
झापा/ चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा अलैँचीको निर्यात ६०.१० प्रतिशतले बढेको छ । मेची भन्सार कार्यालयको तथ्याङ्कअनुसार उक्त अवधिमा पाँच अर्ब ५३ करोड ३२ लाख रुपैयाँ बराबरको अलैँची निर्यात भएको छ ।
पाँच महिनाको अवधिमा दुई हजार ६ सय २२.१० मेट्रिक टन अलैँची निर्यात भएको कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईं जानकारी दिनुभयो । अघिल्लो आव २०८१/०८२ को सोही अवधीमा तीन अर्ब ४५ करोड ६३ लाख रुपैयाँ बराबरको अलैँची निर्यात भएको उहाँले बताउनुभयो ।
कार्यालयको तथ्याङ्कअनुसार चालु आवको पाँच महिनामा चियाको निर्यात ३१.४० प्रतिशतले घटेको छ । उक्त अवधिमा एक अर्व ८५ करोड ६२ लाख रुपैयाँ बराबरको चिया निर्यात भएको छ । अघिल्लो आव २०८१/०८२ को सोही अवधिमा दुई अर्व ७० करोड ३९ लाख रुपैयाँ बराबरको चिया निर्यात भएको सूचना अधिकारी गुरागाईंले जानकारी दिनुभयो ।
कार्यालयको तथ्याङ्कअनुसार निर्यात हुने मुख्य वस्तुहरूमा भेनीयर सिट एक सय २९.९० प्रतिशत, छुर्पी ३२ प्रतिशत, अदुवा-सुठो ४८.७० प्रतिशत, काउली, ब्रोकाउली र बन्दागोपी ३६.१० र मुसुरो दाल निर्यात चार सय ८१ प्रतिशतले वृद्धि भएको छ । यसैगरी प्लाउड ४६ प्रतिशत, अम्रिसो ३५.५० प्रतिशत र फलामे पाता निर्यातमा ९७.८० प्रतिशतले कमी आएको छ ।
मेची भन्साबाट चालु आव २०८२/०८३ को पहिलो पाँच महिनामा १० अर्ब ७१ करोड ५४ लाख रुपैयाँ बराबरको मालवस्तु निर्यात भएको छ ।
–रासस
प्रतिक्रिया दिनुहोस