले भन्नुभयो, ‘आफ्ना सन्ततिलाई जस्तै गरी सुन्तलाको बोटलाई स्याहार गर्छु । मलाई खुसी दिने यही सुन्तलाका बोट बनेका छन् । बूढेसकालमा पनि मेरो दैनिकी सुन्तलासँगै चलेको छ ।’ गत वर्षको तुलनामा कम फले पनि उत्पादनबाट सन्तुष्ट रहेको कर्णकुमारी बताउनुहुन्छ । 

    रोजगारीको सिलसिलामा अफगानिस्तान पुग्नुभएका श्रीमानको २०६७ सालमा आतङ्ककारीको आक्रमणबाट निधन भएपछि घर व्यवहार धान्न हम्मेहम्मे परेको कर्णकुमारीले बताउनुभयो । सुन्तलाले दैनिकी सहज बनाएको उहाँको भनाइ छ । सुन्तलाको कमाइले छोरीहरूको शिक्षादीक्षा, विवाहलगायतका घरायसी खर्चसँगै बचतसमेत गरेको कर्णकुमारीले बताउनुभयो । 

    उहाँले भन्नुभयो, ‘आफ्नो संसार उजाडिएपछि मलाई बाँच्न सुन्तलाले सिकाएको छ । सुन्तलाले आर्थिक रुपमा बलियो बनाएको छ ।’ 

    सुन्तलाखेती बूढेसकालको सहारा बनेको छ । घरखर्च चलाउन श्रीमान्, सन्तानमाथि निर्भर हुनुपर्ने अवस्थाको अन्त्य गर्न फलफूल र तरकारीखेती गरे पुग्ने कर्णकुमारीको सुझाव छ । उहाँ मरेक गाउँमा सबैभन्दा धेरै सुन्तला फलाउने कृषकको रुपमा चिनिनुहुन्छ । सुन्तला खरिदका लागि आएका व्यापारीले समेत उहाँको बगैँचालाई पहिलो रोजाइमा पार्ने गर्दछन् ।

    –रासस
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु